ट्रम्प प्रशासनको ‘खराबमध्येका अति खराब’ अपराधीको सूचीमा ३ नेपाली थपिए, कुल संख्या १०


प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार

‘वर्स्ट अफ द वर्स्ट’ सूचीमा यसअघि समावेश गरिएका १० नेपाली नागरिक।

अमेरिकी होमल्यान्ड सेक्युरिटीले सञ्चालन गरेको देशव्यापी अध्यागमन कारबाहीका क्रममा पक्राउ परेका थप ३ नेपाली नागरिकलाई “खराबमध्येका अति खराब” अपराधीको सूचीमा राखिएको छ। यसअघि उक्त सूचीमा ७ जना नेपाली रहेका थिए; अब यो सूचीमा पर्ने नेपालीको संख्या १० पुगेको छ।

सूचीमा थपिएकामा ह्यारिसबर्ग, पेन्सिलभेनियाका शंकर कार्की, डलास, टेक्सासका टंक पराजुली र ब्रिजवाटर, मसाचुसेट्सका प्रसिद्ध बरुवाल रहेका छन्। उनीमध्ये कार्कीमाथि ठगी, पराजुलीमाथि खतरनाक लागूऔषध तथा बरुवालमाथि सार्वजनिक भवनमा आगजनी र लुटपाटको अपराधमा सूचिकृत गरिएको छ।

यसअघि होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको सूचीमा विभिन्न राज्यबाट पक्राउ परेका सात नेपाली यौन शोषण, ठगी, लागूऔषध ओसारपसार र हिंसात्मक आक्रमणजस्ता गम्भीर अपराधमा संलग्न रहेको उल्लेख गरिएको थियो। सूचीमा टेक्सास, न्युयोर्क, कोलोराडो र एरिजोनालगायत विभिन्न राज्यमा आपराधिक गतिविधिमा संलग्न नेपाली नागरिकहरूको नाम समावेश छ।

यसअघिको ७ जनाको सूचीमा परेकामध्ये टेकन कँडेल कोलोराडोमा नाबालिगको यौन शोषण र बन्धक बनाएको अपराधमा सूचिकृत गरिएका छन्। अनिल पन्थ डलासमा सञ्चारमाध्यममार्फत नाबालिगलाई लोभ्याएको अपराधमा सूचिकृत गरिएका छन्। सयनम घिमिरे न्युयोर्कमा यौन दुर्व्यवहारको अपराधमा सूचिकृत गरिएका छन्।

सन्तोष दर्जी एरिजोनामा खतरनाक लागूऔषध, परिचय चोरी र सवारीसाधन चोरीको अपराधमा सूचिकृत गरिएका छन्। नबिन शाह टेक्सासमा ठगी, कुटपिट र चोरीको अपराधमा सूचिकृत गरिएका छन्। रातुल सिंह डलासमा डकैतीको अपराधमा सूचिकृत गरिएका छन्। रिकेश थापा ‘लुजियानामा वायर फ्रड’ अर्थात् विद्युतीय ठगीको अपराधमा सूचिकृत गरिएका छन्।

ट्रम्प प्रशासनको निर्देशनअनुसार गम्भीर र हिंसात्मक अपराधमा संलग्न गैरनागरिकहरूलाई प्राथमिकताका साथ देशनिकाला गर्ने उद्देश्यले यो कदम चालिएको हो। होमल्यान्ड सेक्युरिटीले राष्ट्रपति ट्रम्पको वाचाअनुरूप देशका लागि खतरा मानिएका र गम्भीर अपराधमा सूचिकृत व्यक्तिहरूलाई लक्षित गर्दै सामूहिक देशनिकाला प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारेको छ। आइसका अधिकारीहरूले गम्भीर अपराधमा सूचिकृत गैरनागरिकहरूलाई देशनिकाला गर्ने होमल्यान्ड सेक्युरिटीको निर्देशिकाअनुसार यी पक्राउ गरेका हुन्।

होमल्यान्ड सेक्युरिटीको वेबसाइटमा उल्लेख छ, “होमल्यान्ड सेक्युरिटीले आइसद्वारा पक्राउ गरिएका ‘खराबमध्येका अति खराब’ आपराधिक विदेशीहरूलाई सार्वजनिक गरिरहेको छ। होमल्यान्ड सेक्युरिटीको नेतृत्वमा कर्मचारीहरूले राष्ट्रपति ट्रम्पको वाचा पूरा गर्दै ‘खराबमध्येका अति खराब’ बाट सुरु गरी सामूहिक देशनिकाला कार्य अगाडि बढाइरहेका छन्।”

होमल्यान्ड सेक्युरिटीले मंगलबार “वर्स्ट अफ द वर्स्ट” वेबसाइटमा ५,००० थप आपराधिक गैरकानुनी आप्रवासीहरू थपिएको घोषणा गरेको हो। यससँगै अब उक्त साइटमा देशभरि पक्राउ परेका ४०,००० भन्दा बढी आप्रवासीहरूको सूची देखा पर्ने भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वेबसाइट डिसेम्बर ८, २०२५ मा सुरु गरिएको थियो। पक्राउ परेकाहरूको आपराधिक इतिहासमा हत्या, आगजनी, बलात्कार, नाबालिगको यौन शोषण, चोरी, आतंककारी धम्की, सशस्त्र डकैती, अपहरण, हमला, ठगी र चोरीजस्ता अपराधहरू समावेश छन्।

“डीएचएसले हाम्रो ‘वर्स्ट अफ द वर्स्ट’ वेबसाइटमा हत्यारा, बाल यौन शोषक, बलात्कारी, आगजनी गर्ने, लागूऔषध तस्कर, अपहरणकर्ता, हिंसात्मक हमलावर र ग्याङ सदस्यहरूसहित ५,००० थप आपराधिक गैरकानुनी आप्रवासीहरू थपेको छ,” एसिस्टेण्ट सेक्रेटरी लरेन बिसेले भनिन्। “यो वेबसाइटले अब हामीले देशभरिका समुदायहरूबाट हटाएका ४०,००० भन्दा बढी अपराधीहरू देखाउँछ। ट्रम्प प्रशासन हाम्रो देशबाट गैरकानुनी आप्रवासीहरूलाई पक्राउ र देशनिकाला गर्ने अमेरिकी जनताको आदेश पूरा गर्दै पारदर्शिताका लागि पहिलेभन्दा बढी प्रतिबद्ध छ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com