चीनले बेलायती नागरिकलाई ३० दिनसम्म बिना भिसा यात्रा अनुमति दिने, व्यापार र लगानी सहकार्य विस्तार


प्रकाशित मिति : माघ १५, २०८२ बिहीबार

बेलायती प्रधानमन्त्री कियर स्टार्मर र चीनका राष्ट्रपति सी जिनपिङ । तस्वीर : कार्ल कोर्ट/एपी-रासस

चीनले बेलायती नागरिकहरूलाई अधिकतम ३० दिनसम्म भिसा बिना देश भ्रमण गर्न अनुमति दिने सहमति जनाएको छ। यो जानकारी डाउनिङ स्ट्रिटले दिएको हो।

प्रधानमन्त्री कियर स्टार्मर र चीनका राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको भेटवार्तापछि उक्त निर्णय सार्वजनिक गरिएको हो। स्टार्मर पछिल्ला आठ वर्षमा चीन भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री बनेका छन्।

बेलायत सरकारले आर्थिक वृद्धि तीव्र बनाउन चीनसँग व्यापारिक सम्बन्ध अझ सुदृढ गर्ने रणनीतिअन्तर्गत यो कदम चालेको जनाएको छ। भिसा-मुक्त यात्राले व्यापार, पर्यटन र जनस्तरको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

यद्यपि, केही आलोचकहरूले चीनसँगको सम्बन्धमा बेलायतले राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम र चीनको मानवअधिकार अवस्थालाई ध्यानमा राख्दै अझ सतर्क रहनुपर्ने धारणा राखेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसा सम्झौता कहिलेदेखि लागू हुनेछ भन्ने ठोस मिति तोकिएको छैन। तर, बेलायत सरकारले यो व्यवस्था यथासक्य छिटो कार्यान्वयनमा आउने आशा व्यक्त गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०२४ मा करिब ६ लाख २० हजार बेलायती नागरिकले चीन यात्रा गरेका थिए। नयाँ व्यवस्थाबाट सयौँ हजार बेलायती नागरिक लाभान्वित हुने अनुमान गरिएको छ।

डाउनिङ स्ट्रिटका अनुसार यस निर्णयसँगै बेलायत फ्रान्स, जर्मनी, इटाली, अस्ट्रेलिया र जापानसहितका ५० अन्य देशहरूसँग समान स्तरमा पुग्नेछ, जहाँका नागरिकलाई चीनले यसअघि नै भिसा-मुक्त प्रवेश सुविधा दिएको छ।

प्रधानमन्त्री स्टार्मरले यस कदमले व्यवसायिक विस्तारलाई सहज बनाउने बताए। उनका अनुसार बेलायती व्यवसायहरूले चीनमा आफ्नो उपस्थितिलाई बढाउन लामो समयदेखि सरल उपायको माग गर्दै आएका थिए। “छोटो अवधिको यात्राका लागि भिसा नियम खुकुलो बनाइँदा व्यवसायहरूलाई चीनमा विस्तार गर्न सजिलो हुनेछ, जसले स्वदेशमै रोजगारी र आर्थिक वृद्धिमा योगदान पुर्‍याउनेछ।” उनले भने।

भेटवार्ताका क्रममा दुवै देशले सेवा सम्झौतासम्बन्धी वार्ता सुरु गर्ने सम्भावना पनि अध्ययन गर्न सहमति जनाएका छन्। यस्तो सम्झौताले चीनमा व्यवसाय गर्ने बेलायती कम्पनीहरूका लागि स्पष्ट र कानुनी रूपमा बाध्यकारी नियमहरू तय गर्नेछ। बेलायत वित्त, स्वास्थ्य सेवा र कानुनी सेवासहितका क्षेत्रमा विश्वको दोस्रो ठूलो सेवा निर्यातक हो, यस क्षेत्रमा चीनबाट माग बढ्दै गएको डाउनिङ स्ट्रिटले जनाएको छ।

सम्झौता भएमा चिनियाँ बजार बेलायती व्यवसायका लागि अझ खुला हुने र विशेषगरी बेलायती पेशागत योग्यताको मान्यता प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

यसै क्रममा चीनले बेलायती ह्विस्कीमा लगाइने आयात कर १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्न पनि सहमति जनाएको छ, जसले बेलायती मदिरा उद्योगलाई लाभ पुर्‍याउने बताइएको छ।

अर्कोतर्फ, औषधि कम्पनी एस्ट्राजेनेकाले सन् २०३० सम्म चीनमा १५ अर्ब अमेरिकी डलर (करिब १० दशमलव ९ अर्ब पाउन्ड) लगानी गर्ने घोषणा गरेको छ। उक्त लगानीअन्तर्गत चीनमा नयाँ उत्पादन केन्द्र स्थापना गरिने र कम्पनीको कार्यबल विस्तार गरिनेछ।

यी निर्णयहरूले बेलायत–चीन सम्बन्धलाई नयाँ दिशा दिने र दुवै देशबीच व्यापार, लगानी तथा जनस्तरको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com