अब अपूर्ण अध्यागमन आवेदन सीधै अस्वीकार हुनसक्ने, थप प्रमाण बुझाउने मौका दिने नीति रद्द


प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार

अमेरिकी अध्यागमन सेवा (यूएससीआईएस) ले मंगलबारदेखि लागू हुने गरी अपूर्ण अध्यागमन आवेदनहरूलाई थप कडाइका साथ अस्वीकार गर्ने नयाँ नीति सार्वजनिक गरेको छ। यससँगै अस्वीकार गर्नुअघि आवेदकहरूलाई अपुग प्रमाण बुझाउन मौका दिने बाइडेन प्रशासनकालीन लचिलो नीति बदलिएको छ।

नयाँ नीतिअनुसार फाइलिङकै क्रममा योग्यता पुष्टि नभए वा आवश्यक प्रारम्भिक प्रमाण नसमेटिए यूएससीआईएस अधिकारीहरूले प्रमाणको अनुरोध (आरएफई) वा अस्वीकारको सूचना (एनओआईडी) जारी नगरीकनै आवेदन सीधै अस्वीकार गर्न सक्नेछन्। यो नियम अगस्ट ५, २०२६ वा त्यसपछि पेन्डिङ रहेका तथा नयाँ फाइल गरिएका सबै केसहरूमा तुरुन्तै लागू हुनेछ।

यूएससीआईएसका अनुसार यो अपडेटले कानूनी आधार नभएका वा आवश्यक कागजात अपुग भएका केसहरूलाई सीधै अस्वीकार गर्ने पूर्ण अधिकार अधिकारीहरूलाई दिएको छ। यसअघिको नीतिले “अनावश्यक” वा “प्लेसहोल्डर” फाइलिङलाई प्रोत्साहन मिलेको र योग्य आवेदकको प्रक्रियासमेत ढिला भएको एजेन्सीको दाबी छ।

यो नीतिले यूएससीआईएसको प्रक्रियालाई डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको विद्यमान नियमसँग मिलाएको छ, जसअनुसार फाइलिङकै बखत योग्यता प्रमाणित गर्ने सम्पूर्ण जिम्मेवारी आवेदकको हुन्छ। आवेदन फारमका निर्देशनहरूमै आवश्यक प्रारम्भिक प्रमाणबारे स्पष्ट पारिएको यूएससीआईएसले जनाएको छ।

पहिलेको लचिलो नीतिले अपूर्ण फाइलिङलाई बढावा दिनुका साथै प्रक्रिया सुस्त बनाएको र लागत बढाएको यूएससीआईएसले जनाएको छ। धेरैले अपूर्ण फाइलिङकै भरमा वर्क परमिट जस्ता सहायक अध्यागमन सुविधा लिने गरेको एजेन्सीको भनाइ छ।

नयाँ व्यवस्थाले काममा दक्षता ल्याउने, काम नलाग्ने फाइलिङ निरुत्साहित गर्ने र एजेन्सीको स्रोतसाधनको सही सदुपयोग हुने विश्वास लिइएको छ। यद्यपि, अधिकारीहरूसँग प्रमाण अभाव वा अयोग्यताका आधारमा सीधै अस्वीकार गर्ने वा अपुग कागजातका लागि आरएफई जारी गर्ने दुवै विकल्प भने रहनेछ।

नयाँ नीतिले प्रमाणको अनुरोध (आरएफई) वा अस्वीकारको सूचना (एनओआईडी) को जवाफ दिने समयसीमामा पनि फेरबदल गरेको छ। नियमअनुसार अब आरएफईका लागि अधिकतम १२ हप्ता र एनओआईडीका लागि ३० दिनको समयसीमा तोकिएको छ।

यसैगरी अमेरिकाबाहिर पठाइएका सूचनाका लागि थप १४ दिन दिइँदै आएको अभ्यास पनि अन्त्य गरिएको छ। नियमअनुसार अब हुलाक/मेल सेवाका लागि मात्र थप ३ दिनको समय पाइनेछ। यसले अधिकारी र आवेदक दुवैका लागि स्पष्टता ल्याउने तथा निर्णयमा एकरूपता कायम गर्ने यूएससीआईएसको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो परिवर्तन बाइडेन-युगको नीतिभन्दा पूर्ण रूपमा फरक छ, जहाँ आवेदन अपूर्ण भए पनि अधिकारीहरूलाई थप प्रमाण माग्न प्रोत्साहन गरिन्थ्यो। पुरानो परिपाटीले पूर्ण कागजात बुझाउने आवेदकहरूमाथि अन्याय भएको र सम्पूर्ण प्रक्रिया नै प्रभावित बनेको यूएससीआईएसको तर्क छ।

यो अपडेटसँगै अब आवेदक र अध्यागमन वकिलहरूलाई पहिलो पटकमै पूर्ण र त्रुटिरहित कागजात बुझाउन ठूलो दबाव पर्नेछ। एकातिर यसले वैध केसहरूको निर्णय छिटो गराउन मद्दत गर्नेछ भने अर्कातिर साधारण प्रमाण छुटेमा पनि सीधै आवेदन अस्वीकार हुने जोखिम उत्तिकै बढाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com