कम्बोडियाद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस


प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार

कम्बोडियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको घोषणा गरेको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले ट्रम्पले कम्बोडिया र थाइल्यान्डबीचको सीमा विवाद समाधान गर्न देखाएको “असाधारण कूटनीतिक नेतृत्व” को प्रशंसा गर्दै यो घोषणा गरेका हुन्।

हुन मानेटले फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै नर्वेजियन नोबेल समितिलाई पठाइएको पत्र पनि सार्वजनिक गरेका छन्। उक्त पत्रमा उनले ट्रम्पको हस्तक्षेपलाई “विश्वका सबैभन्दा अस्थिर क्षेत्रहरूमा तनाव कम गर्नका लागि गरिएको असाधारण उपलब्धि” को उदाहरणको रूपमा वर्णन गरेका छन्।

“यो समयमै गरिएको हस्तक्षेपले सम्भावित विनाशकारी द्वन्द्व टार्‍यो, धेरै जनजीवनको क्षति हुनबाट जोगायो र शान्ति पुनर्स्थापनाको बाटो खोल्यो,” उनले पत्रमा लेखेका छन्।

गत जुलाई २६ मा ट्रम्पले थाइल्यान्ड र कम्बोडियाका नेताहरूसँग फोनमा कुरा गरी दुई देशबीच भएको भीषण लडाइँ अन्त्य गर्ने प्रयासमा आएको गतिरोध तोडेका थिए। यसको परिणामस्वरूप जुलाई २८ मा मलेसियामा भएको वार्तामा दुई देशबीच युद्धविरामको सम्झौता भयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबार, दुवै देशले पुनः द्वन्द्व भड्किन नदिने र दक्षिणपूर्वी एसियाली पर्यवेक्षकहरूलाई निरीक्षण गर्न अनुमति दिने सहमति जनाए।

पाँच दिन लामो यो सङ्घर्ष साना हतियारको गोलीबारीबाट सुरु भएर भारी तोप र रकेट आक्रमणसम्म पुगेको थियो। यस क्रममा थाइल्यान्डले एफ-१६ लडाकु विमान प्रयोग गरी हवाई आक्रमणसमेत गरेको थियो। द्वन्द्वमा ४३ जनाको मृत्यु भएको थियो भने ३ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।

गत हप्ता कम्बोडियाका उपप्रधानमन्त्रीले यो सिफारिस गर्ने योजना सार्वजनिक गरेका थिए। उनले ट्रम्पलाई धन्यवाद दिँदै अमेरिकाले कम्बोडियाली वस्त्र निर्यातमा तोकेको शुल्क ४९ प्रतिशतबाट घटाएर १९ प्रतिशत मात्र गरेको बताएका थिए। शुल्क वृद्धि भएको भए कम्बोडियाको महत्त्वपूर्ण कपडा उद्योग ध्वस्त हुने खतरा थियो।

यसअघि, पाकिस्तानले भारतसँगको विवाद समाधानमा ट्रम्पको भूमिकाका कारण उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने घोषणा गरेको थियो। गत महिना इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि ट्रम्पलाई उक्त पुरस्कारका लागि मनोनयन गरेको बताएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com