अमेरिकामा १ हजार नेपालीसहित १ महिनामा घटे ४२ हजार अन्तर्राष्ट्रिय विद्यार्थी
प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार
अमेरिकामा सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या जुलाईदेखि अगस्टसम्म करिब ४२ हजारले घटेको छ। अमेरिकी होमल्यान्ड सेक्युरिटी अन्तर्गतको विद्यार्थी तथा एक्सचेन्ज भिजिटर सूचना प्रणाली (सेभिस) को पछिल्लो तथ्यांकअनुसार सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या जुलाईमा करिब ११ लाख ५० हजार रहेकामा अगस्टमा घटेर करिब ११ लाख १० हजारमा पुगेको हो।
सेभिस डाटा म्यापिङ टुलका अनुसार यो एक महिनामा करिब ३.७ प्रतिशतको गिरावट हो। तथ्यांकले एफ–१ शैक्षिक विद्यार्थी तथा सम्बन्धित गैरआप्रवासी श्रेणीमा रहेका विद्यार्थीलाई समेट्छ।
अमेरिकी सरकारको वेबसाइटमा प्रकाशित मासिक तथ्यांकले सम्बन्धित भिसा वर्गअन्तर्गत अमेरिकामा रहेका विद्यार्थीलाई गणना गर्छ। यसमा आश्रित तथा अन्य गैरआप्रवासी समूह समावेश हुँदैनन्।
एसियाली विद्यार्थी संख्यामा गिरावट
अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये एसियाली देशहरूको हिस्सा सबैभन्दा ठूलो छ। तर अगस्टमा प्रमुख स्रोत देशहरूमध्ये अधिकांशबाट आउने विद्यार्थीको संख्या घटेको छ।
भारत अगस्टमा पनि अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी रहेकाहरुमध्ये सबैभन्दा ठूलो स्रोत देश बनेको छ। अगस्टमा भारतका ३ लाख ३३ हजार ३१४ सक्रिय विद्यार्थी रेकर्ड थिए। जुलाईमा यो संख्या ३ लाख ३८ हजार २३० थियो। अर्थात् एक महिनामा ४ हजार ९१६ ले कमी आएको हो।

चीन दोस्रो स्थानमा रहेको छ। अगस्टमा चीनका १ लाख ९७ हजार ८०२ सक्रिय विद्यार्थी रेकर्ड थिए, जुन जुलाईको २ लाख ४ हजार ४६८ भन्दा ६ हजार ६६६ कम हो। दक्षिण कोरिया, ब्राजिल र क्यानडा क्रमशः शीर्ष पाँच स्रोत देशमा परेका छन्। यी तीनै देशबाट आउने सक्रिय विद्यार्थीको संख्या पनि एक महिनामा १ हजारभन्दा बढीले घटेको छ।
जापानका विद्यार्थी ८८० ले घटेर ११ हजार ९२९ पुगेका छन्। नाइजेरियाका विद्यार्थी ८०० ले घटेर २१ हजार ३११ तथा भियतनामका विद्यार्थी ६९८ ले घटेर २९ हजार ४१२ पुगेका छन्। तर केही देशमा भने विद्यार्थी संख्या बढेको छ। घानाबाट आउने सक्रिय विद्यार्थीको संख्या १२० ले बढेर १३ हजार ९४० पुगेको छ भने बंगलादेशबाट आउने विद्यार्थी १०६ ले बढेर २५ हजार ४३७ पुगेका छन्।
नेपाली विद्यार्थी ५ महिनामा झण्डै ३ हजारले घटे
अमेरिकामा सक्रिय नेपाली विद्यार्थीको संख्या पछिल्लो पाँच महिनामा २ हजार ९७३ ले घटेको छ। सेभिसको तथ्यांकअनुसार मार्च २०२६ मा ३४ हजार ८५३ रहेको सक्रिय नेपाली विद्यार्थीको संख्या अगस्टमा घटेर ३१ हजार ८८० मा पुगेको हो।

नेपाली विद्यार्थीको संख्या अप्रिलमा ३४ हजार ६८० थियो। मेमा ३४ हजार ३६६, जुनमा ३३ हजार ७५८, जुलाईमा ३२ हजार ८५२ हुँदै अगस्टमा ३१ हजार ८८० मा झरेको छ।
मासिक रूपमा हेर्दा मेमा ३१४, जुनमा ६०८, जुलाईमा ९०६ र अगस्टमा ९७२ नेपाली विद्यार्थीको सक्रिय रेकर्ड घटेको देखिन्छ। अर्थात् पछिल्ला महिनामा गिरावटको गति थप तीव्र भएको छ। अगस्टमा रहेका ३१ हजार ८८० सक्रिय नेपाली विद्यार्थीमध्ये १७ हजार ९१४ पुरुष र १३ हजार ९६६ महिला छन्।
शैक्षिक तहअनुसार सबैभन्दा धेरै नेपाली विद्यार्थी स्नातक तहमा छन्। स्नातक तहमा ११ हजार २२९ नेपाली विद्यार्थी अध्ययनरत छन्। स्नातकोत्तर तहमा ९ हजार ४५८, एसोसिएट डिग्री कार्यक्रममा ६ हजार ३३८ र विद्यावारिधि तहमा ४ हजार ३७५ विद्यार्थी छन्।

यसैगरी अन्य शैक्षिक कार्यक्रममा २२०, भाषा प्रशिक्षण कार्यक्रममा २००, उडानसम्बन्धी विद्यालयमा ५१ र माध्यमिक तहमा नौ नेपाली विद्यार्थी रहेको तथ्यांकमा उल्लेख छ।
राज्यअनुसार हेर्दा टेक्सासमा सबैभन्दा धेरै सक्रिय नेपाली विद्यार्थी छन्। अगस्टमा टेक्सासमा ७ हजार २२६ नेपाली विद्यार्थीको सक्रिय रेकर्ड थियो।

ओहायोमा २ हजार २५२ र न्यूयोर्कमा २ हजार १३२ नेपाली विद्यार्थी छन्। यसबाहेक केन्टकीमा १ हजार ५८८, मिसौरीमा १ हजार ४१०, लुइजियानामा १ हजार ५०, भर्जिनियामा ९८७ र इलिनोइसमा ८०२ नेपाली विद्यार्थी रहेका छन्।
सेभिस रेकर्ड समाप्त हुनुको अर्थ के हो?
सेभिस एफ र एम भिसा वर्गमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा एक्सचेन्ज भिजिटरको विवरण ट्र्याक गर्ने संघीय प्रणाली हो। कुनै विद्यार्थीको सेभिस रेकर्ड समाप्त गरिएमा उसको आप्रवासन स्थिति सक्रिय नरहने अवस्था आउँछ। यस्तो अवस्थामा रेकर्ड पुनःस्थापित नगरेसम्म वा अर्को वैध स्टाटस परिवर्तन नगरेसम्म विद्यार्थीले अमेरिकामा रहेर अध्ययन जारी राख्न सामान्यतः पाउँदैन।
तर सेभिस रेकर्ड समाप्त हुनु हरेक अवस्थामा सरकारी कारबाही वा भिसा रद्द भएको अर्थ भने हुँदैन। विद्यार्थीले अध्ययन पूरा गर्नु, विद्यालय परिवर्तन गर्नु, कार्यक्रम परिवर्तन गर्नु, स्वीकृत रूपमा अध्ययनबाट अस्थायी रूपमा बाहिरिनु वा आफ्नो अध्ययन समाप्त गर्नुजस्ता सामान्य कारणले पनि रेकर्ड समाप्त हुन सक्छ।
पछिल्लो एक वर्षमा नेपाली विद्यार्थीले सेभिस रेकर्डसम्बन्धी उल्लेखनीय उतारचढावको सामना गरेका छन्। सन् २०२५ मा हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी, जसमा नेपाली पनि थिए, का सेभिस रेकर्ड समाप्त गरिएका र केही अवस्थामा पछि पुनः सक्रिय गरिएका रिपोर्टहरू सार्वजनिक भएका थिए।
अगस्ट २०२६ को तथ्यांकअनुसार नेपाल अझै पनि अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी पठाउने महत्वपूर्ण स्रोत देश हो। विभिन्न स्नातक, स्नातकोत्तर, एसोसिएट र विद्यावारिधि कार्यक्रमसहित ३१ हजार ८८० नेपाली विद्यार्थीको सक्रिय सेभिस रेकर्ड रहेको छ।
मौसमी कारण मात्रै नभएको वकिलहरूको भनाइ
न्यूयोर्कका आप्रवासन कानुन व्यवसायी केशवराज सेडाईले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा आएको गिरावटलाई केवल मौसमी उतारचढावका रूपमा हेर्न नहुने बताएका छन्।
उनका अनुसार पाँच महिनामै सक्रिय नेपाली विद्यार्थीको संख्या झन्डै ३ हजारले घट्नु अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि वातावरण कठिन र कम आकर्षक बन्दै गएको संकेत पनि हो। पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीले कडा भिसा जाँच, सेभिस रेकर्डसम्बन्धी अनिश्चितता, वैध स्टाटस कायम राख्ने चुनौती तथा अध्ययनपछि व्यावहारिक तालिम र रोजगारी पाउने विषयमा बढ्दो चिन्ता सामना गरिरहेको उनले बताएका छन्।
नेपाल, भारतलगायत देशका विद्यार्थीका लागि अमेरिकामा अध्ययन ठूलो आर्थिक लगानी हो। ट्युसन शुल्क, आवास, स्वास्थ्य बिमा तथा दैनिक जीवनयापनका खर्चमा परिवारहरूले वर्षमा दशौं हजार अमेरिकी डलर खर्च गर्नुपर्ने हुन सक्छ। त्यसैले विद्यार्थीहरूले आफ्नो शिक्षा पूरा गर्ने, अध्ययनपछि वैकल्पिक व्यावहारिक प्रशिक्षण अर्थात् ओपीटीमा रोजगारी पाउने र भविष्यमा अमेरिकामा व्यावसायिक अवसर प्राप्त गर्ने सम्भावनासँग उक्त लगानीको तुलना गर्ने सेडाईले बताएका छन्।

सेडाईका अनुसार सेप्टेम्बर १५, २०२६ देखि लागू हुने ‘ड्युरेसन अफ स्टाटस’ अन्त्य गर्ने नयाँ व्यवस्थाले एफ–१ विद्यार्थीका लागि थप अनिश्चितता सिर्जना गर्नेछ। नयाँ व्यवस्थाअनुसार विद्यार्थीलाई आफ्नो शैक्षिक कार्यक्रमको अवधिभर स्वतः स्टाटस दिइनुको सट्टा निश्चित अवधिका लागि प्रवेश दिइनेछ र केही अवस्थामा स्टाटस थप्न अमेरिकी नागरिकता तथा आप्रवासन सेवा अर्थात् युएससीआईएसमा आवेदन दिनुपर्नेछ।
उनका अनुसार नयाँ नियमले अध्ययन पूरा भएपछि अमेरिकाबाट बाहिरिन पाउने अवधि पनि घटाउने तथा शैक्षिक कार्यक्रम परिवर्तन र विद्यालय स्थानान्तरणमा थप प्रतिबन्ध लगाउनेछ।
यसैगरी ओपीटी तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित अर्थात् एसटीईएम ओपीटीअन्तर्गत योग्य रोजगारी पाउन केही स्नातकका लागि कठिन हुँदै गएको उनले बताएका छन्। रोजगारदाता, विशेषगरी परामर्श तथा कर्मचारी आपूर्ति व्यवस्थासम्बन्धी कम्पनीमाथि बढेको जाँच र चुनौतीपूर्ण रोजगारी बजारका कारण विद्यार्थीले अमेरिकी शिक्षामा हुने खर्चले सम्भावित करिअर अवसरलाई उचित रूपमा प्रतिफल दिन्छ कि दिँदैन भन्ने प्रश्न गर्न थालेको उनको भनाइ छ।
तर सेडाईले सेभिस रेकर्डमा देखिएको हरेक मासिक गिरावटलाई आप्रवासन कारबाहीसँग जोड्न नहुने पनि बताएका छन्। स्नातक, ओपीटी पूरा, विद्यालय स्थानान्तरण तथा सामान्य रूपमा स्वदेश फर्किने प्रक्रियाका कारण केही गिरावट मौसमी हुने उनले स्पष्ट पारेका छन्। तर घट्दो विद्यार्थी संख्या, कम भिसा जारी हुनु, कडा आप्रवासन नीति र अध्ययनपछिको रोजगारीसम्बन्धी बढ्दो अनिश्चितता एकसाथ देखिनु भने नीति निर्माता र अमेरिकी विश्वविद्यालयहरूले गम्भीर रूपमा लिनुपर्ने व्यापक प्रवृत्ति भएको उनले बताएका छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी विश्वविद्यालयलाई ट्युसन आम्दानी, प्रतिभा, नवीनता, अनुसन्धान क्षमता र अर्बौं डलरको आर्थिक योगदान दिने सेडाईले बताएका छन्। अमेरिकालाई महँगो, अनिश्चित वा स्वागत नगर्ने गन्तव्यका रूपमा हेर्न थालेका विद्यार्थीले क्यानडा, युरोप, अस्ट्रेलिया तथा अन्य देश रोज्न सक्ने उनको चेतावनी छ।
नेपाली विद्यार्थीको गिरावट अझ गम्भीर
न्यूयोर्कका आप्रवासन कानुन व्यवसायी बासु फुलाराले अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घट्नुमा मौसमी कारण केही हदसम्म जिम्मेवार भए पनि नेपाली विद्यार्थीको संख्या घटेको तथ्यांकलाई थप गम्भीर रूपमा हेर्नुपर्ने बताएका छन्।
उनका अनुसार जुलाईदेखि अगस्टसम्म ४२ हजार अन्तर्राष्ट्रिय विद्यार्थीको सक्रिय रेकर्ड घट्नुमा धेरै शैक्षिक कार्यक्रम समाप्त हुनु र विद्यार्थी स्नातक भएर अमेरिका छाड्नुजस्ता मौसमी कारण छन्। तर नेपाली विद्यार्थीको संख्या पाँच महिनामा झन्डै ३ हजारले घट्नु सामान्य मौसमी उतारचढाव मात्र नभएको उनको भनाइ छ।
फुलाराका अनुसार नेपाली विद्यार्थीको संख्या मार्चको ३४ हजार ८५३ बाट अगस्टमा ३१ हजार ८८० मा झरेको छ र प्रत्येक महिना गिरावट थप तीव्र भएको छ। यो सन् २०२४ को उच्च बिन्दुपछि नेपाली विद्यार्थीका लागि अमेरिकी अध्ययन भिसा जारी हुने संख्यामा आएको तीव्र गिरावटसँग पनि सम्बन्धित रहेको उनले बताएका छन्।
सेप्टेम्बर १५ देखि लागू हुने एफ–१ विद्यार्थीका लागि ‘ड्युरेसन अफ स्टाटस’ अन्त्य गर्ने अन्तिम नियमले हालका तथा भावी विद्यार्थीका लागि थप अनुपालनसम्बन्धी आवश्यकता र अनिश्चितता सिर्जना गर्ने फुलाराले बताएका छन्।

नयाँ व्यवस्थाअनुसार विद्यार्थीलाई सामान्यतः उनीहरूको फारम आई–२० मा उल्लेख गरिएको कार्यक्रम समाप्त हुने मितिसँग जोडिएको निश्चित अवधिका लागि प्रवेश दिइनेछ। यस्तो अवधि अधिकतम चार वर्षसम्म हुने र यससँगै अमेरिकाबाट बाहिरिनुअघि पाउने अवधि पनि छोटो हुने उनले बताएका छन्।
ओपीटी, एसटीईएम ओपीटी, शैक्षिक कार्यक्रम विस्तार वा विद्यालय स्थानान्तरणका लागि थप समय आवश्यक पर्ने विद्यार्थीले युएससीआईएसमा स्टाटस थपका लागि आवेदन दिनुपर्नेछ। यसले अनुपालनको दबाब बढाउने, नयाँ आवेदन प्रक्रिया सिर्जना गर्ने र वर्तमान तथा भावी विद्यार्थीका लागि अनिश्चितता थप्ने फुलाराको भनाइ छ।
कडा भिसा प्रक्रिया र घट्दो विद्यार्थी संख्यासँगै अमेरिकामा नेपाली विद्यार्थीका लागि वातावरण थप चुनौतीपूर्ण बन्दै गएको उनले बताएका छन्। तथ्यांक र नयाँ नियम दुवैले विद्यार्थी तथा परिवारलाई पहिलेभन्दा बढी सावधानीपूर्वक र समयमै कानुनी योजना बनाउनुपर्ने देखाएको फुलाराले बताएका छन्।
नेपालबाट ४५ हजार ६३४ विद्यार्थी अमेरिका
अमेरिकामा सक्रिय विद्यार्थीको पछिल्लो मासिक गिरावट नेपालबाट अमेरिका जाने विद्यार्थीको दीर्घकालीन प्रवृत्तिमा आएको परिवर्तनको बीचमा देखिएको हो।
नेपालको अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० देखि अगस्ट २०२६ को सुरुवातसम्म ४५ हजार ६३४ नेपाली विद्यार्थी अमेरिका गएका छन्।
नेपाली विद्यार्थीका लागि अमेरिकी अध्ययन भिसा जारी हुने संख्या सन् २०२० मा ३१६ थियो। यो संख्या सन् २०२१ मा ५ हजार ३३, सन् २०२२ मा ७ हजार ५४२ र सन् २०२३ मा ८ हजार २४१ पुगेको थियो। सन् २०२४ मा १४ हजार २०५ पुगेपछि भने २०२५ मा घटेर ८ हजार १२३ मा आएको थियो। आप्रवासन नीतिमा भएका परिवर्तन र कडा भिसा जाँचबीच यस्तो गिरावट आएको हो।

सन् २०२६ का प्रारम्भिक महिनामा २ हजार १७४ नेपाली विद्यार्थीले अमेरिकाको अध्ययन भिसा प्राप्त गरेको नेपालको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।
यसैबीच, इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनको ‘ओपन डोर्स’ प्रतिवेदनअनुसार सन् २०२४–२५ शैक्षिक वर्षमा २४ हजार ८९० नेपाली विद्यार्थी अमेरिकी उच्च शिक्षामा अध्ययनरत थिए। अघिल्लो शैक्षिक वर्षको १६ हजार ७४२ को तुलनामा यो ४८.७ प्रतिशत वृद्धि थियो।
अगस्टको सेभिस तथ्यांक अमेरिकी होमल्यान्ड सेक्युरिटीले जुलाई १७ मा एफ गैरआप्रवासी विद्यार्थी, जे एक्सचेन्ज भिजिटर तथा विदेशी सञ्चार प्रतिनिधिका लागि निश्चित अवधिको प्रवेश र स्टाटस विस्तारसम्बन्धी नयाँ प्रक्रिया स्थापना गर्ने अन्तिम नियम सार्वजनिक गरेको केही समयपछि आएको हो।





