विदेशी विद्यार्थीका लागि अष्ट्रेलियामा अवसर, २५ हजार कोटा बढाएर २ लाख ९५ हजार पुर्याइयो
प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार
अष्ट्रेलियाले २०२६ सम्मका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या ९ प्रतिशतले बढाउँदै २ लाख ९५ हजार पुर्याउने घोषणा गरेको छ। खासगरी दक्षिणपूर्वी एसियाली मुलुकहरूबाट आवेदन दिने विद्यार्थीहरूले अब अष्ट्रेलियामा अध्ययन गर्न झनै सहज अवसर पाउने भएका छन्।
गत वर्ष, आप्रवासनको बाढी र त्यसले आवासको मूल्य आकाशिन थालेपछि सरकारले २०२५ का लागि विद्यार्थीको संख्यामा २ हजार ७० हजारको सीमा लगाएको थियो। तर, अहिले सरकारले थप २५ हजार कोटा बढाएर २०२६ सम्मलाई २ लाख ९५ हजार पुर्याउने निर्णय गरेको हो।
शिक्षा मन्त्री जेसन क्लेयर भन्छन्, “अन्तर्राष्ट्रिय शिक्षा विस्तार गर्दा विद्यार्थी, विश्वविद्यालय र राष्ट्रिय हितको सन्तुलन कायम गर्नुपर्छ। यो निर्णय त्यसैको एक उदाहरण हो।”
अष्ट्रेलियामा २०२३ मा मात्रै ६ लाख विद्यार्थी भिसा जारी भएका थिए। चीन र भारतबाट सबैभन्दा बढी विद्यार्थी अष्ट्रेलिया पुग्ने भए तापनि, अब सरकार दक्षिणपूर्वी एसियाली विद्यार्थीहरूलाई प्राथमिकतामा राख्न चाहन्छ।
सरकारले विद्यार्थी भिसा शुल्क दोब्बरभन्दा बढी बढाएको छ, साथै भिसा नियममा रहेका छिद्रहरू बन्द गर्दै गैरआवश्यक बसाइ लम्ब्याउने अभ्यासलाई रोक्ने प्रयत्न गरिरहेको छ।
सहायक मन्त्री जुलियन हिल भन्छन्, “संख्या अति बढिरहेको थियो। अब हामीले त्यसलाई सन्तुलित बनाउँदैछौं। भविष्यमा हाम्रो छिमेकीहरूबाट प्रतिभावान विद्यार्थीहरू ल्याउनु अष्ट्रेलियाको सफ्ट पावरको हिस्सा हुनेछ।”
नयाँ नीति अनुसार करिब २/३ स्थान विश्वविद्यालयहरूलाई र बाँकी १/३ प्रविधिक तथा व्यावसायिक तालिम क्षेत्रलाई दिइनेछ। साथै, विश्वविद्यालयहरूले सुरक्षित आवास उपलब्ध गराउने र विविध विद्यार्थी समुदाय भित्र्याउने प्रतिबद्धता जनाउनुपर्नेछ।
अष्ट्रेलियन विश्वविद्यालयहरूको महासंघले यस निर्णयलाई “दूरदर्शी र स्वागतयोग्य” भन्दै समर्थन जनाएको छ। सन् २०२४ मा मात्रै अन्तर्राष्ट्रिय शिक्षाले अष्ट्रेलियालाई ५१ अर्ब अष्ट्रेलियन डलरको आम्दानी दिलाएको थियो, जुन सेवा निर्यातका हिसाबले देशकै सबैभन्दा ठूलो क्षेत्र हो।








