न्युयोर्कको ब्रुकलिन क्राउन हाइट्सको बारमा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते


प्रकाशित मिति : १ भदौ २०८२, आइतबार

आइतबार बिहान ब्रुकलिनस्थित एउटा बारमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको छ। घटना ब्रुकलिनको क्राउन हाइट्सको फ्र्याङ्कलिन एभिन्युमा रहेको ‘टेस्ट अफ द सिटी लाउन्ज’ नामक बारमा भएको हो।

प्रहरी कमिश्नर जेसिका टिशले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आइतबार बिहान ३:३० बजेतिर बारभित्र गोली चलेको खबर पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले बारभित्र गोली लागेका ८ पुरुष र ३ महिला फेला पारेका थिए। घाइतेहरूको उमेर २७ देखि ६१ वर्षसम्म रहेको थियो। तीन पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा एक २७ वर्षीय, एक ३५ वर्षीय र अर्का एक पुरुष रहेका छन् जसको उमेर खुलाईएको छैन।

प्रहरीका अनुसार घाइते भएका आठ जनालाई अस्पताल पुर्‍याइएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको कमिश्नर  टिशले बताएकी छन्। हालसम्म यस घटनामा कुनै पनि शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको छैन। टिशले यो घटना कुनै विवादको परिणाम भएको बताइन्। “आज बिहान यो भयानक घटना भएको छ, तर हामी यसको अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउनेछौँ,” उनले भनिन्।

प्रहरीका अनुसार बारबाट ३६ भन्दा बढी गोलीका खोका र एउटा बन्दुक बरामद भएको छ। घटनापछि बारले आफ्नो इन्स्टाग्राम पेजमा एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ र अनुसन्धानमा प्रहरीलाई पूर्ण सहयोग गरिरहेको जनाएको छ।

अधिकारीहरूका अनुसार सन् २०२४ मा न्युयोर्क सहरमा अपराधको दर महामारीको तुलनामा निरन्तर घट्दै गएको छ। यस वर्षको पहिलो सात महिनामा सबैभन्दा कम गोलीकाण्ड र पीडितहरूको सङ्ख्या रेकर्ड भएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com