नेपालमा पदयात्रा अनुमति पूर्ण अनलाइन, कुनै कर्मचारी वा दलालसँग सम्पर्क नगर्न आग्रह
प्रकाशित मिति : कार्तिक ३, २०८२ सोमबार
नेपालको अध्यागमन विभागले पर्यटक पहिचान व्यवस्थापन प्रणाली कार्डको अनुमति प्रदान गर्ने प्रक्रियालाई पूर्ण रूपमा अनलाइन पोर्टलमार्फत सञ्चालन गर्ने व्यवस्था गरेको छ। प्रारम्भिक चरणमा पर्यटक तथा एजेन्सीहरूलाई सहजता प्रदान गर्न एजेन्सी शाखाका कर्मचारीहरूले प्रत्यक्ष सहयोग गर्दै आएका थिए। तर, प्रत्यक्ष सम्पर्कबाट हुने विचौलियाको हस्तक्षेपले सुशासन र पारदर्शितामा बाधा पुगेको पाइएपछि विभागले यस्ता क्रियाकलापलाई कडाइका साथ निषेध गरेको जनाएको छ।
विभागले सबै सेवाग्राहीहरूलाई अनलाइन पोर्टलमार्फत् नै आवेदन पेश गर्न र कुनै कर्मचारी वा दलालसँग सम्पर्क नगर्न आग्रह गरेको छ। यसले उत्तरदायित्वपूर्ण र निष्पक्ष सेवाको लक्ष्य हासिल गर्ने विभागको अपेक्षा छ । एजेन्सीहरूले पेश गरेको अनलाइन आवेदन एक कार्यदिनभित्रै प्रक्रिया गरिने विभागले जनाएको छ। दिउँसो ३ बजेपछि प्राप्त आवेदनहरू अर्को कार्यदिनको १ बजे सम्म सम्पन्न हुने विभागको भनाई छ ।
राजस्व भुक्तानी भएका आवेदनहरूको कार्ड सोही समयमा अनलाइन पोर्टलमा डाउनलोड गर्न सकिनेछ। कुनै प्राविधिक वा अन्य समस्या भए पोर्टलमा उल्लेखित हेल्पलाइन नम्बरमा सम्पर्क गर्न सकिन्छ । फोन नउठेमा ह्वाट्सएप वा भाइबर मार्फत सन्देश पठाउन सकिने व्यवस्था समेत गरिएको छ। सार्वजनिक बिदा तथा कार्यालय समयबाहेक उद्धारबाहेकका नियमित सेवाहरू सञ्चालन नहुने विभागले जनाएको छ ।
कागजात अपूर्ण वा शुल्क नपुर्याएमा अनुमति अस्वीकृत हुने र अनलाइनमै कारणसहित सूचना दिइने विभागको भनाई छ । तसर्थ सबै आवश्यक कागजात र शुल्क पूरा गरी मात्र आवेदन दिन सावधानी अपनाउन आह्वान गरिएको छ ।
१ अप्रिल २०२३ देखि लागू भएको नीतिअनुसार नेपालमा विदेशी पर्यटकहरूलाई गाइड वा ट्रेकिङ एजेन्सी बिना स्वतन्त्र पदयात्रा गर्न निषेध गरिएको हो । २०१९ मा करिब ५० हजार पर्यटकहरूले गाइडबिना पदयात्रा गरेको तथ्यांक छ, जसले गर्दा पर्यटक हराउने, उनीहरूको गतिविधि ट्र्याक गर्न कठिनाइ र सुरक्षाको जोखिम बढेको थियो।
पदयात्राका लागि गाइड अनिवार्यको नीतिले पदयात्रालाई सुरक्षित, मर्यादित र पर्यावरणीय रूपमा दिगो बनाउने उद्देश्य राखिएको हो। गाइडबिना पर्यटक पहिचान व्यवस्थापन प्रणाली कार्ड लिन नपाइने भएकाले सबै पर्यटकहरूले अधिकृत ट्रेकिङ कम्पनीमार्फत् अनलाइन आवेदन पेश गर्नुपर्नेछ। यसले भौतिक उपस्थितिको आवश्यकता हटाएर प्रक्रियालाई सरल र छिटो बनाएको विभागको भनाई छ। विभागले सबै सम्बन्धित पक्षलाई अनलाइन प्रणालीको पूर्ण उपयोग गर्न र अवैध गतिविधिबाट टाढा रहन अपिल समेत गरेको छ।

माउन्टेन बाइकमा अन्नपूर्ण सर्किट ट्रेक वा यस्तै ट्रेक गर्न चाहेमा सबै ट्रेकहरूले अप्रिल २०२३ देखि लागु भएको नयाँ नियमको पालना गर्नुपर्ने नेपाल पर्यटन बोर्डले प्रष्ट पारेको छ । माउन्टेन बाइकमा ट्रेक गर्न चाहने व्यक्तिलाई साथ दिन गाइडका लागि नेपालको ट्रेकिङ एजेन्सीसँग सम्पर्क गर्न सकिनेछ । यो नियम सबै विदेशी पदयात्रीहरूका लागि लागू गरिएको छ ।
चामे, मुक्तिनाथ जस्ता राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्रभित्र पर्ने सबै क्षेत्रमा पर्यटक पहिचान व्यवस्थापन प्रणाली कार्ड चाहिने साथै यी सबै क्षेत्रहरूमा पनि एजेन्सीमार्फत गाइड र अनुमतिपत्र लिनुपर्ने पर्यटन बोर्डले प्रष्ट पारेको छ । काठमाडौँ वरपर वा सारङ्कोट हाइकिङ गर्दा भने यो नियम लागू नहुने जनाइएको छ । सरकारले पर्यटक पहिचान व्यवस्थापन प्रणाली कार्ड लागू हुने क्षेत्रहरू तोकेकाले यो नियम पहाडी क्षेत्रका सबै राष्ट्रिय निकुञ्ज क्षेत्रहरूमा लागू हुन्छ। तर काठमाडौँ उपत्यकाको बाहिरी क्षेत्र, पोखराको बाहिरी क्षेत्र र प्रमुख सहरहरू वरपरका हाइकिङ क्षेत्रहरूमा यो नियम लागू नहुने प्रष्ट पारिएको छ ।
सरकारले दर्ता गरेको ट्रेकिङ एजेन्सीमार्फत इजाजतप्राप्त ट्रेकिङ गाइडलाई काममा लगाउनु अनिवार्य छ। आफ्नै गाइड भएरमात्र हुँदैन । ट्रेकिङ एजेन्सी वैध भए नभएको पत्ता लगाउन पर्यटन विभाग र नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसनको वेवसाइटमा हेर्न सकिन्छ । नयाँ नियम पालना नगर्नु दण्डनीय अपराध रहेको पर्यटन बोर्डले प्रष्ट पारेको छ ।
ट्रेल रनर र फास्ट प्याकरहरुका लागि पनि यो नियम लागू हुन्छ। त्यसैले विशेष आवश्यकता अनुसारको गाइड प्रदान गर्न सक्ने नसक्ने कुरा ट्रेकिङ एजेन्सीबाट सुनिश्चित गर्नुपर्छ। यो नियम कूटनीतिज्ञहरूका साथै नेपालमा बसोबास गर्ने विदेशीहरू सबैलाई पनि लागू हुन्छ। तर यो नियम नेपाली नागरिकहरूलाई भने लागू हुँदैन। गाइडको नियम मुक्तिनाथको मोटरसाइकल यात्रा वा बस यात्रामा लागू नभएपनि त्यहाँ जानेहरुले पनि पर्यटक पहिचान व्यवस्थापन प्रणाली कार्ड र अन्नपूर्ण क्षेत्रको अनुमतिपत्र भने लिनुपर्ने जनाइएको छ ।
पर्यटक पहिचान व्यवस्थापन प्रणाली कार्ड र अनुमतिपत्र चाहिने क्षेत्रहरूमा नामकञ्चनजङ्घा क्षेत्रका सेले ला पास हुँदै कञ्चनजङ्घा आधार शिविर ट्रेक, कञ्चनजङ्घा आधार शिविर ट्रेक, कञ्चनजङ्घा आधार शिविर नाङ्गो पास ट्रेक, लुम्बा सुम्बा पास ट्रेक रहेका छन् । त्यस्तै मकालु बरुण क्षेत्रमा मकालु आधार शिविर ट्रेक, शेर्पेनी कोल पास ट्रेक रहेका छन् ।
सगरमाथा क्षेत्रमा सगरमाथा आधार शिविर ट्रेक, गोक्यो ट्रेक, च्हो ला पास ट्रेक, गोक्यो रेन्जो ला पास ट्रेक, तीन पास ट्रेक, सगरमाथा भ्यू ट्रेक, मेरा पिक ट्रेक, आम्फु लाब्त्शा पास रहेका छन् । रोलवालिङ क्षेत्रमा रोलवालिङ ट्रेक, ताशी लाब्त्शा पास ट्रेक रहेका छन् भने पाँचपोखरी भैरवकुण्ड क्षेत्रको पाँचपोखरी ट्रेक पनि रहेको छ । हेलम्बु क्षेत्रमा हेलम्बु ट्रेक, गोसाइँकुण्ड ट्रेक रहेको छ भने लाङटाङ क्षेत्रमा लाङटाङ ट्रेक, लाङटाङ गोसाइँकुण्ड ट्रेक, तामाङ हेरिटेज ट्रेक, तामाङ हेरिटेज लाङटाङ ट्रेक, गन्जा ला पास ट्रेक, टिलम्यान पास रहेका छन् ।
गणेश हिमाल रूबी भ्याली क्षेत्रमा गणेश हिमाल रूबी भ्याली ट्रेक र मनास्लु क्षेत्रमा मनास्लु सर्किट ट्रेक, मनास्लु चुम भ्याली ट्रेक, चुम भ्याली ट्रेक रहेका छन् । अन्नपूर्ण क्षेत्रमा अन्नपूर्ण सर्किट ट्रेक, नार फु अन्नपूर्ण सर्किट ट्रेक , मेसोकान्तो तिलिचो पास ट्रेक , पुन हिल एबीसी ट्रेक, खोप्रा ट्रेक, मर्दी हिमाल ट्रेक, सिक्लेस तारा हिल ट्रेक रहेका छन् । मुस्ताङ क्षेत्रमा माथिल्लो मुस्ताङ ट्रेक, सरेबुङ पास ट्रेक रहेका छन् भने धौलागिरी क्षेत्रमा धौलागिरी परिक्रमा, डोल्पो क्षेत्रमा माथिल्लो डोल्पो जोमसोम ट्रेक , माथिल्लो डोल्पो ट्रेक, तल्लो डोल्पो ट्रेकर कागमार पास ट्रेक रहेका छन् । हुम्ला क्षेत्रमा हुम्ला लिमी भ्याली ट्रेक रहेको छ ।
नेपालमा पदयात्रा गर्न चाहने एक इच्छुक पदयात्रीले गर्नुपर्ने पहिलो कुरा भनेको पदयात्रा गर्न चाहेको मार्गमा पदयात्रा गाइड र पर्यटक पहिचान व्यवस्थापन प्रणाली कार्ड आवश्यक छ कि छैन भनेर पत्ता लगाउनु रहेको नेपाल पर्यटन बोर्डको भनाई छ । यदि गाइड र कार्ड चाहिने भएमा पदयात्रा गाइड र कार्डको व्यवस्था गर्न सरकारी दर्ता भएको पदयात्रा एजेन्सीलाई सम्पर्क गर्न सुझाव दिइएको छ ।
कार्ड खरिद गर्न एजेन्सीहरूले पदयात्री, गाइड र पदयात्रा मार्गहरूको विवरण सहितको दर्ता फारम भर्नु पर्नेछ। कार्डका लागि सार्क र दक्षिण एसियाली देशका नागरिकहरू लागि नेपाली रुपिया १ हजार र अन्यका लागि २ हजार शुल्क तोकिएको छ । यो रकम अनलाइन भुक्तानी गर्न सकिन्छ।








