ओस्कर बोर्डद्वारा हार्भी वाइन्स्टिन निष्कासित


प्रकाशित मिति : आश्विन २९, २०७४ आईतबार

निलम्बन
युकेको संस्था बाफ्टाले वाइन्सटिनलाई निलम्बन गरिसकेको छ

ओस्कर आयोजना गर्ने संस्था द युएस एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले चलचित्र निर्माता हार्भी वाइन्स्टिनविरुद्ध यौन दुर्व्यवहारका अनेकौं आरोपहरु आएपछि उनलाई निष्कासित गर्न मतदान गरेको छ।

उनलाई निष्कासन गर्न आवश्यक दुई तिहाइभन्दा बढी मत प्राप्त भएको ओस्करले जनाएको छ।

हलिवुडका टम ह्याङ्क्स र हुपी गोल्डबर्ग लगायतका वरिष्ठ व्यक्तिहरु ओस्करका सदस्य हुन्।

वाइन्स्टिनका फिल्महरु ३०० भन्दा बढि ओस्कर नोमिनेशनमा परेका थिए र ८० वटा पुरस्कार पाउन सफल भएका थिए।

सन्देश

एकेडेमीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आफ्ना सहकर्मीहरुलाई सम्मान नगर्ने एकजना व्यक्तिलाई पृथक बनाइएको मात्र होइन बरु जानजानी नजानेजस्तो गर्ने, यौन परभक्षीको व्यवहार गर्ने, लाजमर्दो व्यवहारमा सहभागी हुने र कार्यस्थलमा दुर्व्यवहारको युग अब अन्त्य भएको सन्देश दिनु हो।”

नायिकाहरु एन्जेलिना जोली, ग्वीनिथ पेल्ट्रो, रोज म्याकगोवेन लगायत दुइ दर्जनभन्दा बढी महिलाहरुले आफूमाथि होटलको कोठामा बलात्कार गरेको भन्ने आरोप वाइन्स्टिनविरुद्ध लगाएका थिए।

अमेरिका र ब्रिटेनका प्रहरीले आरोपहरुको अनुसन्धान गरिरहेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com