नेपाली विद्यार्थीको वैदेशिक अध्ययन मोह: ६ वर्षमा साढे ५ लाखभन्दा बढी बाहिरिए
प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार
अष्ट्रेलियाको सिड्नीमा ग्रयाजुएसन सेरेमोनीमा नेपाली विद्यार्थीहरू। फोटो: खसोखास
सन् २०२० देखि २०२६ को अगस्टको सुरुवाती अवधिसम्मको तथ्याङ्क अनुसार अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरूको सङ्ख्या ५ लाख ६२ हजार ९०४ पुगेको नेपालको अध्यागमन विभागले खसोखासलाई जानकारी दिएको छ। यो सङ्ख्या शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नो अब्जेक्सन सर्टिफिकेट र अध्यागमन विभागको प्रस्थान तथ्याङ्कमा आधारित रहेको विभागले स्पष्ट पारेको छ।
तथ्याङ्क अनुसार कोरोना महामारीका कारण सन् २०२० मा ५,२२१ मा सीमित विद्यार्थी सङ्ख्या त्यसपछिका वर्षहरूमा तीव्र गतिमा बढेको देखिन्छ। सन् २०२१ मा २६,७१४, २०२२ मा १,०१,२४६, २०२३ मा १,०८,५४२ र २०२४ मा १,१९,४१० पुगेको यो सङ्ख्या सन् २०२५ मा अहिलेसम्मकै उच्च १,३३,२३७ पुगेको थियो। सन् २०२६ को मध्यसम्ममा पनि ६८,५३४ जना नेपाली विद्यार्थीहरू अध्ययनका लागि विभिन्न देश पुगिसकेका छन्। यो प्रवृत्तिले नेपालबाट उच्च शिक्षाका लागि बाहिरिने रकम वार्षिक अर्बौं रुपैयाँ पुगेको छ भने ब्रेन ड्रेनको चिन्ता पनि बढाएको छ।
नेपाली विद्यार्थीहरूको पहिलो र सबैभन्दा ठूलो गन्तव्यका रूपमा जापान स्थापित भएको छ। हालसम्म कुल १ लाख ६३ हजार ४८६ जना नेपाली विद्यार्थी अध्ययनका लागि जापान पुगेका छन्। सन् २०२० मा १,००३ र २०२१ मा ५७६ जना मात्र जापान गएकोमा सन् २०२२ देखि उल्लेख्य वृद्धि आएको थियो, जहाँ एकै वर्ष ३०,०४७ विद्यार्थी पुगेका थिए। सन् २०२३ मा २४,०६७ र २०२४ मा ३५,९५२ पुगेको यो सङ्ख्या सन् २०२५ मा ४०,८५० पुगेर नयाँ उचाइ कायम गर्यो। सन् २०२६ को मध्यसम्ममा पनि ३०,९९१ नेपाली विद्यार्थीले जापानको अध्ययन भिसा प्राप्त गरिसकेका छन्, जसले जापानप्रतिको आकर्षण निरन्तर उच्च रहेको देखाउँछ।

नेपाली विद्यार्थीहरूको दोस्रो ठूलो आकर्षक गन्तव्य अस्ट्रेलिया बनेको छ। सन् २०२० देखि २०२६ सम्ममा कुल १ लाख ५ हजार ७९७ नेपाली विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया गएका छन्। सन् २०२० मा कडा कोभिड नीतिका कारण ३६ जना मात्र अस्ट्रेलिया पुगेका थिए भने २०२१ मा ३,२१५ जना गए। सन् २०२२ मा अस्ट्रेलिया जानेको सङ्ख्या ह्वात्तै बढेर ३१,०४५ पुगेको थियो। सन् २०२३ मा २३,२७४ र २०२४ मा नीतिगत कडाइका कारण घटेर १५,६६० मा झरे पनि २०२५ मा पुनः बढेर २३,२२० पुगेको छ। सन् २०२६ को मध्यसम्म ८,७४७ नेपाली विद्यार्थी अस्ट्रेलिया अध्ययनका लागि गइसकेका छन्। हाल अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् तर पछिल्लो समय भिसा अस्वीकृत हुने दर उच्च भएको छ।
बेलायत अध्ययनका लागि तेस्रो प्रमुख गन्तव्य बनेको छ, जहाँ यस अवधिमा कुल ५४,८११ नेपाली विद्यार्थी पुगेका छन्। सन् २०२० मा ३७४ र २०२१ मा २,३५६ जना बेलायत गएका थिए। त्यसपछिका वर्षहरूमा यो सङ्ख्या क्रमशः बढ्दै सन् २०२२ मा ४,३४६, २०२३ मा ८,५२१ र २०२४ मा ११,५५९ पुगेको थियो। सन् २०२५ मा बेलायत जाने विद्यार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भई २०,७७५ पुगेको छ भने सन् २०२६ को मध्यसम्म ६,८८० नेपाली विद्यार्थी बेलायत अध्ययनका लागि प्रस्थान गरिसकेका छन्। बेलायतमा नेपाली विद्यार्थी सङ्ख्या हाल युकेको पाँचौं ठूलो स्रोत बजार बनेको छ।
अमेरिकी उच्च शिक्षाप्रति नेपाली विद्यार्थीहरूको चासो निरन्तर बलियो रहेको छ। समीक्षा अवधिमा कुल ४५,६३४ नेपाली विद्यार्थी अमेरिका पुगेका छन्। सन् २०२० मा ३१६ जनाबाट सुरु भएको यात्रा सन् २०२१ मा ५,०३३, २०२२ मा ७,५४२ र २०२३ मा ८,२४१ पुगेको थियो। सन् २०२४ मा अमेरिका जाने विद्यार्थीको सङ्ख्या अहिलेसम्मकै उच्च १४,२०५ पुगेको थियो। तर, सन् २०२५ मा अध्यागमन नीतिको परिवर्तन र कडा भिसा जाँचका कारण यो सङ्ख्या घटेर ८,१२३ मा झरेको छ। सन् २०२६ को सुरुवाती महिनाहरूमा २,१७४ जना विद्यार्थीले अमेरिकाको अध्ययन भिसा पाएका छन्। ओपन डोर्सको रिपोर्ट अनुसार २०२४-२५ मा अमेरिकामा २४,८९० नेपाली विद्यार्थी भर्ना भएका थिए। अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीको सेभिज तथ्यांक अनुशार जुलाईमा अमेरिकामा सकृय नेपाली विद्यार्थीहरुको संख्या ३२ हजार ८ सय ५२ रहेको छ।

छिमेकी मुलुक भारत नेपाली विद्यार्थीहरूका लागि चौथो ठूलो र भौगोलिक रूपमा सहज गन्तव्यका रूपमा रहेको छ। यस अवधिमा कुल ३८,९३८ नेपाली विद्यार्थी अध्ययनका लागि भारत गएका छन्। सन् २०२० मा १४१ जनाले स्वीकृति लिएकोमा २०२१ मा ४,०५९, २०२२ मा ६,८८३ र २०२३ मा ८,५५८ पुगेको थियो। सन् २०२४ मा ७,७१८ र २०२५ मा ८,२५८ जना विद्यार्थी भारत अध्ययन गर्न पुगेका छन् भने सन् २०२६ को मध्यसम्म ३,१२१ नेपाली विद्यार्थी अध्ययनका लागि भारत प्रस्थान गरिसकेका छन्।
अध्ययन र पीआर (स्थायी आवास) को सम्भावनाका कारण आकर्षण बनेको क्यानाडामा कुल ३०,०७७ नेपाली विद्यार्थी पुगेका छन्। सन् २०२० मा १८१ र २०२१ मा १,३९७ जना गएकोमा सन् २०२२ मा ६,१५५ र २०२३ मा १४,२३३ पुगी उच्च विन्दुमा पुगेको थियो। तर, क्यानाडा सरकारले पछिल्लो समय लागू गरेको अन्तर्राष्ट्रिय विद्यार्थी सीमा र कडा नीतिका कारण सन् २०२४ मा ६,२०८, २०२५ मा १,२९० र सन् २०२६ को मध्यसम्म मात्र ४१३ जना विद्यार्थी पुगेका छन्। यसले क्यानाडाको भिसा दरमा ठूलो गिरावट आएको पुष्टि गर्छ।
खासगरी चिकित्सा शिक्षाका लागि नेपाली विद्यार्थीहरूको रोजाइमा पर्ने बंगलादेशमा कुल २९,५१२ जना विद्यार्थी गएका छन्। सन् २०२० मा १,७९४ जना गएको बंगलादेशमा २०२१ मा ३,७४७, २०२२ मा ५,०३७, २०२३ मा ५,३३९ र २०२४ मा ६,३५८ पुगेका थिए। सन् २०२५ मा आन्तरिक राजनीतिक फेरबदलका कारण यो सङ्ख्या घटेर ४,२८३ मा झरे पनि सन् २०२६ को मध्यसम्म २,९५४ नेपाली विद्यार्थी अध्ययनका लागि बंगलादेश पुगिसकेका छन्। बंगलादेशको चिकित्सा शिक्षा तुलनात्मक रूपमा सस्तो भएकाले लोकप्रिय छ।
अध्ययन र कामको अवसरलाई सँगै लैजान सकिने गन्तव्यका रूपमा दक्षिण कोरियाप्रति आकर्षण तीव्र गतिमा बढिरहेको छ। समीक्षा अवधिमा २४,७७२ नेपाली विद्यार्थी कोरिया पुगेका छन्। सन् २०२० मा २५९ र २०२१ मा २९८ जना मात्र गएकोमा २०२२ मा ९३१ र २०२३ मा २,९३० पुगेको थियो। सन् २०२४ मा ५,७७८ र २०२५ मा ८,७६८ पुगेको यो सङ्ख्या सन् २०२६ को मध्यसम्ममै ५,८०८ पुगिसकेको छ, जसले दक्षिण कोरिया नेपाली विद्यार्थीका लागि नयाँ उदाउँदो गन्तव्य बनेको देखाउँछ।
खाडी मुलुक युएईमा अध्ययनसँगै रोजगारीको अवसर खोज्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या कुल १२,२५४ पुगेको छ। सन् २०२० मा २७२ जना गएकोमा २०२१ मा १,७४०, २०२२ मा १,९३१, २०२३ मा २,९०० र २०२४ मा २,२७१ पुगेको थियो। सन् २०२५ मा २,३१० जना र सन् २०२६ को मध्यसम्म ६३० जना नेपाली विद्यार्थी युएईका विभिन्न शैक्षिक संस्थामा भर्ना हुन पुगेका छन्।

कोभिड-१९ को कडा नीतिका कारण सन् २०२० मा १३ र २०२१ मा ५ जनामा सीमित भएको चीन जाने नेपाली विद्यार्थीको सङ्ख्या त्यसपछि भने निरन्तर बढ्दै गएको छ। कुल ७,११३ नेपाली विद्यार्थी चीन अध्ययनका लागि गएका छन्, जसमा सन् २०२२ मा ५९१, २०२३ मा १,२८९, २०२४ मा १,९८४ र २०२५ मा २,००१ जना पुगेका छन्। सन् २०२६ को मध्यसम्म १,०३० नेपाली विद्यार्थी अध्ययनका लागि चीन प्रस्थान गरिसकेका छन्।
अन्य प्रमुख गन्तव्यहरूमा थाइल्याण्ड ६,२९९, जर्मनी ४,८४१, डेनमार्क ४,६४८, फिनल्याण्ड ३,८६२, न्युजिल्याण्ड ३,६७७, कतार २,८६२, मलेसिया २,८३०, फ्रान्स १,९४५ र हङकङ १,८९० रहेका छन्। यी बाहेक अन्य ११७ मुलुकहरूमा गरी कुल १६,१५७ नेपाली विद्यार्थी अध्ययनका लागि पुगेका छन्।
नेपाली विद्यार्थीहरूको प्रमुख २० गन्तव्य
सन् २०२० देखि २०२६ को अगस्टको सुरुवाती अवधिसम्मको तथ्यांक हेर्दा नेपाली विद्यार्थीहरूका लागि सर्वाधिक १,६३,४८६ जनासहित जापान अग्रस्थानमा रहेको छ। दोस्रो स्थानमा अस्ट्रेलिया १,०५,७९७ रहेको छ भने त्यसपछि क्रमशः बेलायत ५४,८११, संयुक्त राज्य अमेरिका ४५,६३४ र भारत ३८,९३८ मुख्य आकर्षण बनेका छन्।
यसैगरी, उच्च शिक्षाका लागि क्यानाडा ३०,०७७, बंगलादेश २९,५१२, दक्षिण कोरिया २४,७७२, संयुक्त अरब इमिरेट्स (युएई) १२,२५४ र चीन ७,११३ पनि प्रमुख रोजाइभित्र परेका छन्। अन्य गन्तव्यहरूमा थाइल्याण्ड ६,२९९, जर्मनी ४,८४१, डेनमार्क ४,६४८, फिनल्याण्ड ३,८६२, न्युजिल्याण्ड ३,६७७, कतार २,८६२, मलेसिया २,८३०, फ्रान्स १,९४५, हङकङ १,८९० र साउदी अरेबिया १,४९९ रहेका छन्। यो तथ्याङ्कले नेपालको युवा जनशक्ति विदेशिने क्रम बढेको र देशभित्र गुणस्तरीय उच्च शिक्षाको अभावले यो मोह बढाएको स्पष्ट पार्छ।
समाचारमा प्रस्तुत गरिएको तथ्याङ्क नेपाल अध्यागमन विभागले उपलब्ध गराएको आधिकारिक डाटामा आधारित छ।





