अमेरिकी राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीचको सम्बन्धमा सुधार, जेलेन्स्की खुशी
प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार
यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रुसमाथि प्रतिबन्ध, रक्षा सहकार्य र ड्रोन उत्पादनबारे ‘उपयोगी’ वार्ता भएको बताएका छन् ।
यो वार्ता अमेरिकी दूत स्टिभ विटकोफको मस्को भ्रमणअघि भएको हो। जेलेन्स्कीले रुस प्रतिबन्धको सम्भावनामा विशेष रूपले संवेदनशील देखिएको बताए ।
राष्ट्रपति ट्रम्पले यदि रुसले शुक्रबारसम्म यूक्रेनसँग युद्धविराम गर्न सहमति नजनाएमा उसमाथि कडा प्रतिबन्ध लगाइने चेतावनी दिएका थिए । साथै रुससँग व्यापार गर्ने अन्य देशहरूलाई पनि दोस्रो स्तरको प्रतिबन्ध लागु गर्ने उनले बताएका थिए ।
यसै सन्दर्भमा अमेरिकी दूत स्टिभ विटकोफ मस्को पुग्नेछन् । त्यहाँ राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने अपेक्षा गरिएको छ । यद्यपि, रुसले ट्रम्पको प्रतिबन्धको चेतावनीलाई खासै महत्व दिएको छैन ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले लामो समयदेखि प्रतिबन्ध झेल्दै आएकाले अर्थतन्त्रमा अब केही हदसम्म प्रतिरोध क्षमता विकास भइसकेको बताए ।
पुटिनलाई प्रतिबन्धले असर गर्छ या गर्दैन भन्ने निश्चित छैन । तर ट्रम्पले रुसका व्यापार साझेदारहरू अमेरिकी शुल्कले प्रभावित हुने र उनीहरुले रुसको तेल किन्ने प्रक्रिया नै बन्द गर्न थाल्ने अपेक्षा गरेका छन् ।
जसले युद्ध चलाउन आवश्यक पर्ने क्रेमलिनको राजस्वमा ठूलो धक्का पुर्याउन सक्ने ट्रम्पको दाबी रहेको छ । यसैबीच, ट्रम्पले भारतमाथि कडा शुल्क लगाउने घोषणा गरे । भारत रुसको ठूलो तेल खरिदकर्ता हो।
ट्रम्पले यसअघि बारम्बार रुसले यूक्रेनी सहरहरूमा गरेको बम आक्रमणप्रति असन्तोष प्रकट गरेका थिए । गत फेब्रुअरीमा ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको एक असफल बैठकपछि जेलेन्स्कीलाई त्यहाँबाट बाहिरिन भनिएको थियो ।
सो बैठकमा ट्रम्पले जेलेन्स्कीलाई अमेरिकी सहायता प्रतिको कदर नगरेको र ‘तेस्रो विश्वयुद्धको खेल’ खेलिरहेको आरोप लगाएका थिए।
तर पछिल्ला महिनाहरूमा दुवै नेताबीचको सम्बन्धमा सुधार आएको देखिन्छ । जुलाईमा ट्रम्पले अमेरिका आफ्ना ‘सर्वोत्तम’ हतियारहरू नाटो सदस्य राष्ट्रहरूलाई बिक्री गर्नेछ र ती देशहरूले ती हतियारहरू यूक्रेनलाई पठाउने घोषणा गरेका थिए ।
यस योजनाअनुसार डेनमार्क, नर्वे, नेदरल्यान्ड्स र स्वीडेनले पहिलो चरणमा हतियार खरिद गर्ने भएका छन् ।
उनीहरूको संयुक्त योगदान १ बिलियन डलरभन्दा बढी हुने र यो रकम हवाई सुरक्षा उपकरण र गोलाबारुदमा खर्च गरिनेछ ।








