यो बर्ष विदेश बसेर १ लाख ३० हजार डलरसम्म कमाउनेले अमेरिकामा कर तिर्न नपर्ने, अर्को बर्ष कति?
प्रकाशित मिति : आश्विन २२, २०८२ बिहीबार
कर बर्ष २०२५ मा बर्षको ३३० दिनभन्दा धेरै विदेश बस्नेले अमेरिकामा १ लाख ३० हजार डलर सम्मको आम्दानीको रकममा ट्याक्स तिर्न नपर्ने प्रावधान रहेकोमा कर बर्ष २०२६ का लागि यो रकम बढाएर १ लाख ३२ हजार ९ सय बनाइएको बिहिबार आईआरएसले घोषणा गरेको छ । १२ महिनाको अवधिमा कम्तीमा ३३० दिन विदेशमा बसेको व्यक्तिले विदेशमा कमाएको रकममा कर छुट प्राप्त गर्नेछन् ।
त्यसका लागि कुनै बर्षको १२ महिना हुन आवश्यक छैन, दुईबर्षको १२ महिनापनि हुनसक्छ । उदाहरणका लागि २०२५ को जुन महिनादेखि २०२६ को जुन महिनासम्म १२ महिनाको अवधिमा ३३० दिनभन्दा बढी अमेरिकाबाहिर बसेको भएतापनि यो रकम २०२५ र २०२६ को ट्याक्समा छुट पाउन सकिन्छ ।
यदि कुनै कारणवश अमेरिकामा १२ महिनाको अवधिमा ३४ दिनभन्दा बढी बस्नु परेको खण्डमा भने विदेशमा कमाएको आम्दानीको ट्याक्स तिर्न नपर्ने छुट गुम्न सक्छ । विदेशमा कमाएको आम्दानीमा छुट पाउनका लागि उक्त देशमा बैध रुपमा काम गर्ने अधिकारप्राप्त हुनुपर्छ ।
पूर्ण ट्याक्स बर्षलाई प्रतिनिधित्व गर्ने निर्वाध अवधिसम्म कुनै विदेशी मुलुकको वास्तविक निवासी रहेको अमेरिकी नागरिकले पनि विदेशमा गरेको आम्दानीमा कर छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै अमेरिकाको आयकर सम्बन्धि सन्धी सम्झौता भएको मुलुकको नागरिक अमेरिकाको बासिन्दा भएको खण्डमा पनि उसले विदेशमा कमाएको आम्दानीमा करछुट हुनसक्छ । तर त्यो व्यक्ति पूर्ण ट्याक्स बर्षलाई प्रतिनिधित्व गर्ने निर्वाध अवधिसम्म विदेशी मुलुकमा बसेको हुनुपर्छ ।
सन् २०१९ मा १ लाख ५ हजार ९ सय डलरसम्म र सन् २०२० मा १ लाख ७ हजार ६ सय डलरसम्म विदेशमा कमाएको आम्दानीमा छुटको प्रावधान रहेको थियो । त्यस्तै २०२१ मा १ लाख ८ हजार ७ सयको थ्रेसहोल्ड रहेकोमा २०२२ का लागि १ लाख १२ हजारसम्म विदेशमा कमाएको आम्दानीमा छुटको प्रावधान रहेको थियो । २०२३ मा यो थ्रेसहोल्ड १ लाख २० हजार थियो भने २०२४ का लागि यो थ्रेसहोल्ड १ लाख २६ हजार ५ सय थियो ।








