चार जनाको हत्याको आरोपमा अमेरिकामा पूर्व सैनिक पक्राउ
प्रकाशित मिति : श्रावण २३, २०८२ शुक्रबार
अमेरिकामा चार जनाको हत्या गरेको आरोपमा एक पूर्व सैनिकलाई प्रहरीले पक्राउ गरेको छ ।
मोन्टाना राज्यको एनाकन्डा शहरस्थित ‘द आउल बार’ मा गत हप्ता गोली चलाएर चार जनाको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
अधिकारीहरूका अनुसार, अमेरिकी सेनाका पूर्व सदस्य माइकल पॉल ब्राउनले अगस्ट १ मा उक्त बारभित्र गोली चलाएका थिए। स्थानीय, राज्य र संघीय अधिकारीहरूको संयुक्त खोजी अभियानपछि उनलाई पक्राउ गर्न सफल भएको हो।
अनुसन्धानकर्ताहरूका अनुसार, घटनापछि ब्राउन नजिकैको पहाडी क्षेत्रमा भागेर आफ्ना लुगा फालेका थिए ।
उनी त्यस बारमा नियमित आउने र नजिकै बसोबास गर्ने गरेको पनि बताइएको छ। यो घटनाको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन।
मोन्टानाका अटर्नी जनरल अष्टिन नडसेनले ब्राउनलाई पत्ता लगाएर पक्राउ गर्न सफल भएको घोषणा गरेका छन्। करिब १० हजार जनसंख्या भएको एनाकन्डा शहर घना पहाडी भूभागले घेरिएको छ।
राज्यका गभर्नर ग्रेग जियानफोर्टेले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै मोन्टानाभरका कानून कार्यान्वयन निकायहरूको ‘अद्भुत प्रतिक्रिया’ को प्रशंसा गरेका छन्।
बारका मालिक डेविड ग्वेर्डरका अनुसार, ब्राउनले भित्र पस्नेबित्तिकै गोली चलाएका थिए। ‘उनी सबैलाई चिन्दथे, कसैसँग उनको विवाद थिएन। मलाई लाग्छ, उनी अचानक ‘स्न्याप’ भए,’ उनले भने।
ब्राउनले सन् २००१ देखि २००५ सम्म अमेरिकी सेनामा आर्मर क्रूम्यानको रूपमा सेवा गरेका थिए र सन् २००४-०५ मा इराक पठाइएका थिए।








