अब उपत्यका बाहिर पनि अनलाईनबाटै विद्युत् महसुल भुक्तानि;यसरि बुझाउनुहोस् महसुल


प्रकाशित मिति : आश्विन २९, २०७४ आईतबार

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले अनलाइनमार्फत् विद्युत्को महसुस भुक्तानी सेवा शुरु गरेको छ । यो सेवा शुरु गरेसँगै बढ्दो ग्राहक संख्या र जनशक्ति अभावमा विद्युत् महसुल तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

केन्द्रले यसअघि कार्यालय परिसरमा काउन्टरबाट र निश्चित बैंकमार्फत् मात्रै बिल भुक्तानी गर्ने व्यवस्था गरेकोमा असोज महिनाबाट अनलाइनबाट समेत भुक्तानी सेवा शुरु गरेको केन्द्रले जनाएको छ ।

केन्द्रले ई–सेवा प्रालि र पे–प्वाइन्टमार्फत् पनि बिल भुक्तानी गर्ने व्यवस्था गरिएको जनाएको छ । केन्द्रका प्रमुख रामदुलार यादवले प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सिएफएस रेमिट प्रालि, सिटी एक्सप्रेस, महालक्ष्मी विकास बैंक र हिमालयन बैंकबाट पनि बिल भुक्तानी गर्न सकिने जानकारी दिनुभयो ।

केन्द्रले मिटररिडिङ गरेपछि ग्राहकको उक्त विवरण प्रणालीमा अपलोड गर्ने र सोही प्रणालीका आधारमा अनलाइन सेवा प्रदायक कम्पनी र बैंकहरुले भुक्तानी लिने यादवले बताउनुभयो ।

केन्द्रले तोकेको समयमा विद्युत् महसुल बुझाएमा अनलाइन र बैंकमार्फत् भुक्तानी गर्दा समेत कार्यालयले दिने गरेको छुट पाइने र अतिरिक्त शुल्क पनि तिर्न नपर्ने केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले बताए ।

अनलाइन बिल भुक्तानी सेवा प्रारम्भ गरेपछि सेवाग्राहीले घरमै बसिबसी मोबाइल एप्लिकेशनको माध्यमबाट विद्युत् महसुल बुझाउन पाउने पौडेलको भनाइ थियो ।

यसअघि भरतपुर वितरण केन्द्रमा लामो समय लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने बाध्यता रहेको थियो । सेवाग्राहीले विद्युत् महसुल बुझाउँदा तीन÷चार घण्टा लाइनमा बस्नुपर्ने गुनासो गर्दै आएका थिए । भरतपुर वितरण केन्द्रमा ७४ हजार सेवाग्राही रहेका छन् ।

नेपाल विद्युत प्राधिकरणले यसअघि काठमाडौँं, पोखरालगायतका शहरमा पनि अनलाइन भुक्तानी सेवा शुरु गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com