अमेरिकी धन र जग्गादाताको मन: दुई कोठाबाट सुरु नेपालको अस्पताल यसरी बन्यो ‘दृष्टि धाम’
प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार
सन् १९८३ अर्थात् वि.सं. २०४० साल मङ्सिर १३ गते भीम अस्पताल, भैरहवा (रुपन्देही) को परिसरभित्र केवल दुई वटा कोठा, चार जना कर्मचारी र एक जना नेत्ररोग विशेषज्ञबाट सेवा सुरु भएको श्री रण अम्बिका शाह आँखा अस्पताल पछिल्ला चार दशकदेखि नेपालको नेत्र स्वास्थ्य सेवाको अग्रणी संस्थाका रूपमा स्थापित भएको छ।
जग्गा दानदेखि पूर्वाधार निर्माणसम्म
तत्कालीन अवस्थामा आँखाका बिरामीको चाप बढेपछि अमेरिकी संस्था ‘सेभा फाउन्डेसन’ ले आँखा अस्पताल निर्माणमा सहयोग गर्ने इच्छा जाहेर गर्यो। तर, उसले जग्गा प्राप्त भएमा मात्र अस्पताल निर्माण गरिदिने सर्त राख्यो। तत्पश्चात् रणबहादुर शाह र उनकी श्रीमती अम्बिका शाहले आफ्नो नाम राखेर अस्पताल निर्माण गरेको खण्डमा आफ्नो नाममा रहेको १ बिघा १६ कठ्ठा ९ धुर जमिन आँखा अस्पताललाई प्रदान गर्ने सर्तमा उक्त जग्गा दान गरेका थिए। यो जग्गा प्राप्त भएपछि सिद्धार्थनगर नगरपालिकाले पनि १२ कठ्ठा २ धुर थप जग्गा अस्पताललाई प्रदान गरेको थियो।
सोही जग्गामा वि.सं. २०४० मङ्सिर १३ गते सेवा फाउन्डेसनले २ करोड ८५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि ओपीडी, अन्तरङ्ग विभाग तथा शल्यक्रिया भवन निर्माण भएको हो। यो भवन ५०० जना बिरामीको उपचार र १०० जना बिरामीको शल्यक्रिया गर्न सक्ने क्षमताको थियो।
दैनिक सयौँ शल्यक्रिया र हजारौँलाई ओपीडी सेवा
अहिले भने यो अस्पतालले दैनिक १,५०० देखि २,५०० जनालाई ओपीडी सेवा दिँदै आएको छ। २५० शय्याको यस अस्पतालले अहिले दैनिक २०० देखि ३०० जनासम्मको आँखासम्बन्धी विभिन्न रोगको शल्यक्रिया गर्दै आएको अस्पतालका डेपुटी म्यानेजर तुल्सीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार अस्पतालमा ३० जना चिकित्सकसहित ३४४ जनाको जनशक्ति रहेको छ।

यो अस्पतालले उपचार सेवा मात्र नभई शिक्षा, अनुसन्धान, जनशक्ति उत्पादन, समुदायमा आधारित स्वास्थ्य सेवा तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाएको सरोकारवालाहरूको भनाइ छ। यो अस्पताल नेपाल नेत्रज्योति सङ्घको व्यवस्थापन तथा लुम्बिनी आई इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर (लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर) अन्तर्गत रहेको छ।
उपचार गराउनेमा ५० प्रतिशत भारतीय नागरिक
अस्पतालले आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको पाँच वर्षको अवधिमा झन्डै १४ लाख ७७ हजारभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरेको अस्पतालकै तथ्याङ्कले देखाउँछ।
अस्पतालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा ३९ हजार ३६० जना बिरामीको शल्यक्रिया भएको छ भने ३ लाख ८३ हजार ५३ जना बिरामीले उपचार सेवा लिएका छन्। आर्थिक वर्ष २०८२/८३ मा भने यो सङ्ख्या अझ बढेको देखिन्छ।
यस आर्थिक वर्षमा ३ लाख ८७ हजार ५२५ जना बिरामीले सो अस्पतालबाट सेवा लिएका छन् र सोही अवधिमा ३९ हजार १४१ जना बिरामीको शल्यक्रिया भएको छ। अस्पताल प्रशासनका अनुसार उपचार गराउनेमध्ये ४० प्रतिशत र शल्यक्रिया गराउनेमध्ये ५० प्रतिशत भारतीय नागरिक रहेका छन्।
सुलभ शुल्कमा विशिष्टीकृत उपचार सुविधा
सामान्य आँखा परीक्षणदेखि जटिल शल्यक्रिया, आधुनिक प्रविधिबाट गरिने निदान र विशेषज्ञ उपचारसम्मका सेवाले अस्पताललाई पश्चिम नेपाल मात्र नभई देशकै प्रमुख नेत्र अस्पतालका रूपमा स्थापित गरेको डेपुटी म्यानेजर पराजुलीको भनाइ छ। अस्पतालमा उपचार गराउनका लागि ओपीडी शुल्क १५० रुपैयाँ लाग्छ।
नेपालमा गुणस्तरीय आँखा उपचारको पहुँच अत्यन्त सीमित रहेको बेला धेरै नेपाली मोतियाबिन्दु तथा अन्य जटिल आँखा रोगको उपचारका लागि भारत जान बाध्य थिए। अहिले भने अस्पतालले उपचारसँगै चिकित्सा शिक्षा, अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनलाई पनि समान प्राथमिकता दिँदै आएको छ।

अस्पतालमा मोतियाबिन्दु, रेटिना, कर्निया, ग्लुकोमा, बाल नेत्ररोग, युभिया, ओकुलोप्लास्टिक, लो-भिजन, कन्ट्याक्ट लेन्स सेवा, लेजर उपचार, आकस्मिक सेवा, अत्याधुनिक अपरेसन थिएटर, प्रयोगशाला तथा फार्मेसीसहितका आधुनिक सुविधा उपलब्ध छन्।
आधुनिक प्रविधि र दुर्गम क्षेत्रसम्म सेवा विस्तार
नेपालमा दृष्टिविहीनताका प्रमुख कारणहरूमध्ये मोतियाबिन्दु, दृष्टिदोष, ग्लुकोमा र मधुमेहजन्य रेटिनाको समस्या मानिन्छन्। यी रोगहरूको समयमै पहिचान र उपचार गर्न अस्पतालले आधुनिक प्रविधिको प्रयोग गर्दै आएको छ। उपचारमा गुणस्तर कायम राखेकै कारण नेपालका विभिन्न जिल्लाका बिरामी नियमित रूपमा आउने गरेको अस्पतालका नेत्र अधिकृत रामचन्द्र श्रेष्ठ बताउँछन्। श्रेष्ठ भन्छन्, “बालबालिकादेखि वृद्धवृद्धासम्मको उपचार रण अम्बिका आँखा अस्पतालमा सम्भव छ।”
नेपालका दुर्गम क्षेत्रसम्म सर्वसुलभ आँखा उपचार सेवा पुर्याउने उद्देश्यअनुरूप अस्पतालले पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठानमा आँखा उपचार केन्द्र र १२ वटा प्राथमिक आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ। ५ वटा सर्जिकल सेन्टर र सेकेन्डरी आँखा अस्पताल स्थापना गरी शल्यक्रिया सेवा पनि रण अम्बिका शाह आँखा अस्पतालले उपलब्ध गराउँदै आएको छ।
सेवाग्राहीको प्रतिक्रिया र सामाजिक उत्तरदायित्व
अस्पतालमा शल्यक्रिया गरेका बिरामीलाई राखिने ‘पोस्ट अपरेटिभ’ कक्षमा भने सरसफाइ लगायतका क्षेत्रमा सुधारको आवश्यकता महसुस गरिएको कतिपय बिरामी तथा तिनका आफन्तहरू बताउँछन्। आफ्ना साना छोराको सोही अस्पतालमा उपचार गराएका रुपन्देही, फर्साटिकरका राजन तिवारी भन्छन्, “उपचार राम्रो छ, तर सरसफाइ र व्यवस्थापनमा ध्यान दिन आवश्यक छ।”

विद्यालयमा निःशुल्क आँखा परीक्षण, समुदायमा आधारित शिविर, मोतियाबिन्दु पहिचान अभियान, दृष्टिदोष परीक्षण तथा जनचेतनामूलक कार्यक्रमबाट हजारौँ नागरिक लाभान्वित भएका छन्। आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियत तथा निःशुल्क उपचार उपलब्ध गराउने कार्यक्रमले अस्पतालको सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए। उनी भन्छन्, “सिद्धार्थनगरको गहनाका रूपमा रहेको आँखा अस्पताल आँखा उपचारको हब बन्नु स्थानीयका लागि गौरवको विषय हो।”
भारतीय नागरिक र विदेशी पर्यटकको भरपर्दो गन्तव्य
नेपाल-भारत सीमासँग जोडिएको भैरहवामा अवस्थित भएकाले यस अस्पतालमा नेपालका बिरामीका साथै भारतको उत्तर प्रदेश तथा सीमावर्ती जिल्लाहरूबाट पनि उल्लेख्य सङ्ख्यामा बिरामी आउने गरेका छन्। गुणस्तरीय उपचार, अनुभवी विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण तथा तुलनात्मक रूपमा किफायती उपचार खर्चका कारण भारतीय बिरामीको आकर्षण बढ्दै गएको अस्पतालको भनाइ छ।
लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटक तथा बौद्ध तीर्थयात्रीले समेत आवश्यक पर्दा यही अस्पतालबाट सेवा लिने गरेका छन्। भारतको महाराजगञ्जबाट आँखा जाँच्न आएका ७१ वर्षीय रामसेवक लोनिया अस्पतालबाट प्राप्त उपचारबाट सन्तुष्ट छन्। उनी भन्छन्, “अस्पतालमा आएपछि मोतियाबिन्दु रहेको पत्ता लाग्यो अनि शल्यक्रिया गराएँ, अहिले निको हुँदैछ।” नेपालको अस्पताल भए पनि भारतीय बिरामी भएकै आधारमा कुनै भेदभाव महसुस गर्नु नपरेको भारतीय सेवाग्राहीहरूको भनाइ छ।
अध्ययन, अनुसन्धान र आत्मनिर्भरता
श्री रण अम्बिका शाह आँखा अस्पताल उपचार केन्द्र मात्र नभई नेत्र विज्ञान अध्ययन र अनुसन्धानको पनि महत्त्वपूर्ण संस्था हो। अस्पतालअन्तर्गत सञ्चालन हुने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानमार्फत एमडी (नेत्ररोग), ब्याचलर इन अप्टोमेट्री तथा पीसीएल इन अफ्थाल्मिक साइन्स लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
अस्पतालले नेपालका लागि आवश्यक दक्ष नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट, नेत्र सहायक तथा अन्य प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ। अनुसन्धान, क्लिनिकल अध्ययन तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यले अस्पताललाई दक्षिण एसियाको महत्त्वपूर्ण शैक्षिक केन्द्रका रूपमा पनि स्थापित गरेको छ।

अस्पताल स्थापनाका सुरुवाती केही वर्षमा विभिन्न दातृ निकायबाट सहयोग प्राप्त भए पनि अहिले भने यो अस्पताल पूर्ण रूपमा आफ्नै आम्दानीमा सञ्चालन भइरहेको छ। रण अम्बिका शाह आँखा अस्पताल सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत उपचार सेवा, शल्यक्रिया, औषधि तथा चस्मा बिक्री, विभिन्न परीक्षण सेवा र शैक्षिक कार्यक्रमबाट प्राप्त हुने शुल्क नै हो। अन्य सहयोगी निकायबाट प्राप्त रकम भने अस्पतालले कर्मचारीको क्षमता अभिवृद्धि तथा भौतिक निर्माणमा खर्च गर्ने गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष सागरप्रताप राणाले जानकारी दिए।
अध्यक्ष राणाले अस्पतालले सम्पूर्ण प्रशासनिक खर्चको व्यवस्थापन आफ्नै स्रोतबाट गरिरहेको बताउँदै बिरामीको उपचार शुल्कबाट सङ्कलन भएको रकम बचेमा ग्रामीण क्षेत्रमा पुगेर गरिब तथा निमुखा नागरिकको निःशुल्क उपचारमा खर्च गर्ने गरिएको बताए। नेपालमा अन्धोपन निवारण गर्ने मुख्य उद्देश्य राखेर स्थापना गरिएको यो अस्पतालले सस्तो र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उनले उल्लेख गरे।
भावी लक्ष्य: एआई प्रविधि र मेडिकल टुरिजम
अस्पतालले आगामी दिनमा सुपर-स्पेसियालिटी सेवा थप विस्तार गर्ने, कृत्रिम बुद्धिमत्तामा आधारित नेत्र परीक्षण प्रणाली विकास गर्ने, डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने, अनुसन्धान क्षमता अभिवृद्धि गर्ने तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य अघि सारेको छ। अस्पतालले मेडिकल टुरिजम प्रवर्द्धन गर्दै दक्षिण एसियाका बिरामीलाई आकर्षित गर्ने रणनीतिमा पनि काम गरिरहेको छ।
चिकित्सकको परामर्श: आँखा स्वास्थ्य र नियमित जाँच
चिकित्सकहरूका अनुसार ४० वर्ष उमेर काटेपछि नियमित आँखा परीक्षण गराउने बानी बसाल्नुपर्छ। मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिहरूले वार्षिक आँखा जाँच गराउने, बालबालिकाको विद्यालय तहमा दृष्टि परीक्षण गराउने तथा आँखा रातो हुने, धमिलो देखिने वा दृष्टि घट्ने समस्या देखिए तुरुन्त चिकित्सकसँग परामर्श गर्नुपर्ने सुझाव चिकित्सकहरूले दिएका छन्।
नेपालले मोतियाबिन्दु उपचार र सामुदायिक आँखा सेवामा उल्लेखनीय प्रगति गरेको भए तापनि अन्धोपन रोकथामका लागि नियमित परीक्षण, जनचेतना र दुर्गम क्षेत्रमा सेवाको पहुँच विस्तार अझै आवश्यक छ। उमेर ४० वर्षभन्दा माथि छ भने कम्तीमा प्रत्येक १-२ वर्षमा एकपटक आँखा जाँच (विशेष गरी ग्लुकोमा र रेटिना परीक्षणसहित) गराउनु उपयुक्त हुन्छ। मधुमेह वा उच्च रक्तचाप भएमा भने हरेक वर्ष रेटिना जाँच अनिवार्य मानिन्छ।
सबै तस्वीर: श्री रण अम्बिका शाह आँखा अस्पताल





