जालसाजीपूर्ण ‘मेड इन अमेरिका’ लेबल नियन्त्रण गर्न ट्रम्पद्वारा कार्यकारी आदेश जारी


प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी उत्पादक तथा विक्रेताले प्रयोग गर्ने जालसाजीपूर्ण मेड इन अमेरिका लेबलको नियन्त्रण गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसका अनुसार उक्त आदेशको उद्देश्य अमेरिकी उत्पादनको नाममा गरिने भ्रामक दाबीलाई रोक्नु हो।

आदेशअनुसार फेडरल ट्रेड कमिसन (एफटीसी)का अध्यक्षलाई प्राथमिकताका साथ ती उत्पादक र विक्रेतामाथि कारबाही गर्न निर्देशन दिइएको छ, जसले आफ्ना उत्पादनहरू अमेरिका मै बनेको भनेर गलत दाबी गर्छन् वा विद्यमान कानुनको उल्लंघन हुने गरी यस्तै दाबी गर्छन्।

साथै, मूल देश लेबलिङको निगरानी गर्ने सबै सरकारी निकायहरूलाई एफटीसी अध्यक्षसँग समन्वय गरी नयाँ नियमहरू विचार गर्न तथा एकरूप मार्गदर्शन सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।

ट्रम्प प्रशासनले घरेलु उत्पादनलाई प्राथमिकता दिँदै आएकाले कम्पनीहरूको विज्ञापन र बजार प्रवर्द्धनले उत्पादनमा प्रयोग भएका विदेशी तथा अमेरिकी सामग्रीको वास्तविक विवरण सही रूपमा देखाएको छ कि छैन भन्ने सुनिश्चित गर्न सरकार चनाखो रहेको ह्वाइट हाउसले जनाएको छ।

यस आदेशले सरकारी खरिदसम्बन्धी ठेक्का हेर्ने निकायहरूलाई संघीय सरकारलाई बेचिने उत्पादनहरूमा गरिएको अमेरिकी उत्पत्तिको दाबी समय–समयमा जाँच गर्न पनि निर्देशन दिएको छ।

ह्वाइट हाउसका अनुसार आदेश उल्लंघन गर्नेहरूलाई आवश्यक कारबाहीका लागि अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसमा पठाउने व्यवस्था पनि गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com