भ्वाइस अफ अमेरिकाका झण्डै ५०० कर्मचारी बर्खास्त
प्रकाशित मिति : भाद्र १३, २०८२ शनिबार
अमेरिकामा ट्रम्प प्रशासनले संघीय बजेटबाट सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिका (भीओए) का करिब ५०० कर्मचारीलाई बर्खास्त गरेको छ।
ह्वाइट हाउसले भीओए लाई “उग्र र ट्रम्प विरोधी” भएको आरोप लगाउँदै यो कदमलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको समाचार संस्थालाई कटौती गर्ने प्रयासको एक हिस्सा मानेको छ।
यूएस एजेन्सी फर ग्लोबल मिडिया (यूएसएजीएम) की कार्यकारी प्रमुख क्यारी लेकले यो निर्णय अमेरिकी जनताको पैसा जोगाउन लिइएको दाबी गरेकी छन्। तर, कर्मचारीहरूको युनियनले भने यसलाई गैरकानुनी कदम भन्दै विरोध जनाएको छ।
भीओए ले दिएको जानकारीअनुसार ५३२ पद हटाइएका छन्, जसमा ठूलो संख्यामा भीओए का कर्मचारीहरू पर्नेछन्।
अदालतमा दर्ता गरिएको कागजातअनुसार, अब भीओए मा केवल १०८ कर्मचारी मात्र बाँकी रहनेछन्।
यसअघि जुन महिनामा ६३९ कर्मचारीलाई बर्खास्त गर्ने घोषणा गरिए पनि कानुनी प्रक्रियामा त्रुटि देखिएपछि ती नोटिसहरू फिर्ता लिइएका थिए।
केही कर्मचारीहरूले आफ्नो बर्खास्ती रोक्न अदालतमा मुद्दा पनि दायर गरेका छन्। दोस्रो विश्वयुद्धका बेला नाजी प्रचारको प्रतिवाद गर्न स्थापना गरिएको भीओए अहिले विश्वकै प्रमुख प्रसारक संस्था मध्ये एक बनेको छ।
यसले टेलिभिजन, रेडियो र डिजिटल सामग्री झन्डै ५० भाषामा प्रसारण गर्छ। तर, यसको मातृ–एजेन्सी यूएसएजीएम का कर्मचारीहरूको समूहले भीओए बन्द गर्ने प्रयास रोक्न मुद्दा दायर गरेको छ।
यस बर्खास्त अभियानले मियामीबाट स्पेनी भाषामा समाचार प्रसारण गर्ने अफिस अफ क्युबा ब्रोडकास्टिङका पत्रकारहरूलाई भने असर नगर्ने बताइएको छ।








