अगस्ट ३ देखि अमेरिकी भिजिटर भिसाको धरौटी स्थायी, नेपालीसहितलाई २० हजार डलरसम्म धरौटी
प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार
अमेरिकी दूतावास काठमाडौं।
सन् २०२६ अगस्ट ३ देखि अमेरिकी विदेश मन्त्रालयले अगस्ट २०२५ देखि परीक्षणका रूपमा सञ्चालन गर्दै आएको बी–१/बी–२ भिजिटर भिसा धरौटी कार्यक्रमलाई स्थायी रूपमा लागू गर्ने भएको छ। यससँगै भिसा जारी गर्नका लागि निश्चित भिजिटर भिसा आवेदकहरूले बुझाउनुपर्ने धरौटी रकम पनि बढाइएको छ।
सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित हुन लागेको अन्तिम नियमअनुसार तोकिएका देशका बी–१/बी–२ व्यापार तथा पर्यटक भिसा आवेदकहरूले भिसा प्राप्त गर्न १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ। परीक्षण कार्यक्रमअन्तर्गत यसअघि ५ हजार, १० हजार र १५ हजार डलर धरौटी लिने व्यवस्था थियो।
कन्सुलर अधिकारीहरूले सामान्यतया १५ हजार डलर धरौटी तोक्ने अपेक्षा गरिएको छ। तर आवेदकको भ्रमणको उद्देश्य, रोजगारी, आय तथा अन्य परिस्थितिका आधारमा १० हजार वा २० हजार डलरसम्म धरौटी माग गर्न सकिनेछ।
यो धरौटी कार्यक्रमले नेपालसहित ५० देशका नागरिकहरूलाई समेटेको छ, जसका नागरिकहरूले बी–१/बी–२ भिसाका लागि आवेदन दिन्छन्। विदेश मन्त्रालयले कार्यक्रममा समावेश हुने देशहरूको सूची आफ्नो आधिकारिक वेबसाइटमार्फत निरन्तर अद्यावधिक गर्ने जनाएको छ। कुनै देश थप गर्दा कम्तीमा १५ दिनअघि सूचना दिइनेछ भने सूचीबाट हटाउँदा निर्णय तत्काल लागू हुनेछ।
राष्ट्रपति ट्रम्पद्वारा लागू गरिएको राष्ट्रियतामा आधारित यात्रा प्रतिबन्ध लागेका देशका हकमा भने यो धरौटी व्यवस्था छुट पाउन योग्य आवेदकहरूमा मात्र लागू हुनेछ।
विदेश मन्त्रालयका अनुसार, एक वर्षको परीक्षण अवधिबाट प्राप्त तथ्याङ्कले भिसा धरौटी प्रणालीले यात्रुहरूलाई भिसाका शर्तहरू पालना गराउन प्रभावकारी भूमिका खेलेको देखाएको छ। उच्च ओभरस्टे दर भएका, सूचना आदानप्रदान कमजोर भएका, पहिचान प्रमाणीकरण तथा आपराधिक अभिलेख आदानप्रदान अपर्याप्त भएका वा यात्रा कागजातको सुरक्षा तथा जाँच प्रणाली कमजोर भएका देशहरूमाथि कूटनीतिक दबाब सिर्जना गर्ने उद्देश्यले पनि यो कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ।
धरौटी नियम लागू हुने आवेदकहरूले अन्य गैरआवासीय भिसा आवेदकहरूले जस्तै कन्सुलर अन्तर्वार्ताको समय तय गरी नियमित भिसा शुल्क बुझाएर प्रक्रिया सुरु गर्नेछन्। यदि कन्सुलर अधिकारीले आवेदकलाई अन्य सबै आधारमा योग्य र तोकिएको देशको नागरिक ठहर गरेमा, अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २२१(जी) अन्तर्गत भिसा अस्थायी रूपमा अस्वीकार गरिनेछ। त्यसपछि आवेदकलाई गृह सुरक्षा मन्त्रालयको धरौटी फाराम र सरकारी विद्युतीय भुक्तानी प्रणालीमार्फत आवश्यक धरौटी बुझाउन निर्देशन दिइनेछ। धरौटी रकम आवेदक स्वयं वा तेस्रो पक्षले बुझाउन सक्नेछन्।
धरौटी रकम प्राप्त भएको पुष्टि भएपछि कन्सुलर अधिकारीले योग्यताको अन्तिम समीक्षा गर्नेछन्। स्वीकृति पाएमा पारस्परिक सम्झौताका आधारमा तीनदेखि १२ महिनासम्मको वैधता भएको एकल वा बहुप्रवेश भिसा जारी गर्न सकिनेछ। भिसामा धरौटी बुझाइएको उल्लेखसमेत गरिनेछ।
आवेदकहरूले धरौटीबाट छुट माग गर्ने कुनै नियमित प्रक्रिया रहने छैन। तर कन्सुलर मामिलासम्बन्धी सहायक विदेश मन्त्रीले भ्रमणको उद्देश्य, रोजगारी, राष्ट्रिय हित वा मानवीय आधारमा विशेष छुट दिन सक्ने व्यवस्था गरिएको छ।
धरौटीमा भिसा प्राप्त गरेका यात्रुले व्यावसायिक विमानस्थल वा अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायको पूर्व–प्रवेश जाँच केन्द्रमार्फत मात्र अमेरिका प्रवेश र प्रस्थान गर्नुपर्नेछ। धरौटी रकम फिर्ता पाउन उनीहरूले आफ्नो भिसाका सबै शर्तहरू पालना गरेको हुनुपर्छ। यसमा अनधिकृत रूपमा काम नगर्नु, अनुमति प्राप्त बसाइ अवधि समाप्त हुनुअघि अमेरिका छाड्नु वा समयमै बसाइ अवधि थप अथवा भिसा स्थिति परिवर्तनका लागि आवेदन दिनु समावेश छ।
यदि समयमै दिइएको बसाइ अवधि थप वा भिसा स्थिति परिवर्तनको निवेदन अस्वीकृत भयो भने विदेशी नागरिकले अस्वीकृत भएको १० दिनभित्र अमेरिका छाड्नुपर्नेछ। यस्ता निवेदन स्वीकृत भए पनि धरौटीको दायित्व कायम रहनेछ। धरौटी फिर्ता पाउन नयाँ भिसा स्थितिका सबै शर्त पालना गरी स्वीकृत अवधि सकिनुअघि अमेरिका छाड्नुपर्नेछ।
सरकारी प्रणालीले यात्रुले भिसाका सबै शर्त पालना गरेको र समयमै अमेरिका छाडेको पुष्टि गरेपछि धरौटी स्वतः रद्द हुनेछ। त्यसपछि धरौटीको सम्पूर्ण रकम कुनै ब्याजबिना भुक्तानीकर्तालाई फिर्ता गरिनेछ र सम्बन्धित व्यक्तिले धरौटी रद्द भएको सूचना प्राप्त गर्नेछन्।
अन्तिम नियमअनुसार अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले धरौटी रकम निर्धारण नगरे पनि बसाइ अवधि थप वा भिसा स्थिति परिवर्तनसम्बन्धी निर्णय गर्दा भिसा धरौटीको अवस्थालाई नकारात्मक स्वेच्छिक कारकका रूपमा विचार गर्न सक्नेछ।
यदि विदेशी नागरिकले धरौटीका शर्तहरूको गम्भीर उल्लङ्घन गरेमा—जस्तै अनुमति अवधिभन्दा बढी अमेरिका बसेमा, बसाइ अवधि थप वा भिसा स्थिति परिवर्तनको आवेदन ढिलो दिएमा, आवेदन अस्वीकृत भएपछि १० दिनभित्र अमेरिका नछाडेमा वा शरण वा अन्य मानवीय संरक्षणका लागि आवेदन दिएमा—धरौटी उल्लङ्घन भएको मानिनेछ र सम्पूर्ण धरौटी रकम जफत हुनेछ।
विदेश मन्त्रालयले नियम उल्लङ्घन भएको प्रारम्भिक निष्कर्ष निकालेमा सम्बन्धित विवरण होमल्याण्ड सेक्युरिटीमा पठाइनेछ। त्यसपछि होमल्याण्ड सेक्युरिटीले धरौटी जफत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्नेछ र सम्बन्धित विदेशी नागरिकलाई जफत तथा पुनरावेदनको अधिकारबारे जानकारी गराउनेछ।
अगस्ट २०२५ मा परीक्षण कार्यक्रम सुरु गर्दा विदेश मन्त्रालयले एक वर्षमा करिब दुई हजार आवेदक मात्र धरौटीको दायरामा पर्ने अनुमान गरेको थियो। तर अन्ततः करिब २० हजार भिसा आवेदनमा धरौटी आवश्यक परेको पाइयो। तीमध्ये करिब आधाले मात्र धरौटी बुझाएका थिए।
परीक्षण कार्यक्रममा समावेश देशका नागरिकहरूका लागि बी–श्रेणीका भिसा जारी हुने दर कार्यक्रम सुरु भएको पहिलो १० महिनामा अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले घटेको थियो। धेरै आवेदकहरूले धरौटी रकम नबुझाउने विकल्प रोजेकाले भिसा जारी हुने दरमा उल्लेखनीय गिरावट आएको विदेश मन्त्रालयले जनाएको छ।





