अमेरिकामा नेपालीको टीपीएस शुक्रबार समाप्त भएको भन्दै प्रकाशित समाचार भ्रमपूर्ण
प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार
डिएचएस फोटो: सिड्नी फिनिक्स
नेपाली नागरिकका लागि अमेरिकामा लागू अस्थायी संरक्षित हैसियत अर्थात् टीपीएस शुक्रबार, अगस्ट १४, २०२६ मा मात्र समाप्त भएको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरू भ्रमपूर्ण रहेको पाइएको छ। नेपालका लागि टीपीएस समाप्त गर्ने अमेरिकी सरकारको निर्णय यसअघि नै लागू भइसकेको थियो।
अगस्ट १४ मा होमल्याण्ड सेक्युरिटीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विवरण पहिले नै टीपीएस समाप्त भएका देशहरूको सूची मात्र हो। शुक्रबारदेखि मात्रै नेपालीको टीपीएस समाप्त भएको होइन।
होमल्याण्ड सेक्युरिटीले तत्कालीन सेक्रेटरी क्रिस्टी नोएमको निर्णयअनुसार जुन ६, २०२५ मा फेडरल रजिस्टरमा सूचना प्रकाशित गर्दै नेपालको टीपीएस समाप्त गर्ने घोषणा गरेको थियो। उक्त सूचनाअनुसार नेपालका लागि टीपीएस अगस्ट ५, २०२५ राति ११:५९ बजे स्थानीय समयदेखि समाप्त हुने भनिएको थियो। सूचनामा अगस्ट ५, २०२५ पछि नेपालका लागि टीपीएसअन्तर्गत स्वीकृत भएका व्यक्तिहरूले टीपीएस हैसियत नरहने स्पष्ट गरिएको थियो। युएससीआईएसको नेपाल टीपीएस पृष्ठले पनि नेपालका लागि टीपीएस र त्यससँग सम्बन्धित लाभ अगस्ट ५, २०२५ मा समाप्त भएको उल्लेख गरेको छ।
नेपाललाई सन् २०१५ जुन २४ मा आएको विनाशकारी भूकम्पपछिका परिस्थितिका कारण टीपीएस प्रदान गरिएको थियो। त्यसपछि झन्डै एक दशकसम्म हजारौँ नेपालीले अमेरिकामा देशनिकालाबाट अस्थायी संरक्षण र काम गर्ने अनुमति पाएका थिए।
तर टीपीएस समाप्त गर्ने सरकारी निर्णयविरुद्ध अदालतमा मुद्दा परेको थियो। क्यालिफोर्नियाको संघीय जिल्ला अदालतले डिसेम्बर ३१, २०२५ मा नेपाल, होन्डुरस र निकारागुआका लागि टीपीएस अन्त्य गर्ने निर्णय खारेज गरेको थियो। तर नाइन्थ सर्किट कोर्ट अफ अपिल्सको तीन न्यायाधीशीय इजलासले फेब्रुअरी ९, २०२६ मा सरकारको अपिल विचाराधीन रहँदासम्म उक्त जिल्ला अदालतको आदेश कार्यान्वयन नगर्न रोक लगायो। त्यससँगै होमल्याण्ड सेक्युरिटीलाई नेपालसहित ती देशका टीपीएस समाप्तिसम्बन्धी निर्णय अघि बढाउन बाटो खुलेको थियो।
त्यसैले हालको अवस्थामा नेपाल टीपीएसको समाप्त सूचीमा परिसकेको छ। अगस्ट १४, २०२६ लाई नेपालीको टीपीएस समाप्त भएको नयाँ मिति भनेर प्रस्तुत गर्नु तथ्यगत रूपमा सही हुँदैन। आधिकारिक फेडरल रजिस्टर सूचनाले नेपालको टीपीएस समाप्तिको मूल प्रभावकारी मिति अगस्ट ५, २०२५ तोकेको थियो; त्यसपछि भएका अदालती आदेश र पुनरावेदन प्रक्रियाले यसको कार्यान्वयनको कानुनी अवस्थालाई केही समय प्रभावित गरेका थिए।
यसै कारण केही नेपाली सञ्चारमाध्यमले अगस्ट १४ वा १५ मा “अमेरिकाले नेपालीका लागि टीपीएस अन्त्य” भन्ने शैलीमा समाचार प्रकाशित गर्दा पाठकमा टीपीएस त्यही दिनदेखि पहिलो पटक समाप्त भएको भ्रम परेको छ। वास्तविकता भने नेपालका लागि टीपीएस अन्त्य गर्ने निर्णय २०२५ मै सार्वजनिक र प्रभावकारी भएको थियो, यद्यपि त्यसपछि भएको अदालती प्रक्रियाले त्यसको कानुनी कार्यान्वयनमा अस्थायी परिवर्तन ल्याएको थियो।
अर्को महत्त्वपूर्ण कुरा के हो भने टीपीएस समाप्त हुनु र अमेरिकामा रहेका प्रत्येक नेपालीलाई तत्काल देशनिकाला गरिनु एउटै कुरा होइन। टीपीएस गुमेपछि सम्बन्धित व्यक्तिसँग अन्य कुनै वैध अध्यागमन हैसियत वा संरक्षण छैन भने उसले देशनिकालाको जोखिम सामना गर्न सक्छ। तर प्रत्येक व्यक्तिको अवस्था उसको अध्यागमन इतिहास, अन्य आवेदन, अध्यागमन अदालतको मुद्दा वा अन्य कानुनी आधारअनुसार फरक हुन सक्छ।
त्यसैले टीपीएस गुमाएका नेपालीले आफूलाई लागू हुन सक्ने अन्य अध्यागमन विकल्पबारे योग्य अध्यागमन अधिवक्ता वा डिपार्टमेन्ट अफ जस्टि बाट मान्यता प्राप्त कानुनी सेवा प्रदायक सँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ। पारिवारिक आधार, रोजगारीमा आधारित प्रक्रिया, शरण वा अन्य उपलब्ध कानुनी विकल्प केही व्यक्तिका लागि लागू हुन सक्छन्। कुनै एउटा विकल्प सबै टीपीएस धारकलाई स्वतः लागू हुन्छ भन्ने हुँदैन।





