फेडरल रिजर्भ बैंकका गभर्नर कुकलाई राष्ट्रपति ट्रम्पले बर्खास्त गर्ने


प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका गभर्नर लिसा कुकलाई बर्खास्त गर्ने घोषणा गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत एउटा पत्र सार्वजनिक गर्दै कुकलाई केन्द्रीय बैंकको बोर्ड अफ गभर्नर्सबाट तत्काल हटाउने घोषणा गरेका हुन्।

ट्रम्पको आरोपअनुसार कुक “भ्रामक र आपराधिक प्रकृतिका हुन सक्ने” बन्धक सम्झौतामा संलग्न छिन्। उनले दुई फरक घरलाई एउटै समयमा आफ्नो “प्राथमिक निवास” भनी कागजातमा हस्ताक्षर गरेको आरोप लगाएका छन्।

कुकले सुरुमा मिशिगनको घरलाई आफ्नो प्राथमिक निवास भनेर कागजातमा हस्ताक्षर गरिन्। त्यसको दुई हप्तापछि नै उनले जर्जियाको अर्को घरलाई पनि आफ्नो प्राथमिक निवास भनी अर्को कागजातमा हस्ताक्षर गरिन्।

ट्रम्पका अनुसार पहिलो प्रतिबद्धता थाहा नभई दोस्रो कागजातमा हस्ताक्षर गर्नु असम्भव छ।

यस विषयमा न त लिसा कुकले न त फेडरल रिजर्भले कुनै टिप्पणी गरेका छन्। गत सातासम्म कुकमाथि हाउजिङ फाइनान्स एजेन्सीका प्रमुखद्वारा मोर्गेज धोखाधडीको आरोप लगाइएको थियो।

त्यसको जवाफमा कुकले “ट्विटरमा उठाइएका केही प्रश्नका कारण आफ्नो पदबाट जबर्जस्ती हटाइने छैन” भन्दै सबै वैध प्रश्नहरूको जवाफ दिने बताएकी थिइन्।

लिसा कुक सन् २०२२ देखि फेडरल रिजर्भ बोर्डमा कार्यरत छिन्। उनी फेडरल रिजर्भ बोर्डमा बस्ने पहिलो अश्वेत महिला हुन्।

ट्रम्पले हालका हप्ताहरूमा फेडरल रिजर्भ र यसका अध्यक्ष जेरोम पावेललाई समेत ब्याजदर नघटाएको भन्दै दबाब दिँदै आएका छन् ।

उनले पावेललाई पनि बर्खास्त गर्ने सम्भावना पटक–पटक व्यक्त गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com