चार महिनामा अमेरिकामा २००० भन्दा बढी नेपाली विद्यार्थी घटे


प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको विवरण राख्ने अमेरिकी प्रणाली ‘सेभिस’ को पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा रहेका सक्रिय नेपाली विद्यार्थीको सङ्ख्या चार महिनाको अवधिमा २,००१ ले घटेको छ। सन् २०२६ को मार्चमा ३४,८५३ रहेको नेपाली विद्यार्थीको सङ्ख्या घटेर जुलाई २०२६ सम्म आइपुग्दा ३२,८५२ मा सीमित भएको छ।

होमल्याण्ड सेक्युरिटी अन्तर्गतको सेभिस तथ्याङ्क अनुसार वसन्त तथा गृष्म ऋतुको सुरुवाती महिनाहरूमा विद्यार्थी घट्ने क्रम झनै तीव्र बनेको देखिन्छ। अप्रिल २०२६ मा सक्रिय नेपाली विद्यार्थीको सङ्ख्या ३४,६८० रहेकोमा मे महिनामा ३१४ ले घटेर ३४,३६६ पुगेको थियो। त्यसैगरी, जुन महिनामा ६०८ ले घटेर ३३,७५८ मा झरेको यो सङ्ख्या जुलाई महिनामा थप ९०६ ले घट्दै ३२,८५२ मा पुगेको हो।

‘सेभिस’ अमेरिकामा एफ र एम भिसामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी तथा एक्सचेन्ज भिजिटरको तथ्याङ्क राख्ने सङ्घीय प्रणाली हो। जब कुनै विद्यार्थीको सेभिस रेकर्ड ‘टर्मिनेट’ हुन्छ, उसको कानुनी अध्यागमन स्थिति निष्कृय मानिन्छ र पुनर्वहाली वा स्टाटस परिवर्तन नभएसम्म विद्यार्थीले अध्ययन जारी राख्न वा अमेरिकामा रहन पाउँदैनन्।

यद्यपि, सेभिस रेकर्ड रद्द हुनुको अर्थ कानुनी कारबाही वा भिसा रद्द हुनु मात्र होइन; विद्यार्थीहरूले ग्र्याजुएसन पूरा गर्दा, कलेज वा प्रोग्राम परिवर्तन गर्दा, वा आधिकारिक रूपमा पढाइ स्थगित गर्दा पनि यस्तो रेकर्ड समाप्त हुने गर्छ। गत वर्ष सन् २०२५ मा पनि सङ्घीय तथ्याङ्क र नीतिगत परिवर्तनका बीच हजारौँ नेपाली विद्यार्थीहरू सेभिस रेकर्ड रद्द हुने समस्याबाट प्रभावित भएका थिए, जसमध्ये कतिपयको पछि पुन: दर्ता गरिएको थियो।

सङ्ख्यामा केही गिरावट आए तापनि अमेरिकामा अध्ययनका लागि धेरै विद्यार्थी पठाउने देशहरूको सूचीमा नेपाल अझै पनि अग्रस्थानमै रहेको छ। जुलाई २०२६ को तथ्याङ्क अनुसार हाल ३२,८५२ नेपाली विद्यार्थी सक्रिय स्थितिमा अध्ययनरत छन्, जसमा १८,३२२ पुरुष र १४,५३० महिला रहेका छन्। यी विद्यार्थीहरू ब्याचलर्स, मास्टर्स, एसोसिएट, र डाक्टरेट तहका विभिन्न कार्यक्रमहरूमा भर्ना भएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com