कृत्रिम गर्भाशय भएको संसारको पहिलो गर्भवती ह्युमनोइड रोबोट बनाइदै


प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार

एआईएको प्रयोग गरेर बनाइएको तस्वीर

चीनको एक प्रविधि कम्पनीले कृत्रिम गर्भाशय भएको संसारको पहिलो गर्भवती ह्युमनोइड रोबोट बनाउने योजना बनाएको छ। गुआङ्झाउस्थित काइवा टेक्नोलोजी नामक कम्पनीले जेस्टेशन रोबोट बनाउने दौडमा रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

यो ह्युमनोइड रोबोटको पेटभित्र कृत्रिम गर्भाशय राखिएको हुनेछ, जसले भ्रूणलाई १० महिनासम्म गर्भमा राख्नेछ र बच्चा जन्माउनेछ। सन् २०२६ सम्ममा बजारमा ल्याउने तयारी गरिएको यो रोबोटको मूल्य १ लाख युआन अर्थात् करिब १४ हजार अमेरिकी डलर भन्दा कम हुने अनुमान गरिएको छ। यसको उद्देश्य गर्भधारण गर्न नचाहनेहरूलाई एउटा विकल्प दिनु हो।

यो घोषणाले सर्वसाधारणमा ठूलो बहस छेडिदिएको छ। कतिपयले यसलाई नैतिक रूपमा गलत भनेका छन् भने कतिपयले निःसन्तान दम्पतीका लागि आशाको किरणको रूपमा हेरेका छन्।

बेइजिङमा आयोजित सन् २०२५ को विश्व रोबोट सम्मेलनमा, नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीसँग आबद्ध काइवा टेक्नोलोजीका संस्थापक झाङ किफेङले यस ह्युमनोइड सरोगेट प्रेग्नेन्सी रोबोटको विषयमा प्रस्तुति दिएका थिए। उनले यो रोबोट सामान्य इन्क्युबेटर मात्र नभई गर्भधारणदेखि बच्चा जन्माउनेसम्मको सम्पूर्ण प्रक्रियालाई दोहोर्याउन सक्षम जीवन आकारको ह्युमनोइड भएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस रोबोटको मुख्य विशेषता भनेको कृत्रिम गर्भाशय प्रविधि हो, जहाँ भ्रूण कृत्रिम एम्नियोटिक फ्लुइडमा विकास हुन्छ र नली मार्फत पोषण प्राप्त गर्छ, जुन प्राकृतिक गर्भधारणसँग मेल खान्छ। डा. झाङले यो प्रविधि प्रयोगशालामा पूर्ण रूपमा विकसित भइसकेको र अब यसलाई ह्युमनोइडको आकारमा ढाल्न मात्र बाँकी रहेको बताए। उनले यसले गर्भावस्थामा मानिस र रोबोटबीच वास्तविक अन्तरक्रिया सम्भव बनाउने दाबी गरे।

झाङका अनुसार यस रोबोटको नमुना एक वर्षभित्र तयार हुनेछ र यसको मूल्य १४ हजार अमेरिकी डलरभन्दा कम हुनेछ। नैतिक र कानुनी पक्षका बारेमा उनले ग्वान्दोङ प्रान्तका अधिकारीहरूसँग छलफल भइसकेको र नीति तथा कानुन निर्माणका लागि सम्बन्धित प्रस्ताव पेस गरिएको जानकारी दिए।

कृत्रिम गर्भाशय प्रविधिले जनावरमा गरिएको अध्ययनमा राम्रो नतिजा देखाएको छ। सन् २०१७ मा फिलाडेल्फियाको चिल्ड्रेन्स हस्पिटलका अनुसन्धानकर्ताहरूले २३ हप्ताको मानव गर्भावस्था बराबरको समयसम्म एउटा समय नपुगी जन्मेको भेडालाई बायोब्याग नामक पारदर्शी झोलामा सफलतापूर्वक हुर्काएका थिए। त्यो झोला तातो, नुनिलो कृत्रिम एम्नियोटिक फ्लुइडले भरिएको थियो। त्यस भेडाको नाइटोमा नली जोडेर पोषण दिइएको थियो र चार हप्ताभित्र त्यसको शरीरमा रौँ पलाएको थियो।

तर, हालका कृत्रिम गर्भाशयहरू नवजात शिशुको स्याहार गर्ने इन्क्युबेटरजस्तै मात्र काम गर्छन्। डा. झाङको यो अवधारणालाई वास्तविकतामा बदल्न भ्रूणको गर्भाशयमा प्रत्यारोपण र पूर्ण गर्भावस्थाको लागि प्रविधिमा थप विकास हुनु आवश्यक छ, जसको बारेमा उनले थप जानकारी दिएका छैनन्। यसले यो प्रविधिको वैज्ञानिक, नैतिक र कानुनी पक्षमा धेरै प्रश्नहरू खडा गरेको छ।

सन् २०२५ को विश्व रोबोट सम्मेलनमा अर्को महत्त्वपूर्ण उपलब्धि पनि प्रस्तुत गरियो( संसारको पहिलो एआई सञ्चालित प्रजनन रोबोट, जसले कृत्रिम बौद्धिकता र बायोटेक्नोलोजीको मिश्रण गरी बाली प्रजननमा क्रान्ति ल्याएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com