पत्नीलाई छोडेर अर्कै महिलालाई भेट्न युरोप पुगेका अमेरिकीलाई जेल र जरिवाना
प्रकाशित मिति : भाद्र १०, २०८२ बुधबार
फोटो : टिन्गी इन्जुरी ल फर्म
अमेरिकामा नक्कली मृत्युको योजना बनाएको आरोपमा एक व्यक्तिलाई जेल सजाय सुनाइएको छ।
विस्कन्सिनका ४५ वर्षीय रायन बर्गवार्टलाई त्यहाँको अदालतले ८९ दिन कैद र ३० हजार डलर क्षतिपूर्ति तिर्न आदेश दिएको हो।
तीन सन्तानका बाबु उनले नयाँ जीवन सुरु गर्नका लागि युरोप भाग्न आफ्नै मृत्युको नक्कली योजना बनाएको आरोप लगाइएको छ। अधिकारीहरूले उनलाई खोज्न ८९ दिन खर्च गरेका थिए। अदालतले बर्गवार्टलाई खोज्न लागेको समयअनुसारकै कैद सजाय सुनाएको हो।
सन् २०२४ को अगस्टमा माछा मार्न गएका बेला उनी हराएका थिए। उनले आफ्नो फोन, परिचयपत्र र डुबेको डुङ्गा छाडेका कारण अधिकारीहरूले उनी डुबेको शंकामा लामो समयसम्म खोजी गरेका थिए। तर पछि उनी पहिले क्यानाडा र त्यसपछि जर्जिया पुगेको पत्ता लाग्यो।
अधिकारीहरूका अनुसार उनी अनलाइनमा भेटिएकी उज्बेकिस्तानकी एक महिलालाई भेट्न जर्जिया पुगेका थिए।
ग्रीन लेक काउन्टीका सर्किट कोर्टका न्यायाधीश मार्क स्लेटले उनलाई अवरोधको अभियोगमा ८९ दिन जेल सजाय सुनाए, जुन अभियोजन पक्षले माग गरेको भन्दा दोब्बर थियो। साथै, उनले खोजी तथा उद्धार कार्यमा लागेको खर्चका लागि ३० हजार अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश पनि दिए।
न्यायाधीश स्लेटले आदेशमा भनेका छन्, “उनले कानुन कार्यान्वयनमा कुल ८९ दिन अवरोध पुर्याए।”
सजाय सुनाइनुअघि बर्गवार्टले अदालतमा भने, “म त्यो रात गरेको गल्ती र परिवार तथा साथीहरूलाई पुर्याएको पीडाप्रति गहिरो पश्चात्ताप व्यक्त गर्दछु।”
पत्नीलाई छोड्नुअघि उनले जीवन बीमा पोलिसी लिएका थिए, विदेशी बैंक खातामा पैसा सारेका थिए, नयाँ पासपोर्टका लागि आवेदन दिएका थिए र भासेक्टोमी उल्टाउने उपचारसमेत गराएका बताइएको छ।
जिल्ला अटर्नी जेरिस लास्पिसाले अदालतमा भनिन्, “उनको सम्पूर्ण योजना आफ्नै मृत्युलाई नक्कली बनाई परिवारलाई ध्वस्त पारेर आफ्ना स्वार्थी इच्छामा केन्द्रित थियो।”








