अमेरिकी स्वास्थ्य मन्त्रालयका कर्मचारीद्वारा स्वास्थ्यमन्त्रीकै आलोचना
प्रकाशित मिति : भाद्र ३, २०८२ बुधबार
फोटो: गेज स्किडमोर
अमेरिकी स्वास्थ्य मन्त्रालयका ७५० भन्दा बढी वर्तमान तथा पूर्वकर्मचारीहरूले स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरको कडा आलोचना गर्दै एक पत्र सार्वजनिक गरेका छन्।
उनीहरूले केनेडीका “खतरनाक र भ्रामक अभिव्यक्तिहरू” ले हालै रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को मुख्यालयमा भएको हिंसामा योगदान पुर्याएको बताएका छन्।
यसै महिनाको गोलीकाण्डमा, जहाँ एक व्यक्तिले (सीडीसी) भवनमा सयौँ राउन्ड गोली चलाएर एक प्रहरी अधिकारीको ज्यान लिएका थिए, ती व्यक्तिले कोभिड-१९ खोपप्रति अविश्वास व्यक्त गरेको तथ्य बाहिर आएको थियो।
कर्मचारीहरूले पत्रमा भनेका छन्, “राजनीतिकरण गरिएको भाषणले संस्थामाथि अविश्वास बढाइरहेको छ, र यही कारण यो आक्रमण भयो।” उनीहरूले केनेडीले अमेरिकी जनस्वास्थ्यलाई जोखिममा पारेको र देशको आपत्कालीन स्वास्थ्य प्रतिक्रियाको क्षमता कमजोर पारेको पनि थपेका छन्।
“स्वास्थ्य तथा मानव सेवामन्त्री रोबर्ट एफ. केनेडी जुनियरले बारम्बार गलत स्वास्थ्य जानकारी फैलाएर अमेरिकाको सार्वजनिक स्वास्थ्य संरचनालाई कमजोर बनाउने र जनताको स्वास्थ्यलाई खतरा पुर्याउने काममा संलग्न भएका छन्,” पत्रमा भनिएको छ।
यो पत्र काँग्रेस र केनेडी दुवैलाई सम्बोधन गरी ‘सेभ एचएचएस’ नामक वेबसाइटमा प्रकाशित गरिएको हो। पत्रमा हस्ताक्षर गर्नेहरू (सीडीसी), राष्ट्रिय स्वास्थ्य संस्था (एनआईएच) र स्वास्थ्य तथा मानव सेवा मन्त्रालय (एचएचएस) सँग सम्बन्धित रहेका थिए।
सरकारी कर्मचारीहरूले खुला रूपमा कुनै मन्त्रीको आलोचना गर्दै काँग्रेसमा पत्र लेख्नु दुर्लभ मानिन्छ।
केनेडी मन्त्री बनेदेखि बाहिरी स्वास्थ्य विज्ञ तथा सङ्घसंस्थाहरूले उनको स्टाफ कटौती, खोप सीमित गर्ने कदम लगायतका कार्यहरूको आलोचना गरेका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार ३० वर्षीय प्याट्रिक जोसेफ ह्वाइटले ८ अगस्टमा (सीडीसी) भवनमा ५०० राउन्ड गोली चलाएका थिए।
उनले कोभिड खोपले आफूलाई “उदास र आत्मघाती बनाएको” दाबी गरेका थिए। यस घटनामा प्रहरी अधिकारी डेविड रोज मारिएका थिए।








