विगतमा गैर कानुनी उपस्थीति भएकाहरु एड्भान्स परोलमा अमेरिका बाहिर गएमा फर्कन नदिइने
प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार
अमेरिकी न्याय मन्त्रालयअन्तर्गतको प्रशासनिक अपिल निकाय, अध्यागमन अपिल बोर्डले आज महत्वपूर्ण निर्णय जारी गर्दै अमेरिकामा १८० दिनभन्दा बढी गैरकानुनी रूपमा बसेका विदेशी नागरिकले अग्रिम यात्रा अनुमति लिएर विदेश यात्रा गरेमा उनीहरूलाई तीन वा दस वर्षसम्म अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लाग्न सक्ने ठहर गरेको छ। यो निर्णयले एक दशकभन्दा बढी समयदेखि कायम रहेको अध्यागमन अपिल बोर्डको अघिल्लो नजिरलाई उल्टाएको छ।
अध्यागमन कानुनअनुसार कुनै विदेशी नागरिक अमेरिकामा १८० दिनभन्दा बढी तर एक वर्षभन्दा कम समय गैरकानुनी रूपमा बसेर अमेरिका छाडेमा उसलाई तीन वर्षसम्म अमेरिका प्रवेश गर्न प्रतिबन्ध लाग्न सक्छ। त्यस्तै, एक वर्ष वा सोभन्दा बढी समय गैरकानुनी रूपमा बसेर अमेरिका छाडेमा दस वर्षसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्न सक्छ। यस्तो प्रतिबन्धले भिसा प्राप्त गर्ने, अमेरिकामा पुनः प्रवेश गर्ने वा स्थायी बसोबासको अनुमति अर्थात् ग्रिनकार्ड प्राप्त गर्ने प्रक्रियामा समेत असर पार्न सक्छ।
सन् २०१२ मा अध्यागमन अपिल बोर्डले एउटा मुद्दामा अग्रिम यात्रा अनुमतिमा गरिएको विदेश यात्रालाई अमेरिकाबाट गरिएको कानुनी अर्थको प्रस्थान नमानिने निर्णय गरेको थियो। त्यसकारण अमेरिकामा गैरकानुनी उपस्थिति भएका कतिपय व्यक्तिले एड्भान्स परोल लिएर विदेश यात्रा गर्दा तीन वा दस वर्षको प्रवेश प्रतिबन्ध सक्रिय नहुने विश्वासका आधारमा यात्रा गर्दै आएका थिए।
तर, आजको नयाँ निर्णयले उक्त कानुनी व्याख्या परिवर्तन गरेको छ। अब एड्भान्स परोलमा गरिएको विदेश यात्रालाई पनि अमेरिकाबाट गरिएको प्रस्थानका रूपमा मानिनेछ।
अध्यागमन अपिल बोर्डको नयाँ निर्णय भविष्यमा गरिने यात्रामा मात्र लागू हुनेछ। अर्थात्, आजभन्दा अघि अग्रिम यात्रा अनुमति एड्भान्स परोल प्रयोग गरेर विदेश यात्रा गरिसकेका व्यक्तिमाथि त्यस यात्राका आधारमा नयाँ तीन वा दस वर्षको प्रवेश प्रतिबन्ध लागू गरिने छैन।
तर, अबदेखि अमेरिकामा १८० दिनभन्दा बढी गैरकानुनी उपस्थिति भइसकेका व्यक्तिले अग्रिम यात्रा अनुमति एड्भान्स परोल प्रयोग गरेर विदेश यात्रा गरेमा उनीहरू तीन वा दस वर्षको अमेरिका प्रवेश प्रतिबन्धको दायरामा पर्न सक्नेछन्। प्रतिबन्धको अवधि उनीहरूले अमेरिकामा गरेको गैरकानुनी बसाइको अवधिमा निर्भर हुनेछ।
यस निर्णयले अमेरिकामा रहेका हजारौँ विदेशी नागरिकलाई प्रत्यक्ष असर पार्न सक्नेछ। विशेषगरी १८० दिनभन्दा बढी गैरकानुनी उपस्थिति भएका र हाल आफ्नो अध्यागमन स्थिति समायोजनको आवेदन विचाराधीन रहेका व्यक्तिहरू, एसाइलम सम्बन्धी आवेदन दिएका वा एसाइलम स्वीकृत भएका व्यक्तिहरू, बाल्यकालमा अमेरिका आएका व्यक्तिका लागि गरिएको देशनिकाला स्थगन अर्थात् डाका प्राप्तकर्ताहरू तथा टीपीएसप्राप्त व्यक्तिहरू यसबाट प्रभावित हुन सक्नेछन्।
यसअघि अग्रिम यात्रा अनुमति एड्भान्स परोललाई प्रयोग गरेर विदेश यात्रा गर्दा आफ्नो गैरकानुनी उपस्थितिका कारण तीन वा दस वर्षको प्रवेश प्रतिबन्ध नलाग्ने विश्वास गरेका व्यक्तिहरूले अब विशेष सावधानी अपनाउनुपर्ने भएको छ।
त्यसैले, अमेरिकामा विगतमा गैरकानुनी उपस्थिति रहेको र अग्रिम यात्रा अनुमति लिएर विदेश जाने योजना बनाइरहेका व्यक्तिहरूले यात्रा गर्नुअघि आफ्नो व्यक्तिगत अध्यागमन अवस्थाको कानुनी समीक्षा गराउन आवश्यक छ। यस्तो अवस्थामा रहेका व्यक्तिहरूलाई विदेश यात्रा गर्दा तीन वा दस वर्षको अमेरिका प्रवेश प्रतिबन्ध लाग्न सक्ने सम्भावनाबारे सचेत रहन र कुनै निर्णय लिनुअघि अनुभवी अध्यागमन कानुन व्यवसायीसँग परामर्श गर्न सुझाव दिइएको छ।





