अमेरिकाको ‘स्वर्ण युग’ सुरु भएको राष्ट्रपति ट्रम्पको घोषणा


प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार

फोटो: एपी/रासस

राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकाको स्वर्ण युग” सुरु भएको घोषणा गरेका छन्। अमेरिकाको २५०औँ वार्षिकोत्सवलाई स्मरण गर्दै उनले देशले अभूतपूर्व परिवर्तन हासिल गरेको दाबी गरे।

आफ्नो दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने, “केवल एक वर्षमै हामीले इतिहासमै नदेखिएको रूपान्तरण गरेका छौँ। अब हामी विगतको अवस्थातर्फ कहिल्यै फर्कने छैनौँ।” उनले आफ्नो कार्यकाललाई ऐतिहासिक उपलब्धिसँग जोड्दै यस्तो दाबी गरेका हुन्।

तीव्र राजनीतिक विभाजनका माझ उनको यो सम्बोधन आएको हो। पहिलो वर्षमा विदेश नीति, आप्रवासन तथा अर्थतन्त्रका विषयमा चालिएका कदमले जनमत झन् विभाजित भएको विश्लेषण गरिएको छ। हालैका सार्वजनिक मत सर्वेक्षणहरूले उनको लोकप्रियता दर नकारात्मक रहेको देखाएका छन्। आप्रवासन र अर्थतन्त्रजस्ता मुद्दामा समेत उनको समर्थन घटेको देखिएको छ।

सम्बोधन हुनुअघि सर्वोच्च अदालतले उनले लागू गरेका केही भन्सार करलाई असंवैधानिक ठहर गर्दै फैसला सुनाएको थियो। त्यस्तै, मिनियापोलिसमा संघीय सुरक्षाकर्मीको कारबाहीमा दुई अमेरिकी नागरिकको ज्यान गएको घटनाले पनि उनको प्रशासनमाथि प्रश्न उठाएको छ।

राष्ट्रपति ट्रम्पले चुनौतीका बाबजुद आफ्नो प्रमुख उपलब्धि आर्थिक क्षेत्रमा भएको दाबी गरे। उनले गत वर्ष लगाइएका भन्सार करको बचाउ गर्दै विदेशी राष्ट्रबाट उठ्ने करले भविष्यमा आयकर प्रणालीलाई प्रतिस्थापन गर्न सक्ने दाबी दोहोर्‍याए। उनका अनुसार यसले आम नागरिकमाथिको करभार घटाउनेछ।

यद्यपि, आर्थिक विज्ञहरूले भन्सार करले आयकरलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सम्भव नभएको र त्यसो गर्नु उपयुक्त पनि नहुने बताउँदै आएका छन्।

ट्रम्पले गत वर्ष पारित गरिएको ठूलो कर कटौती विधेयकको पनि प्रशंसा गरे। उक्त विधेयकमा सबै डेमोक्रेट सांसदले विपक्षमा मतदान गरेको भन्दै उनले विपक्षी दलमाथि आरोप लगाए।

साथै, प्रविधि कम्पनीहरूले ठूलो परिमाणमा विद्युत् खपत गर्ने ‘डाटा सेन्टर’ स्थापना गर्दा स्थानीय समुदायमा मूल्यवृद्धि नहोस् भन्ने उद्देश्यले अतिरिक्त भुक्तानी गर्नुपर्ने “विद्युत् दर संरक्षण प्रतिबद्धता” लागू गर्ने प्रस्ताव उनले अघि सारेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com