व्यापारीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउने भर्जिनियाको आत्मकथा प्रकाशित हुँदै, खुल्न सक्छन् थप रहस्यहरू
प्रकाशित मिति : भाद्र ९, २०८२ मंगलबार
ड्यूक अफ योर्क (प्रिन्स एन्ड्र्यु) र दिवंगत वित्तीय व्यापारी जेफ्री एपस्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने भर्जिनिया ग्युफ्रेले लेखेको आत्मकथा अक्टोबरमा प्रकाशित हुने भएको छ।
४१ वर्षको उमेरमा गत अप्रिलमा अस्ट्रेलियामा आत्महत्या गर्ने ग्युफ्रेको पुस्तकको शीर्षक “नो बडी इज गर्ल” रहेको छ। प्रकाशकले जानकारी दिँदै, उनको मृत्यु हुनु केही साताअघि नै उनले पुस्तक आफ्नै निधन भए पनि प्रकाशित होस् भन्ने इच्छा व्यक्त गरेको बताए।
ग्युफ्रेको दाबीअनुसार, एपस्टिन र उनकी प्रेमिका गिस्लेन म्याक्सवेलले उनलाई १७ वर्षको उमेरमा प्रिन्स एन्ड्र्युसम्म पुर्याएका थिए। प्रिन्स एन्ड्र्युले भने सबै आरोप अस्वीकार गरेका छन्।
सन् २०२२ मा प्रिन्स एन्ड्र्युले ग्युफ्रेशँग अदालतबाहिर सम्झौता गरेका थिए। सम्झौतामा एपस्टिनसँगको सम्बन्धप्रति खेद व्यक्त गरिएको थियो। तर कुनै कानुनी जिम्मेवारी स्वीकार वा प्रत्यक्ष माफी भने त्यहाँ उल्लेख थिएन।
४०० पृष्ठ लामो आत्मकथा पत्रकार एमी वालससँग सहलेखन गरिएको हो। यो पुस्तकमार्फत ग्युफ्रेलाई सम्झौता भएपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्ने अवसर मिल्नेछ।
प्रकाशकका अनुसार, अप्रिल १ मा कार दुर्घटना भएको बताउँदै ग्युफ्रेले वालसलाई पठाएको इमेलमा लेखिएको थियो, “यो पुस्तकको सामग्री अत्यन्त महत्त्वपूर्ण छ, किनभने यसले नाजुक व्यक्तिहरूलाई सीमा पार गरी बेचबिखन गर्न सक्ने प्रणालीगत असफलताहरू उजागर गर्नेछ।”
पुस्तकमा एपस्टिन, म्याक्सवेल र तिनका चर्चित साथीहरूसँग बिताएको समयबारे “घनिष्ठ, पीडादायी र हृदयविदारक नयाँ विवरण” खुलासा हुने प्रकाशकले जनाएको छ।
एपस्टिनले सन् २०१९ मा जेलमै आत्महत्या गरेका थिए। उनी त्यतिबेला यौन तस्करीसम्बन्धी मुद्दामा अदालतको प्रतीक्षामा थिए। यसअघि सन् २००८ मा नाबालिकसँगको यौन अपराधमा उनी दोषी ठहर भएका थिए।
म्याक्सवेललाई एपस्टिनको तस्करी र दुरुपयोगमा संलग्न रहेको ठहर गरी अमेरिकामा २० वर्ष कैद सजाय दिइएको छ।
गत जुलाईमा अमेरिकी अधिकारीहरूसँगको अन्तर्वार्तामा म्याक्सवेलले प्रिन्स एन्ड्र्यु र नाबालिक युवतीबीच यौन सम्पर्क भएको दाबीलाई “अकल्पनीय” भनेकी थिइन्।
उनले प्रिन्स एन्ड्र्यु, ग्युफ्रे र आफूलाई देखाउने चर्चित फोटो “साँचो नभई नक्कली” भएको दाबी समेत गरिन्।
ग्युफ्रेको परिवारले भने म्याक्सवेलको अन्तर्वार्ताप्रति “क्रोधित” प्रतिक्रिया दिएका छन्। अमेरिकी सरकारले उनलाई “इतिहास पुनःलेखन गर्ने अवसर दिएको” आरोप लगाएका छन्।








