उच्च कपीराइट अधिकारी हटाउने ट्रम्प प्रशासनको निर्णयमा अदालतको रोक
प्रकाशित मिति : भाद्र २५, २०८२ बिहीबार
फोटो : टिन्गी इन्जुरी ल फर्म
ट्रम्प प्रशासनले अमेरिकाको उच्च कपीराइट अधिकारी, शिरा पर्लमटरलाई हटाउने निर्णयमा अमेरिकी फेडेरल अपिल अदालतले रोक लगाएको छ ।
कपीराइट अधिकारी भन्नाले कुनै देश वा संस्थामा कपीराइट (मौलिक अधिकार) सम्बन्धी नीति, नियम, दर्ता प्रक्रिया र बौद्धिक सम्पत्ति अधिकारको कार्यान्वयनमा नेतृत्व गर्ने उच्च पदाधिकारीलाई जनाउँछ ।
सन् २०२० मा लाइब्रेरी अफ कंग्रेसका पुस्तकालयाध्यक्षद्वारा नियुक्त भएकी पर्लमटरलाई ट्रम्प प्रशासनले मे महिनामा बर्खास्त गरेको थियो । पर्लमटरले कृत्रिम बौद्धिकताको प्रयोगबारे कंग्रेसलाई बुझाएको प्रतिवेदन ट्रम्प प्रशासनलाई मन नपरेको कारण उनलाई बर्खास्त गरिएको जनाइएको छ ।
डिसी सर्किट कोर्ट अफ अपिल्सको एक प्यानलले २-१ को बहुमतले कपीराइट रजिस्टर विधायिका शाखा अन्तर्गत पर्ने ठहर गरेको छ ।
यसैले, उनलाई सिनेटद्वारा पुष्टि भएका लाइब्रेरियन अफ कंग्रेसले मात्र हटाउन सक्ने अदालतको आदेशमा उल्लेख छ । यसको अर्थ, राष्ट्रपतिले कपीराइट अधिकारीलाई हटाउने अधिकार राख्दैनन् ।
तत्कालीन डेपुटी अटर्नी जनरल तथा ट्रम्पका पूर्व निजी वकिल टड ब्लाञ्चलाई कार्यवाहक लाइब्रेरियन अफ कंग्रेस बनाएर पर्लमटरको ठाउँमा न्याय मन्त्रालयका अर्का अधिकारी पल पर्किन्सलाई नियुक्त गरिएको थियो ।
अदालतले ब्लाञ्चको नियुक्ति पनि अवैध हुने सम्भावना रहेको बताएको छ, किनकि उनलाई पनि सिनेटले अनुमोदन गरेको थिएन ।
अदालतले राष्ट्रपतिले विधायिकामा हस्तक्षेप गरी कुनै अधिकारीलाई हटाउने प्रयास गर्नु कंग्रेसको संवैधानिक कर्तव्यमा बाधा पुर्याउने ‘असाधारण परिस्थिति’ भएको पनि बताएको छ ।
यस निर्णयले कार्यकारी शाखाभित्रका बर्खास्तगी र राष्ट्रपतिको कार्यकारी शक्तिको प्रयोगमाथि चलिरहेको विवादलाई थप जटिल बनाएको छ ।








