अमेरिकामा इतिहासकै ठूलो सामूहिक भिसा रद्द गर्ने तयारी, को हुनेछन् प्रभावित?
प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार
ट्रम्प प्रशासनले अमेरिकामा असाइलमका लागि आवेदन दिएका वा आवेदन प्रक्रियामा रहेका २ लाखसम्म विदेशी नागरिकको बिजनेस तथा टुरिस्ट भिसा रद्द गर्ने तयारी गरेको छ। यो कदम कार्यान्वयन भएमा अमेरिकी इतिहासमै एकैपटक ठूलो संख्यामा भिसा रद्द गरिएको घटना बन्नेछ।
एपीले प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालयका कागजात र दुई अमेरिकी अधिकारीका अनुसार विदेश मन्त्रालयले सन् २०१६ देखि २०२६ सम्म जारी गरिएका बी–१ र बी–२ भिसा पुनरावलोकन गरी तीमध्ये अमेरिकामा आएर असाइलमका लागि आवेदन दिएका वा हाल आवेदन प्रक्रियामा रहेका व्यक्तिको भिसा रद्द गर्ने तयारी गरेको हो।
भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्तिलाई तत्कालै अमेरिकाबाट देशनिकाला गरिने भने होइन। अधिकारीहरूका अनुसार हाल असाइलमसम्बन्धी मुद्दा विचाराधीन रहेका धेरै व्यक्तिको स्थिति पुनः वर्गीकरण हुन सक्छ। तर उनीहरूले बिजनेस वा टुरिस्टका रूपमा अमेरिकामा बस्ने आफ्नो गैरआप्रवासी भिसा स्थिति गुमाउनेछन्।
बी–१ भिसा सामान्यतया व्यापारिक भ्रमणका लागि र बी–२ भिसा पर्यटन, परिवार भेटघाट वा उपचारका लागि जारी गरिन्छ। तर पछिल्लो समय ट्रम्प प्रशासनले यी भिसा प्रयोग गरेर अमेरिका प्रवेश गरेपछि असाइलम आवेदन दिने प्रक्रियामाथि कडाइ गर्दै आएको छ।
विदेश मन्त्रालयका अनुसार, हाल बी–१ र बी–२ भिसाका लागि आवेदन दिने व्यक्तिले अमेरिकामा असाइलमका लागि आवेदन नदिने र आफ्नो देश फर्किने उद्देश्य रहेको पुष्टि गर्नुपर्ने हुन्छ।
ट्रम्प प्रशासनले पछिल्लो १८ महिनामा करिब १ लाख ७५ हजार भिसा रद्द गरिसकेको विदेश मन्त्रालयको तथ्यांकले देखाएको छ। तीमध्ये मदिरा सेवन गरेर सवारी चलाउनेदेखि बलात्कार र डकैतीसम्मका अपराधमा दोषी ठहरिएका वा आरोप लागेका व्यक्तिहरू पनि छन्।
त्यसैगरी, विशेषगरी मध्यपूर्वसम्बन्धी अमेरिकी नीतिको सार्वजनिक रूपमा आलोचना गरेका केही व्यक्तिको भिसासमेत रद्द गरिएको छ। ट्रम्प प्रशासनले ‘बर्थ टुरिज्म’ माथि पनि कडाइ गरिरहेको छ। अमेरिकी प्रशासनका अनुसार केही विदेशी गर्भवती महिला बच्चा जन्माउन अमेरिका आउने र बच्चाले जन्मसिद्ध अमेरिकी नागरिकता पाउने उद्देश्यले यस्तो गर्ने गरेका छन्। जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पका प्रयासलाई भने अदालतहरूले चुनौती दिएका छन्।
विदेश मन्त्रालयका कागजातअनुसार हाल बी–१ र बी–२ भिसा भएका व्यक्तिहरूको पुनरावलोकन प्रक्रिया यूएससीआईएसबाट असाइलम आवेदनसम्बन्धी जानकारी प्राप्त भएपछि सुरु भएको देखिन्छ।





