अमेरिकाले फिफा विश्वकप दर्शकलाई भिसामा ‘फास्ट ट्रयाक’ सुविधा दिने


प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार

फिफा विश्वकपमा हेर्न आउँनेहरुका निम्ति अमेरिकी सरकारले भिजा अपोइन्टमेन्टमा प्राथमिकता दिने भएको छ । अमेरिकी विदेश मन्त्रालयले २०२६ को सुरुवातबाट त्यसरी प्राथमिकता दिने गरी भिजा अपोइन्टमेन्ट सिस्टम सुरु गर्न लागेको हो ।

विश्वकपको टिकट भएका व्यक्तिहरुले अब प्राथमिकताका साथ भिजा अन्तर्वार्ता स्लटहरु पाउने छन् । यसको निम्ति प्रणाली सुरु गरिने तय भएको हो ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रमका क्रममा यस्तो तय भएको फिफाले जानकारी दिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी विदेश मन्त्री मार्को रुबियो, अमेरिकी होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएम, ह्वाइट हाउस टास्क फोर्स र फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उपस्थिति रहेको थियो ।

सो क्रममा अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा खेलहरू हेर्न आउने फिफा विश्वकप २०२६ का टिकट धारकहरूका लागि फिफा प्राथमिकता अपोइन्टमेन्ट समय तालिका प्रणालीको अनावरण गरेको फिफाले जानकारी दिएको छ । मेक्सिकोका तीन शहर र क्यानाडाका दुई शहरसहित पहिलो पटक ४८ टोली सम्मिलित फिफा विश्वकप भरि संयुक्त राज्य अमेरिकाका ११ शहरहरूले ७८ खेलहरूको आयोजना गर्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घोषणापछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, “अमेरिकाले विश्वलाई स्वागत गर्दछ। हामीले सधैं भनेका छौं कि यो इतिहासकै सबैभन्दा महान् र सबैभन्दा समावेशी फिफा विश्वकप हुनेछ । म राष्ट्रपति डोनाल्ड जे। ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, अमेरिकी विदेश मन्त्री मार्को रुबियोसमेतलाई आभार व्यक्त गर्दछु ।”

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले विश्व कप आयोजना गर्न पाउँदा सम्मानित महसुस गरिएको बताए । सो क्रममा रुबियोले फिफा विश्वकपका प्रशंसकहरूले आफ्नो भिसा अन्तर्वार्ता पूरा गर्न र आफू योग्य भएको देखाउन सकून्, त्यसका लागि अपोइन्टमेन्ट स्लटहरु प्राथमिकताका साथ उपलब्ध हुनेछ ।

क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ आयोजक शहरहरूमा आयोजना हुने फिफा विश्वकप २०२६ मा ६० लाखभन्दा बढी टिकटहरू उपलब्ध हुनेछन्। यस वर्षको सुरुमा, फिफा र विश्व व्यापार संगठन सचिवालयले जारी गरेको एक अध्ययनले फिफा विश्वकप २०२६ ले अमेरिकाभरि ठूलो सामाजिक-आर्थिक प्रभावलाई रेखांकित गरेको थियो। सो अध्ययन अनुसार, प्रतियोगिताले अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा १७.२ बिलियन अमेरिकी डलरको योगदान पुर्याउनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com