अब ट्याक्स फाइल गर्दा टिप्स र ओभरटाइम आम्दानीमा कसरी कर छुट पाउने? आइआरएसको मार्गदर्शन
प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार
अमेरिकाको आन्तरिक राजस्व सेवा (आइआरएस) ले कर वर्ष २०२५ का लागि टिप्स तथा ओभरटाइम कामबापतको आम्दानीमा कर छुट दाबी गर्न कामदारहरूका लागि मार्गदर्शन जारी गरेको छ। यस मार्गदर्शनमा, आम्दानीमा कर छुट दाबी गर्न सकिने आधारहरू प्रस्ट पारिएको छ। यी कर कटौतीहरु ट्रम्पिको हालैको ‘वन, बिग, ब्युटिफुल बिल ऐन’ अन्तर्गत सिर्जना गरिएका हुन् ।
चालु सन् २०२५ को कर वर्षदेखि, कर्मचारीहरूले योग्य टिप्स तथा योग्य ओभरटाइम पारिश्रमिकका लागि छुट्टै विशेष कर छुट दाबी गर्न सक्नेछन्। तर, डब्ल्यु–टु जस्ता आधिकारिक कर फारमहरू अझै अद्यावधिक नभएकाले आइआरएसले अस्थायी निर्देशन जारी गरेको हो, ताकि करदाताहरूले अझै पनि आफ्नो कर छुट लिन सकून्।
मार्गदर्शन अनुसार, कुनै कामदारले आफ्नो रोजगारदाताबाट नगद टिप्स वा ओभरटाइम गरेबापत छुट रकम कसरी निर्धारण गर्ने भन्ने कुरा उनीहरूले तय गर्न सक्नेछन्। आइआरएसले करदाताहरूक लागि कर छुट फाइल गर्न सहयोग हुने विभिन्न फारमहरू अध्यावधिक गर्ने जनाएको छ।
कामदारहरू योग्यता पुगेका टिप्स प्राप्त भएमा, कर वर्ष २०२५ देखि २०२८ सम्म वार्षिक २५ हजार डलरसम्मको टिप्समा कर छुट पाउनेछन्। १ लाख ५० हजार डलरसम्म आम्दानी भएका एकल र ३ लाख डलरसम्म संयुक्त रुपमा फाइल गर्नेहरूले २५ हजार डलरसम्मको टिप्समा कर छुट पाउनेछन्, भने सोभन्दा बढी आम्दानी हुनेहरूले छुट रकम क्रमशः कम हुँदै जानेछ। टिप्सको रूपमा ज्याला रिपोर्ट गर्ने करीब ६० लाख कामदारहरू रहेको अनुमान गरिएको छ।

टिप्स कर्मचारीमा वेटस्टाफ, बारटेन्डर र होटल कामदारहरू आदि पर्नेछन्। उनीहरूले आफ्नो आयबाट टिप्समा कर छुट पाउन सक्नेछन्। डब्ल्यु–टु फारम हाल अद्यावधिक नभएकाले, आइआरएसले कटौती रकम पत्ता लगाउन डब्ल्यु–टु फारमको टिप्स सेक्सनमा उल्लेख भएको वा रोजगारदातालाई फारम ४०७० प्रयोग गरेर रिपोर्ट गरेको टिप्स रकम मध्ये कुनै एक कुल रकम प्रयोग गर्न सकिने जनाएको छ। त्यस्तै, रोजगारदातालाई रिपोर्ट नगरेको तर फारम ४१३७ प्रयोग गरेर आफ्नो ट्याक्स रिटर्नमा रिपोर्ट गरिरहेको टिप्स रकम पनि समावेश गर्न सकिन्छ।
ओभरटाइम पारिश्रमिकका सन्दर्भमा, योग्य ओभरटाइम आम्दानी परेमा कामदारले आगामी ट्याक्स फाइल गर्दा वार्षिक १२ हजार ५ सय डलरसम्म कटौती गर्न सक्नेछन्। संयुक्त रूपमा फाइल गर्ने विवाहित जोडीहरूले २५ हजार डलरसम्म कटौती गर्न सक्नेछन्। ओभरटाइम कटौतीका लागि रोजगारदाताले उपलब्ध गराएको रिपोर्ट अर्थात् डब्ल्यु–टु फारमको बक्स १४, अन्य सेक्सनहरू वा छुट्टै विवरण प्रयोग गर्न सकिन्छ।
यदि रोजगारदाताले जानकारी नदिएको खण्डमा, कामदारले पेस्लिपका समय रेकर्ड वा आम्दानी विवरणका आधारमा कटौती योग्य रकम छुट्याउनुपर्नेछ। उदाहरणका लागि, टाइम एन्ड ए हाफ ओभरटाइम कुल रकमको एक तिहाइ कटौती योग्य रहेको आइआरएसले जनाएको छ। ओभरटाइम कटौतीमा पनि आय सीमा लागू छ: १ लाख ५० हजार डलरसम्म ट्याक्स फाइल गर्ने एकलले १२ हजार ५ सय डलरसम्म र ३ लाख डलरसम्म संयुक्त फाइल गर्नेहरूले २५ हजार डलरसम्म नै कर छुट पाउनेछन्, तर सोभन्दा बढी आम्दानी हुनेहरूको लागि छुट रकम क्रमशः घट्दै जाने छ।








