अमेरिकी सरकार शटडाउनका कारण करोडौँ नागरिक प्रभावित, रोकिँदै खाद्य सहायता कार्यक्रम
प्रकाशित मिति : कार्तिक ९, २०८२ आईतबार
अमेरिकी संघीय सरकारको लामो शटडाउनका कारण करोडौँ नागरिक प्रभावित हुने भएका छन्।
अमेरिकी डिपार्टमेन्ट अफ एग्रिकल्चरले शनिबार घोषणा गर्दै आगामी नोभेम्बर महिनामा खाद्य सहायता कार्यक्रमअन्तर्गतका लाभहरू वितरण नहुने जनाएको छ।
हाल सरकार शटडाउन भएको २५ दिन पुगेको छ। तर, सरकार पुनः सञ्चालन गर्न आवश्यक कोष कसरी जुटाउने भन्ने विषयमा रिपब्लिकन र डेमोक्र्याट नेताहरूबीच अझै सहमति बन्न सकेको छैन।
डिपार्टमेन्ट अफ एग्रिकल्चरले आफ्नो वेबसाइटमा लेख्दै भनेको छ, “मुख्य कुरा, स्रोत सकिएको छ। यस समयमा नोभेम्बर १ मा कुनै पनि लाभ वितरण गरिने छैन।”
यूएसडीएका तथ्यांकअनुसार अमेरिकाभर ४१ मिलियनभन्दा बढी नागरिक मासिक रूपमा यो कार्यक्रमको खाद्य सहायता भुक्तानीमा निर्भर छन्। केही राज्यहरूमा (जस्तैः न्यू मेक्सिको) यो निर्भरता कुल जनसंख्याको २१ प्रतिशतसम्म पुगेको छ।
यसअघि, अमेरिकी प्रतिनिधि सभाका २०० भन्दा बढी डेमोक्र्याट सांसदहरूले यूएसडीएलाई आपतकालीन कोष प्रयोग गरी नोभेम्बरका लागि खाद्य सहायता उपलब्ध गराउन आग्रह गरेका थिए। तर, रायटर्सले उद्धृत गरेको यूएसडीएको एक ज्ञापनअनुसार विभागले उक्त प्रस्ताव अस्वीकार गरेको छ।
यता, लुइजियाना र भर्जिनियाका गभर्नरहरूले पूरक पोषण सहायता कार्यक्रम लाभ वितरण नहुने सम्भावनालाई ध्यानमा राख्दै भोकमरी राहतका लागि आपतकालीन अवस्था घोषणा गरेका छन्।
शटडाउन जारी रहँदा संघीय निकायहरूको सेवा प्रभावित भइरहेको छ, जसले कमजोर आर्थिक वर्गका नागरिकहरूमा थप संकट ल्याउने चिन्ता बढाएको छ।






