कसरी चुनिनेछन् समानुपातिक उम्मेदवार ? (भिडियो)


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

काठमाडौं । देश संघीयतामा प्रवेश गरिसकेपछि नयाँ निर्वाचन क्षेत्र तय भएको छ । अब, नयाँ निर्वाचन क्षेत्र अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनेछ । एकै पटक निर्वाचन हुने भए पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टा–छुट्टै निर्वाचन क्षेत्र तोकिएको छ । प्रतिनिधिसभाको निर्वाचन क्षेत्रभन्दा प्रदेशसभाको निर्वाचन क्षेत्रको संख्या धेरै छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा समानुपातिक प्रणालीमा समेत निर्वाचन हुन्छ । प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन बाँकी नै छ । तर, निर्वाचन तालिका अनुसार राजनीतिक दलले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । प्रत्यक्ष तर्फ चुनावी मैदानमा रहेका उम्मेदवार आम मतदाताको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् । तर, समानुपातिक तर्फको उम्मेदवार भने आफ्नो राजनीतिक दलले पाएको एकमुष्ट मतको आधारमा चुनिने छन् ।

नेपालमा हुने सबै निर्वाचनमा समावेशी प्रणाली लागु हुन्छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि समावेशी निर्वाचन पद्धती प्रयोग भएको थियो । स्थानीय तहको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली भने लागु भएन । तर, मंसिरमा सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने समानुपातिक प्रणालीमा समेत निर्वाचन हुनेछ । समानुपातिक निर्वाचन प्रणालीमा निश्चित समुदाय जसरी पनि निर्वाचित हुनपर्ने व्यवस्था छ । जुन व्यवस्थाबाट, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, मुस्लिम र थारू समुदायको प्रतिनिधित्व सुनिश्चित हुनेछ । यी समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न संविधान अनुसार राजनीतिक दल बाध्य हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि नेपालमा पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली प्रयोग गरिएकोे थियो । संविधानसभाको निर्वाचनमार्फत समानुपातिक तर्फको उम्मेदवार निर्वाचित हुनका लागि समग्र पार्टीले पाएको मत मुख्य आधार थियो । अब हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि दलले प्राप्त गर्ने मतकै आधारमा समानुपातिक तर्फको उम्मेदवार निर्वाचित हुनेछन् । समानुपातिक र प्रत्यक्ष दुबै तर्फको निर्वाचनका लागि हरेक निर्वाचन क्षेत्रबाट दुई उम्मेदवार हुन्छ । एक समानुपातिक उम्मेदवार हुन भने अर्का प्रत्यक्ष तर्फका हुन्छन् ।

प्रतिनिधिसभामा कति निर्वाचित हुन्छन् ?
मंसिर १० र २१ हुने प्रतिनिधिसभाको निर्वाचन मार्फत जम्मा २७५ जना प्रतिनिधि निर्वाचित हुनेछन् । जुन प्रतिनिधि मध्ये प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुने छन भने समानुपालिक तर्फबाट ११० जना प्रतिनिधि चुनिने छन् । प्रत्यक्ष तर्फका १६५ उम्मेदवार आम मतदाताको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् भने समानुपातिक तर्फका उम्मदवार सम्बन्धित पार्टीले प्राप्त गरेको कुल मतको आधारमा निर्वाचित हुनेछन् ।

प्रदेशसभामा कति निर्वाचित हुन्छन् ?
प्रतिनिधिसभामा निर्वाचित हुने प्रतिनिधिको संख्याभन्दा प्रदेशसभामा निर्वाचित हुनेको संख्या बढी हुनेछन् । किनकी, प्रतिनिधिसभाभन्दा प्रदेशसभाको निर्वाचन क्षेत्र बढी छ । पछिल्लो व्यवस्था अनुसार ७ वटा प्रदेशसभामा प्रत्यक्ष तर्फ ३३० सदस्य निर्वाचित हुनेछन् भने समानुपातिक तर्फबाट २२० जना प्रतिनिधि चुनिने छन् । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मार्फत कुल ८ सय २५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।

प्रतिनिधिसभामा कुन प्रदेशबाट कति ?
प्रतिनिधिसभाको निर्वाचन मार्फत प्रत्यक्ष तर्फ निर्वाचित हुने १६५ जना मध्ये प्रदेश नम्बर १ बाट २८ जना, प्रदेश नम्बर २ बाट ३२, प्रदेश नम्बर ३ बाट ३३ र प्रदेश नम्बर ४ बाट १८ जना रहनेछन् । त्यस्तै, प्रदेश नम्बर ५ बाट २६ जना, प्रदेश नम्बर ६ बाट १२ जना र प्रदेश नम्बर ७ बाट १६ जना निर्वाचित हुनेछन् । त्यस्तै, समानुपातिक तर्फ सातै वटा प्रदेशबाट १ सय १० जना प्रतिनिधि चुनिनेछन् ।

प्रत्यक्ष तर्फ कुन प्रदेशमा कति प्रतिनिधि ?
निर्वाचन क्षेत्र धेरै भएकाले प्रतिनिधिसभाको तुलनामा प्रदेशसभामा धेरै प्रतिनिधि निर्वाचित हुनेछन् । प्रत्यक्ष तर्फ प्रदेश नम्बर १ मा ५६ जना प्रदेश प्रतिनिधि निर्वाचित हुनेछन् भने, प्रदेश नम्बर २ मा ६४, प्रदेश नम्बर ३ मा ६६ र प्रदेश नम्बर ४ मा ३६ जना प्रतिनिधि निर्वाचित हुनेछन् । त्यस्तै, प्रदेश नम्बर ५ बाट ५२ जना, प्रदेश नम्बर ६ बाट १६ जना र प्रदेश नम्बर ७ बाट ३२ जना गरी जम्मा ३ सय ३० जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

समानुपातिक तर्फ कुन प्रदेशमा कति प्रतिनिधि ?
प्रदेशसभाको निर्वाचन मार्फत समानुपातिक तर्फ प्रदेश नम्बर १ बाट ३७ जना, प्रदेश नम्बर २ बाट ४२, प्रदेश नम्बर ३ बाट ४४ र प्रदेश नम्बर ४ बाट २४ जना समानुपातिक प्रतिनिधि चुनिनेछन् । त्यस्तै, प्रदेश नम्बर ५ बाट ३५ जना, प्रदेश नम्बर ६ बाट १६ जना र प्रदेश नम्बर ७ बाट २१ जना गरी २ सय २० जना समानुपातिक उम्मेदवार निर्वाचित हुनेछन् ।

कति मत बराबर एक कति सिट ?
प्रतिनिधिसभाको हकमा समानुपातिक तर्फका उम्मेदवार देशभरबाट सम्बन्धित राजनीतिक दलले प्राप्त गरेको मतको आधारमा पार्टीले सिफारिस गरेपछि निर्वाचित हुनेछन् । त्यस्तै, प्रदेशसभाको हकमा सम्बन्धित प्रदेशभित्र दलले प्राप्त गरेको कुल सदर मतको आधारमा बन्दसूचीमा सूचीकृत उम्मेदवार मध्येबाट राजनीतिक दलको सिफारिसमा निर्वाचन आयोगले निर्वाचित उम्मेदवार घोषणा गर्नेछ ।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा एक सिट जित्नका लागि राजनीतिक दलले प्राप्त गरेको सदर मतको कम्तिमा तीन प्रतिशत मत आवश्यक हुनेछ । त्यस्तै, प्रदेशसभामा सम्बन्धित प्रदेशमा राजनीतिक दलले प्राप्त गरेको कुल सरद मतको कम्तिमा १ दशमलव ५ प्रतिशत बराबर एक सिट पाउनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com