पेमेन्ट समस्याले नेपालको इलेक्ट्रोनिक ट्राभल अथराइजेसनको प्रयोग न्यून, दूतावास जानुपर्ने बाध्यता
प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार
अमेरिकामा रहेको नेपाली दूतावास । फोटो: खसोखास
अध्यागमन विभाग नेपालले विदेशी नागरिकहरूका लागि भिसा आवेदन प्रक्रियालाई सहज बनाउन लामो समयदेखि नेपाली पोर्ट सञ्चालनमा ल्याएपनि शुल्क भुक्तानी सुविधा विस्तार नभएकाले इलेक्ट्रोनिक ट्राभल अथराइजेशन ईटीएका लागि यसको प्रयोग निकै कम देखिएको छ । यो प्रणालीमार्फत विदेशी नागरिकहरूले इलेक्ट्रोनिक ट्राभल अथराइजेशनका लागि अनलाइन आवेदन दिनसक्ने भएपनि शुल्क भुक्तानीमा समस्याका कारण त्यस्ता आवेदन अगाडि बढ्नमा समस्या हुने गरेको छ ।
शुल्क भुक्तानीका लागि अझै पनि नेपाली दूतावास वा सम्बन्धित निकायमा पुग्नुपर्ने बाध्यता कायम रहेकाले पूर्ण अनलाइन सुविधालाई प्रभावित गरेको छ। अध्यागमन विभागको सूचना प्रविधि शाखाका निर्देशक अनुप न्यौपानेका अनुसार नेपाली पोर्टमार्फत इलेक्ट्रोनिक ट्राभल अथराइजेशन आवेदन प्रक्रिया निकै सहज भए पनि शुल्क भुक्तानीको प्रणालीमा केही प्राविधिक सीमाहरू छन्।

“हाम्रो राजस्व व्यवस्थापन प्रणालीको पहुँच हाल नेपालको भौगोलिक क्षेत्रभन्दा बाहिर विस्तार भएको छैन। फलस्वरूप, इलेक्ट्रोनिक ट्राभल अथराइजेशन आवेदन गरे पनि शुल्क भुक्तानीका लागि विदेशी नागरिकहरूले नेपाली दूतावास वा सम्बन्धित कार्यालयमै पुग्नुपर्ने अवस्था छ,” न्यौपानेले भने। उनले थपे, “यदि हामीसँग पूर्ण अनलाइन भुक्तानीको सुविधा उपलब्ध भएको भए विदेशी मुद्रामा भिसा शुल्क प्रत्यक्ष रूपमा नेपाल भित्रिने थियो। राजस्व व्यवस्थापन प्रणाली प्रणालीको यो सीमालाई समाधान गर्न काम भइरहेको छ, तर यो प्रक्रिया पूरा हुन कति समय लाग्छ भन्ने स्पष्ट जानकारी अहिलेसम्म प्राप्त भएको छैन।”
नेपाली पोर्टमार्फत विदेशी नागरिकहरूले सजिलै इलेक्ट्रोनिक ट्राभल अथराइजेशन आवेदन गर्न सक्ने भए पनि शुल्क भुक्तानीको सुविधा पूर्ण रूपमा अनलाइन नहुँदा सेवाको प्रभावकारिता सीमित भएको छ। हालको अवस्थामा विदेशी नागरिकहरूले नेपाली पोर्टमार्फत इलेक्ट्रोनिक ट्राभल अथराइजेशन आवेदन गरेर स्वीकृति प्राप्त गरेपछि शुल्क भुक्तानीका लागि दूतावास पुग्नुपर्छ। “यदि विदेशी नागरिकले इलेक्ट्रोनिक ट्राभल अथराइजेशन आवेदन र शुल्क भुक्तानी दुवै आफ्नै अनुकूलतामा अनलाइन गर्न सक्थे भने नेपाल भ्रमण गर्न चाहने पर्यटकहरूलाई झनै सहज हुने थियो,” न्यौपानेले बताए।
अध्यागमन विभागले राजस्व व्यवस्थापन प्रणालीलाई विश्वव्यापी बनाउन सकेमा विदेशी पर्यटकहरूले जुनसुकै स्थानबाट पनि भिसा शुल्क तिर्न सक्ने छन्। यो सुविधाले नेपालको पर्यटन क्षेत्रलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। “राजस्व व्यवस्थापन प्रणालीको भौगोलिक सीमालाई जतिसक्दो चाँडो समाधान गर्न सकियो, त्यति नै छिटो नेपाली पोर्टमार्फत पूर्ण अनलाइन इलेक्ट्रोनिक ट्राभल अथराइजेशन शुल्क भुक्तानी सुविधा उपलब्ध हुनेछ। यसले दूतावासमा पुग्नुपर्ने बाध्यता हट्नुका साथै नेपाल भ्रमण गर्न चाहने पर्यटकहरूको सङ्ख्या वृद्धि हुने सम्भावना छ,” न्यौपानेले भने।
नेपालको पर्यटन प्रवर्द्धनका लागि प्राविधिक सुधार र चुस्त सेवा आवश्यक रहेको छ।अनलाइन भुक्तानी सुविधा थपिएमा विदेशी पर्यटकहरूलाई नेपाल आउन थप प्रोत्साहन मिल्नेछ । नेपाल सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको सन्दर्भमा नेपाली पोर्ट र राजस्व व्यवस्थापन प्रणालीको सुधारले विदेशी पर्यटकहरूलाई सहज र आकर्षक सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विभागले यो प्रणालीलाई छिट्टै पूर्ण बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।
विदेशमा रहेका नेपाली दूतावास वा नियोगहरुले सन् २०२३ देखि भिसा स्टीकरको साटो ईटीए जारी गर्न सुरु गरेका थिए । दूतावास वा कन्सुलेटवाहेक अनलाइनबाट सिधै पनि ईटीएका लागि आवेदन दिन सकिने प्रावधान भएपनि भुक्तानीमा भएको समस्याका कारण सिधा अनलाइनबाट ईटीए आवेदन दिएर स्वीकृति दर भने निकै कम रहेको छ । ईटीए लागु भएदेखि फेब्रुअरीसम्म अध्यागमन विभागले २९,७९६ ईटीए आवेदन प्राप्त गरेकोमा प्रत्यक्ष रूपमा केवल १,८६५ मात्र स्वीकृत गरेको थियो । यसको मुख्य कारण भुक्तानी गर्नमा समस्या भएका कारण आवेदनहरु अगाडि बढ्न सकेका थिएनन् ।

नेपालबाहिरका आवेदकहरूले विभागमा सिधै शुल्क तिर्न कठिनाइ भोगेकाले स्वीकृत दर ६ प्रतिशतमात्र कायम भएको हो । उनीहरुमध्ये अधिकांशले ट्राभल एजेन्सीहरू मार्फत राजस्व भुक्तानी गरेका थिए । यो सीमितताले प्रक्रियामा अवरोध सिर्जना गरेको छ, जसले ईटीएको सुविधाको लक्ष्यलाई कमजोर बनाएको छ। विभागको रेकर्ड अनुसार थाइल्याण्ड ईटीए प्रयोगमा अग्रस्थानमा छ।
ईटीए प्रणालीले विमानस्थलमा अन अराइभल भिसाका लागि लामो लाइनमा बस्ने झन्झट हटाउने लक्ष्य राख्छ। यद्यपी ईटीए नलिएकाहरुले पनि नेपालको विमानस्थलमा अन अराइभल भिसा भने प्राप्त गर्न सक्छन् । पर्यटकहरूलाई आकर्षित गर्न शुरू गरिएको ईटीएले मिश्रित नतिजा दिएको छ। यसले अध्यागमन विभागबाट दूतावासहरूमा खाली भिसा स्टिकर पठाउने पहिलेको जटिल कार्य हटाएको छ।








