अमेरिकाको फ्लोरिडामा नयाँ आप्रवासन हिरासत केन्द्र सञ्चालनमा


प्रकाशित मिति : भाद्र २१, २०८२ आईतबार

अमेरिकाको फ्लोरिडामा दोस्रो आप्रवासन हिरासत केन्द्र सञ्चालनमा ल्याइएको  छ। यस केन्द्रलाई ‘एलीगेटर अलकाट्राज’ भनिने हिरासत सम्बन्धि विवादास्पद कानुनी लडाइँबीच खोलिएको हो।

डिपोर्टेशन डिपो नामको  यो नयाँ केन्द्र बेकर करेक्शनल इन्स्टिच्युट नामक पुरानो राज्य कारागारमा स्थापना गरिएको छ, जुन अस्थायी रूपमा बन्द थियो । हाल यस केन्द्रमा १ सय १७ जना बन्दी राखिएका छन्। फ्लोरिडाका गभर्नर रोन डिसान्टिसको कार्यालयले यसको क्षमता १ हजार ५ सय जनासम्म रहेको जानकारी दिएको छ।

यो नयाँ हिरासत ज्याक्सनभिलबाट करिब ४५ माइल पश्चिम ओस्सिओला नेशनल फरेस्ट नजिकै रहेको छ। संघीय अपिल अदालतले न्यायाधीशको आदेशलाई अस्थायी रूपमा रोकेकै दिन यो ‘डिपोर्टेशन डिपो’ खोलिएको हो।

न्यायाधीशको सो आदेशले  ‘एलीगेटर अलकाट्राज’ बन्द गर्न राज्य र संघीय सरकारलाई बाध्य बनाउने तयारी गरेको थियो। नयाँ हिरासत केन्द्रमा अग्ला तारबारले घेरिएका एकतले भवनहरू छन्। ट्रम्प प्रशासनले आप्रवासन हिरासत केन्द्रहरूमा “सीमित क्षमता” रहेको भन्दै थप सुविधा आवश्यक भएको बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्लोरिडाका गभर्नर डिसान्टिसले अन्य दुई नयाँ हिरासत खोल्ने घोषणा पनि गरेका छन्। यी दुई हिरासतहरू ‘पानह्यान्डल पोकी’ फ्लोरिडा पानह्यान्डलमा र अर्को क्याम्प ब्ल्यान्डिङ नामक नेशनल गार्ड प्रशिक्षण केन्द्रमा खोल्न लागिएको हो।

नयाँ हिरासत केन्द्रहरू घोषणा भइरहेका बेला ह्वाइट हाउसले दैनिक कम्तीमा ३ हजार आप्रवासन सम्बन्धी व्यक्तिहरूलाई पक्राउ गर्ने लक्ष्य लिएको छ। हालसम्म धेरैलाई ग्वान्तानामो बे पठाइएको वा एल साल्भाडोरको ‘मेगा जेल’ मा डिपोर्ट गरिएको छ।

फ्लोरिडामा गत अगस्टमा ‘डिपोर्टेशन डिपो’ सार्वजनिक गरिएको थियो। केही समयपछि एक संघीय न्यायाधीशले ‘एलीगेटर अलकाट्राज’ बन्द गर्न प्रारम्भिक आदेश जारी गरेका थिए। तर, पुनरावेदन अदालतले सो आदेशलाई स्थगन गरेपछि राज्यले त्यहाँबाट बन्दीहरू सार्ने काम जारी राख्ने जनाएको छ।

यो निर्णयले पर्यावरण समूहहरूलाई ठूलो धक्का पुगेको छ। उनीहरूले संघीय अदालतमा मुद्दा दायर गर्दै आप्रवासन केन्द्रहरूको सञ्चालन र निर्माण तत्काल रोक्न माग गरेका थिए।’एलीगेटर अलकाट्राज’ मा बन्दीहरूलाई उच्च तापक्रम, किराको समस्या, र कमजोर खानपान जस्ता समस्या रहेको भन्दै तीव्र आलोचना भएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com