बाइडेनको पालामा भित्रिएका शरणार्थीको पुनः अन्तर्वार्ता लिने तयारीमा ट्रम्प प्रशासन
प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार
राष्ट्रपति जो बाइडेनका पालामा अमेरिका भित्रिएका शरणार्थीहरुको पुनः अन्तरवार्ता लिने तयारीमा ट्रम्प प्रशासन रहेको छ ।शरणार्थीहरुको मुद्धाको विस्तृत समीक्षा अन्तर्गत त्यसरी बाइडेन प्रशासनका बेला भित्रिएकाहरुको अन्तर्वार्ता लिने तयारी गरिएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीहरुलाई कडा गर्ने अभियान अन्तर्गत यसलाई एक महत्वपूर्ण कदमको रुपमा समेत हेरिएको छ ।
अघिल्लो प्रशासनले मानिसहरुको पर्याप्त जाँच गर्न नसकेको निश्कर्षसहित त्यतिबेला भित्रिएकाहरुको पुनः अन्तर्वार्ता लिने तयारी भएको हो । शरणार्थीहरुले आफ्नो देशमा उत्पिडन भएको वा भोगेको वा त्यसको सामना गर्नुपर्ने अवस्था प्रमाणित गर्नुपर्ने र अमेरिका प्रवेश गर्नु अघि कडा जाँच गर्नुपर्ने हुृन्छ ।
आर्थिक वर्ष २०२१ देखि २०२५ को बीचमा प्रकृया पूरा गरेर करीव २ लाख ३७ हजार शरणार्थी अमेरिका प्रवेश गरेको तथ्याङ्क छ ।नोभेम्बर २१ को मेमो अनुसार, शरणार्थीहरूले राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षामा खतरा नपुर्याउने सुनिश्चित गर्न, अमेरिकी नागरिकता तथा अध्यागमनलाई समीक्षा र पुनः अन्तर्वार्ता प्रक्रियाको जिम्मा दिइने अपेक्षा गरिएको छ।
यस अघि पनि अमेरिकाले शरणार्थी प्रकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाउँदै आएको छ । यही सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघमा भएको एक कार्यक्रममा उप विदेशमन्त्री क्रिस ल्याण्डाउले शरणार्थी सम्बन्धी महासन्धी पुराना भएको र यसको व्यापक दुरुपयोग भएको बताएकी थिइन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी मामिलामा कडा नियमहरुलाई पुनरावृत्ति गर्दै आइरहेका छन् । आप्रवासीहरुले अमेरिकालाई असुरक्षित बनाएको र यसको सुरक्षाका लागि कडा कदम चाल्ने उद्घोष गरेका ट्रम्पले सोही अनुसार आफ्नो प्रशासनलाई प्रभावकारी कदम चाल्न लगाइरहेका छन् ।
गतमहिना ट्रम्पले अमेरिकामा शरणार्थी भर्नाको लागि अहिलेसम्मकै सबैभन्दा कम लक्ष्य तोकेका थिए । उनले आर्थिक बर्ष २०२६ मा अधिकतम ७५ सय शरणार्थीहरू लाई मात्र प्रवेश दिने र त्यसमध्ये अधिकांश कोटा श्वेत दक्षिण अफ्रिकीहरूलाई दिनुपर्ने आदेश दिएका थिए । यो संख्या १९८० मा अमेरिकी शरणार्थी कार्यक्रम स्थापना भएदेखिकै सबैभन्दा कम हो।
यो संख्या जर्ज डब्लु बुश र ओबामा प्रशासनको समयमा रहेको ७०,००० देखि ८०,००० को दायराभन्दा निकै कम हो । त्यस्तै राष्ट्रपति बाइडेनको पालामा तोकिएको १ लाख २५ हजारको लक्ष्यको त एक अंश मात्र हो। ट्रम्पको पहिलो प्रशासनको अन्तिम वर्षमा भर्ना भएका त्यतिबेलाको सबैभन्दा कम ११,८१४ शरणार्थी भन्दा पनि यो कम लक्ष्य हो।
परम्परागत रूपमा अमेरिकी शरणार्थी कार्यक्रमले आफ्नो देशमा खतरा वा सतावटबाट भागेकाहरूलाई स्वागत गर्दछ। तर सेप्टेम्बर ३० मा ट्रम्पबाट आएको र गतमहिना फेडरल रजिस्टरमा प्रकाशित भएको निर्णयमा देशले भेदभावको सामना गरिरहेकाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरिएको छ । कार्यकारी आदेश १४२०४ अनुसार भर्ना संख्याहरू मुख्यतया दक्षिण अफ्रिकाका अफ्रिकानरहरू र तिनीहरूको सम्बन्धित मातृभूमिमा अवैध वा अन्यायपूर्ण भेदभावका अन्य पीडितहरू बीच विनियोजन गरिनेछ ।
ट्रम्प प्रशासनले यसअघि नै केही अफ्रिकानरहरूलाई शरणार्थी कार्यक्रम मार्फत भर्ना गरिसकेको छ । ट्रम्पले पहिले पनि यो समूहले घृणायुक्त बयानबाजी र अत्यधिक हिंसाको सामना गरिरहेको बताएका थिए । यद्यपि शरणार्थीहरूको लागि वकालत गर्नेहरूले यो निर्णयलाई विश्वभरका मानिसहरूलाई आश्रय प्रदान गर्न डिजाइन गरिएको कार्यक्रमको दुरुपयोग भएको तर्क गरेका छन्।
दक्षिण अफ्रिका सरकारले पनि अफ्रिकानरहरूको बारेमा ट्रम्पको दाबीलाई पूर्ण रूपमा झूटो भन्दै अस्वीकार गरेको छ। धेरै आलोचकहरूले यो सीमाले ट्रम्प प्रशासनले जातीयतालाई अनुचित रूपमा प्राथमिकता दिएको बताएका छन्।
हाउस र सिनेट न्याय समितिका डेमोक्रेटहरूले यो ट्रम्पको सीमा ९४ प्रतिशतको कटौती भएको र यसले वर्षौंदेखि खराब परिस्थितिमा लाइनमा बसिरहेका दशौं हजार शरणार्थीहरूलाई वेवास्ता गर्ने बताएका छन्। उनीहरूले परामर्श नगरी गरिएको यो निर्णय अवैध र अमान्य भएको पनि दाबी गरेका छन्। ट्रम्पले अमेरिकामा कानुनी रूपमा स्थिति प्राप्त गर्ने धेरै तरिकाहरूलाई सीमित गरेर अध्यागमन घटाउने प्रयास गर्दै आएका छन् ।
बाइडेनको पहिलो वर्षमा सबैभन्दा कम ११,४११ शरणार्थी भर्ना भएका थिए, तर उनको अन्तिम वर्षमा यो संख्या १ लाख भन्दा बढी पुगेको थियो। यो वर्ष अहिलेसम्म अमेरिकाले २७ हजार भन्दा बढी शरणार्थीहरूलाई भर्ना गरेको छ।








