धरौटी शर्तमा अमेरिकी भिसा स्वीकृत आधा आवेदकद्वारा धरौटी राख्न अस्वीकार
प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार
अमेरिकी सरकारले भिजिटर भिसामा लागू गरेको धरौटी सम्बन्धी नीतिका कारण धरौटीको शर्तमा भिसा स्वीकृत भएकामध्ये झण्डै आधा आवेदकले धरौटी राख्न अस्वीकार गर्दै भिसा नै नलगाएको पाइएको छ। सोमबार ‘फेडरल रजिस्ट्रार’मा प्रकाशित हुने धरौटी सम्बन्धी अन्तिम नियममा धरौटी नराखेका कारण ती आवेदकहरूका लागि भिसा जारी नगरिएको जनाइएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिजिटर भिसाअन्तर्गत धरौटी तोकिएका करिब २० हजार आवेदकहरूमध्ये आधाले मात्र धरौटी रकम जम्मा गरेका थिए। महँगो धरौटी रकमका कारण धेरैजसो आवेदकले अमेरिका जाने योजना नै स्थगित गरेपछि धरौटी कार्यक्रम लागू भएका देशहरूमा भिसा जारी हुने दर अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले घटेको छ।
धरौटीको शर्तमा भिसा स्वीकृत भएपनि धरौटी नराखेर भिसा नलिएका नेपालीहरुको संख्या समेत उल्लेख्य रहेको छ । धरौटी मागेपछि भिसा अन्तरवार्तामा गएका कतिपय आवेदकले कन्सुलर अधिकारी समक्ष नै आफूहरुले धरौटी रकम राखेर भिसा नलिने बताउने गरेका छन् । तर सिमित संख्यामा नेपालीहरु समेत धरौटी रकम राखेर अमेरिका आउने गरेका छन् ।
आवेदकहरूले धरौटी रकम नतिरेर भिसा नलिए तापनि अमेरिकी विदेश मन्त्रालयले भने यसलाई नीतिकै सफलताका रूपमा व्याख्या गरेको छ। धरौटी नीतिकै कारण अमेरिका पुगेर तोकिएको समयभन्दा बढी बस्ने ‘ओभरस्टे’ प्रवृत्तिमा भारी गिरावट आएको अमेरिकी दाबी छ। अमेरिकाले हाल नेपालसहित ५० देशका लागि भिजिटर भिसामा धरौटीको नियम लागू गरिरहेको छ।
पाइलट कार्यक्रमको पहिलो १० महिनामा यो नियम लागू भएका ५० भन्दा बढी देशका भिसावाहकहरूमध्ये ५० जनाभन्दा कमले मात्र नियम उल्लङ्घन गरी ‘ओभरस्टे’ गरेको फेडरल रजिस्ट्रारमा प्रकाशित विवरणमा उल्लेख छ। ओभरस्टे दर घट्नुलाई मुख्य सफलता मान्दै विदेश मन्त्रालयले यो कार्यक्रमलाई स्थायी बनाउने र धरौटी रकम थप बढाउने निर्णय गरेको छ।
अगस्ट २०२५ मा एकवर्षे परीक्षणका रूपमा सुरु गरिएको यो कार्यक्रममा यसअघि ५ हजार, १० हजार र १५ हजार अमेरिकी डलर धरौटी तोकिएको थियो। तर, अगस्ट ३, २०२६ देखि लागू हुने नयाँ नियमअनुसार यो रकम बढाएर १० हजार, १५ हजार र २० हजार अमेरिकी डलर पुर्याइएको छ। उच्च ओभरस्टे दर, कमजोर सूचना आदान-प्रदान, अपर्याप्त पहिचान प्रमाणीकरण र आपराधिक अभिलेख प्रणाली स्पष्ट नभएका देशहरूलाई लक्षित गरी यो नियम लागू गरिएको हो।
यो प्रक्रियाअन्तर्गत भिसा अधिकारीले आवेदकलाई योग्य ठहर गरेपछि धरौटी आवश्यक ठानेमा भिसा अस्थायी रूपमा रोकेर अनलाइनमार्फत रकम तिर्न निर्देशन दिइन्छ। धरौटी रकम आवेदक स्वयं वा कुनै तेस्रो पक्षले पनि तिर्न सक्नेछन्। तोकिएको समयभित्र अमेरिका छाडेमा धरौटी रकम फिर्ता पाइन्छ। तर अनुमति सकिएपछि नफर्किएमा, समय नाघेर भिसा थपको निवेदन दिएमा, वा अमेरिका पुगेर ‘एसाइलम’ (शरण) आवेदन दिएमा धरौटी जफत हुनेछ।





