कात्तिक १९ गतेबाट ओली-प्रचण्डको म्याराथुन पूर्व-पश्चिम चुनावी अभियान
प्रकाशित मिति : कार्तिक १२, २०७४ आईतबार

काठमाडौं १२ कात्तिक । दुई तिहाई बहुमतको दावी गरिरहेको बाम गठवन्धनका दुई शिर्ष नेताहरुले कात्तिक १९ गतेदेखिबाट पूर्व पश्चिम म्याराथुन चुनावी अभियान सुरु गर्ने भएका छन् । पूर्वको ताप्लेजुंगबाट सुरु भएको अभियान पश्चिमको दार्चुलामा पुगेर समापन हुनेछ । पूर्वदेखि पश्चिमसम्म पर्ने २५ जिल्लाका झण्डै १०० भन्दा बढी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सम्वोधन गर्नेछन् । अभियानमा अनुकूलता अनुसार पार्टी एकता संयोजन समितिका नेताहरुले समेत सहभागिता जनाउने छन् ।
यस अघि स्थानीय निर्वाचनको तयारीका क्रममा एमालेले मेची महाकाली चुनावी अभियान चलाएको थियो भने ०७० को संविधानसभा चुनावमा प्रचण्डले मेची महाकाली अभियान चलाएका थिए । एमालेले सन्चालन गरेको मेची महकाली अभियानले सफलता प्राप्त गरेर स्थानीय चुनावको परिणाममा एमाले पहिलो पार्टी बन्न सफल भएको थियो ।
पहिलो चरणका ३२ जिल्लाका २७ निर्वाचन क्षेत्रमा उमेदबारी दर्ता भएर उमेदबारहरु प्रचार अभियानमा जुटिसकेका छन् भने दोस्रो चरणका लागि कात्तिक १६ गते उमेदबारी दर्ता भई १९ गते नै चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ ।