अमेरिकामा ‘डीटी फेस्ट २०२६’ मा समीक्षा अधिकारी र शिव परियारले प्रस्तुति दिने


प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार

अमेरिकामा बस्ने नेपाली संगीतप्रेमीहरूका लागि दशैंको अवसरमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ। चर्चित गायिका समीक्षा अधिकारी र गायक शिव परियारले ‘डीटी फेस्ट २०२६’ मा प्रस्तुति दिने भएका हुन्।

‘३ई इन्टरटेनमेन्ट एलएलसी’ द्वारा आयोजित सांगीतिक भ्रमणका क्रममा यो प्रस्तुति वासिङ्टन डिसी, मेरिल्यान्ड र भर्जिनिया क्षेत्रको प्रमुख नेपाली सामुदायिक उत्सव मानिने ‘डीटी फेस्ट २०२६’ मा विशेष आकर्षणका रूपमा रहनेछ।

युवा पुस्तामाझ अत्यधिक लोकप्रिय गायिका समीक्षा अधिकारी तथा थुप्रै चर्चित गीतका धनी गायक शिव परियारको सहभागिताले उत्सवमा अझ रौनक थप्ने आयोजकको विश्वास छ।

‘डीटी फेस्ट २०२६’ अमेरिकाको भर्जिनिया राज्यस्थित लाउडन काउन्टीको ‘वान लाउडन’ मा आगामी अक्टोबर ११, २०२६ मा आयोजना हुनेछ। दक्षिण एसियाली समुदायका लागि महत्त्वपूर्ण सांस्कृतिक कार्यक्रमका रूपमा लिइने दशैं–तिहार महोत्सव ‘डीटी फेस्ट’ नेपाली परम्परा, सांस्कृतिक सम्पदा र सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ। आयोजकका अनुसार, यसले अमेरिकाभरिका नेपाली प्रवासी र नेपालप्रति रुचि राख्ने समुदायलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।

यस वर्षको महोत्सवमा विशेष लेआउट अवधारणा प्रस्तुत गरिनेछ, जसअन्तर्गत कार्यक्रम स्थलका विभिन्न क्षेत्रहरूलाई नेपालका प्रमुख हिमाल अन्नपूर्ण, कञ्चनजङ्घा, मकालु र धवलागिरीका नामबाट नामाकरण गरिनेछ।

आयोजकहरूले यस महोत्सवले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान प्रवर्द्धन गर्न र पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com