यौन अपराधी एप्स्टिन प्रकरण : क्लिन्टनको बयान १४ अक्टोबरमा तय
प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार
अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टन सहित चर्चित १० जना व्यक्तिहरूलाई यौन अपराधी जेफ्री एप्स्टिन सम्बन्धी अनुसन्धान गरिरहेको अमेरिकी संसदको एक समितिबाट कानुनी समन पठाइएको छ ।
समन को अर्थ कुनै व्यक्ति वा संस्थालाई अदालत वा छानबिन समितिमा हाजिर हुन वा कागजात पेश गर्न कानुनी आदेश दिनु हो।
प्रतिनिधिसभाको शक्तिशाली ओभरसाइट समितिका अध्यक्ष, रिपब्लिकन सांसद जेम्स कोमरले उक्त आदेश जारी गरेका हुन् । एप्स्टिनको विगतबारे थप फाइलहरू सार्वजनिक नगर्ने ट्रम्प प्रशासनको निर्णयपछि यो कदम चालिएको हो।
यो निर्णयले ट्रम्पका समर्थक र केही डेमोक्र्याटहरूमा आक्रोश फैलाएको थियो । जसले न्याय मन्त्रालयको ‘अपराधीहरूको कुनै नामसूची छैन’ भन्ने दाबीलाई अस्वीकार गरेका थिए।
ट्रम्प र उनका समर्थकहरूबीचको मतभेदबीच, द्विदलीय समितिले एप्स्टिन मुद्दाको अनुसन्धानलाई अघि बढाउन आदेश जारी गर्ने निर्णय गरेको हो । समितिले न्याय मन्त्रालयलाई पनि एप्स्टिनसम्बन्धी सबै कागजातहरू बुझाउन समन जारी गरेको छ।
घिस्लेन म्याक्सवेलले सशर्त कानुनी सुरक्षा अन्तर्गत समितिसामु बयान दिने इच्छा व्यक्त गरेकी थिइन् । तर, उनको ११ अगस्टको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
म्याक्सवेल एप्स्टिनको सहयोगी थिइन् । हाल उनी यौन तस्करीको आरोपमा २० वर्षको जेल सजाय भोगिरहेकी छिन् ।
एप्स्टिनसम्बन्धी मुद्दा दुई दशकदेखि चलिरहेको छ । सन् २००० को दशकको सुरुवातमै फ्लोरिडा प्रहरी र एफबीआईले यौन दुर्व्यवहारका आरोपमा उनको छानबिन थालेका थिए ।
समितिद्वारा पठाइएको पत्रमा “संघीय सरकारले यौन तस्करीविरुद्धका कानुनको कार्यान्वयन, र विशेषतः एप्स्टिन र म्याक्सवेलमाथिको अनुसन्धान तथा अभियोजन प्रक्रिया” बारे छानबिन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ ।
समितिले अबदेखि शरद ऋतुसम्म विभिन्न व्यक्तिहरूको साक्षात्कार सुरू गर्ने जनाएको छ । बिल क्लिन्टनको बयान १४ अक्टोबरमा तय गरिएको छ ।
हालसम्म सार्वजनिक कागजातअनुसार बिल क्लिन्टनले सन् २००२ र २००३ मा एप्स्टिनको निजी विमानमा कम्तीमा चारपटक यात्रा गरेका थिए । उनले एप्स्टिनसँग न्यूयोर्कमा पनि भेटघाट गरेका थिए । त्यसबेला एप्स्टिनको म्यानह्याटनको अपार्टमेन्टमा पनि गएका थिए।
फ्लाइट लग का आधारमा अमेरिकी सञ्चारमाध्यमहरूले क्लिन्टनले एप्स्टिनको विमानमा २६ पटकसम्म यात्रा गरेको बताइसकेका छन् ।








