अंगरक्षकसँग न्यु अर्लिन्सकी मेयरको प्रेम सम्बन्ध, लगाइयो भ्रष्टाचारको अभियोग


प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार

अमेरिकाको न्यु अर्लिन्सकी मेयर लाटोया कान्ट्रेललाई भ्रष्टाचारको अभियोग लगाइएको छ।

अभियोजनकर्ताहरूले यसलाई उनको अंगरक्षकसँगको “रोमान्टिक सम्बन्ध लुकाउन गरिएको वर्षौंसम्मको योजना” भनेका छन्।

अभियोगपत्रअनुसार, अंगरक्षक जेफ्री भ्याप्पीलाई उनी ड्युटीमा नभए पनि काम गरेको देखाएर तलब दिइन्थ्यो। उनीहरू निजी अपार्टमेन्टमा भेटिन्थे, र वाइनको स्वाद लिन अंगुरबारीसम्म यात्रा गर्थे। जहाँ वाइन बनाउन वा खाने अंगुर फलाइन्छ।

कान्ट्रेलमाथि षड्यन्त्र, ठगी र अवरोधसम्बन्धी मुद्दा लागेको हो। उनी कार्यकाल सकिनुभन्दा ५ महिनाअगावै पदबाट बाहिरिने तयारीमा छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यु अर्लिन्सको ३०० वर्षको इतिहासमा पहिलो महिला मेयर बनेकी कान्ट्रेल अहिले पदमा रहँदा नै अभियोग लाग्ने पहिलो मेयर पनि बनेकी छिन्।

“सार्वजनिक भ्रष्टाचारले लुइसियानालाई वर्षौंदेखि अपाङ्ग बनाएको छ,” कार्यवाहक अमेरिकी वकिल माइकल सिम्पसनले भने। “यो घटना अति महत्त्वपूर्ण छ।”

भ्याप्पी पहिले नै वायर फ्रड र झूटो बयान दिने आरोपमा मुद्दा खेपिरहेका थिए। अहिले फेडरल ग्रान्ड ज्युरीले १८ बुँदे अभियोगमा मेयर कान्ट्रेललाई समेत समावेश गरेको छ।

अभियोगपत्रमा उनीहरूले ह्वाट्सएप प्रयोग गरेर १५ हजारभन्दा बढी गोप्य सन्देश आदानप्रदान गरेको, त्यसपछि ती सन्देशहरू मेटाएको, नागरिकलाई सताएको, प्रमाण नष्ट गरेको, एफबीआईलाई झूटो बयान दिएको र अन्ततः फेडरल ग्रान्ड ज्युरीसामु झूटो साक्षी दिएको उल्लेख छ।

सिम्पसनका अनुसार उनीहरू अपार्टमेन्टमा भेट्दा भ्याप्पीलाई ड्युटीमा भएको देखाइन्थ्यो।

मेयरले उनलाई १४ वटा यात्रा कार्यक्रममा सहभागी गराइन्, जसलाई “वास्तवमा उनीहरू एक्लै हुने अवसर” भनेर वर्णन गरिएको थियो।

यस क्रममा करदाताले ७० हजार डलरभन्दा बढी खर्च बेहोरेको बताइएको छ।

सन् २०२२ को सेप्टेम्बरमा कान्ट्रेलले मियामीमा हुने सम्मेलन छोडेर मार्था’स भिन्यार्डको यात्रा गरेकी थिइन्। भ्याप्पीलाई छुट्टै सम्मेलनमा भाग लिने नाममा त्यहाँ पुर्याइयो।

कान्ट्रेलका समर्थकहरूले उनी कालो महिला भएकै कारण अन्यायपूर्ण रूपमा लक्षित गरिएको दाबी गरेका छन्। तर सिम्पसनले भने, “यो प्रेम वा महिला भएकै कारण होइन, यो आफ्नै जनतामाथिको विश्वासघात हो।”

कान्ट्रेल डेमोक्रेट हुन्। न्यु अर्लिन्सका पूर्व मेयर रे नागिनलाई सन् २०१४ मा घुसखोरी, कर छली र ठगीका लागि १० वर्ष जेल सजाय भएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com