फिफा विश्वकप फुटबल: आयोजक क्यानडा बराबरीमा रोकियो


प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार

फोटो : एपी/रासस

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत भएको खेलमा घरेलु टोली क्यानडा बराबरीमा रोकिएको छ। फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको हो।

क्यानडाको टोरन्टो स्टेडियममा भएको विश्वकपको तेस्रो तथा समूह ‘बी’ को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका हुन्। यससँगै दुवै टोलीले समान १–१ अङ्क बाडेका छन्।

खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो। खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।

बोस्निया एन्ड हर्जगोभिनाले खेलको पहिलो हाफमा लिएको १–० गोलको अग्रता दोस्रो हाफमा जोगाउन सकेन। खेलको ७८औँ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो। क्यानडाका काइल लारिनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले थप गोल गर्न सकेनन् र अन्ततः खेल १–१ गोलको बराबरीमा टुङ्गियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com