राष्ट्रसंघबाट राजीनामा दिएर स्वदेश फर्किंदै रमेश खरेल


प्रकाशित मिति : कार्तिक ५, २०७४ आईतबार

५ कात्तिक, काठमाडौं । १८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका डीआईजी रमेश खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किंदै छन् ।

सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी)मा पी-४ अधिकृतका रुपमा उनी कार्यरत थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रुपमा उनी त्यहाँ गएका थिए । यसबीचमा नायब महानिरीक्षक (डीआईजी) बढुवामा परिसकेका छन् ।

फेसबुक स्टाटसमार्फत् डीआईजी खरेलले राष्ट्रसंघीय जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् । उक्त जिम्मेवारीका क्रममा आफूले ४२ मुलुकका चार सय प्रहरी अधिकृतहरुलाई ‘कमान्ड’ गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन् ।

‘यस्तो विशिष्ट अवसर प्रदान गरिदिएकामा नेपाल प्रहरी, गृह मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्रसंघप्रति आभारी छु,’ उनको फेसबुक स्टाटसमा उल्लेख छ, ‘र, द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने अवसर दिने सबैप्रति कृतज्ञ छु ।’

उनले दुई वर्षका लागि उक्त जिम्मेवारी पाएका थिए, जसलाई चार वर्षसम्म लम्व्याउन सकिन्थ्यो । १८ महिनामा सिकेका कुरा स्वदेश फर्केर कार्यान्वयनमा ल्याउने उनले बताएका छन् ।

अवधि बाँकी छँदै खरेलले राजनीमा दिनुमा प्रहरीको भावी नेतृत्वको दौडका रुपमा अर्थ्याइएको छ । ३० वर्षे सेवा अवधिको हद कायमै रहे हालका महानिरीक्षक प्रकास अर्यालसहित उनको ब्याचका सबै अधिकृत आगामी २९ चैतदेखि अनिवार्य अवकाशमा पर्नेछन् ।

त्यसपछि प्रहरीको नेतृत्व खरेलकै ब्याचको हातमा आउने छ । उनीसहित सर्वेन्द्र खनाल, पुष्कर कार्कीलगायत अधिकृत भावी महानिरीक्षकको उम्मेदवार बन्ने छन् ।

खरेल १ फागुन ०४५ मा खेलाडीका रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । खनाल, कार्कीलगायत अधिकृत त्यसको एक वर्षपछि २९ माघ ०४६ मा प्रहरीमा प्रवेश गरेका हुन् । उनीहरुको ब्याचले उछिन्न नखोजे खरेल स्वतः महानिरीक्षक बन्ने बाटो खुल्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com