गाजामा अब बमले होइन्, भोकले लिँदैछ ज्यान : पछिल्लो २४ घण्टामा भोकमरीले ६ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण १८, २०८२ आईतबार

गाजामा पछिल्लो २४ घण्टामा भोकमरी (कुपोषण)का कारण थप ६ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै युद्ध सुरु भएयता खाद्यान्नको अभावका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ, जसमा ९३ बालबालिका छन्।

करिब दुई वर्षदेखि जारी इजरायल-हमास युद्धका कारण गाजा गम्भीर मानवीय संकटमा परेको छ। राहत सामग्रीको पहुँच निकै सीमित हुँदा भोकमरीको अवस्था दिन प्रतिदिन भयावह बन्दै गएको छ। संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा दुर्भिक्ष फैलिन सक्ने चेतावनी दिइरहेका छन्।

यसैबीच, इजरायलले गाजामा इन्धन आपूर्ति पुनः सुरु गरेको छ। इजिप्टको सरकारी सञ्चारमाध्यम अल काहेरा न्यूजका अनुसार १०७ टन डिजेल बोकेका दुई ट्रकहरू गाजामा प्रवेश गर्ने तयारीमा छन्। यद्यपि ती ट्रकहरू गाजामा पुगेरनपुगेको पुष्टि भइसकेको छैन।

इजरायली सैन्य समन्वय निकाय (कोग्याट)का अनुसार संयुक्त राष्ट्रसंघको चारवटा ट्यांकर इन्धन गाजामा भित्रिसकेको छ, जसले अस्पताल, बेकरी, सामुदायिक भान्साघरजस्ता अत्यावश्यक सेवाहरू सञ्चालनमा मद्दत गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाजाको स्वास्थ्य मन्त्रालयले इन्धन अभावले अस्पतालहरूमा सेवा सञ्चालनमा गम्भीर समस्या आएको जनाएको छ। धेरै अस्पतालहरूमा अहिले केवल गम्भीर घाइते वा बिरामीलाई मात्र उपचार दिइँदैछ।

इजरायलले मार्चदेखि हमासमाथि दबाब सिर्जना गर्न गाजामा राहत सामग्रीको आपूर्ति कडा बनाएको थियो। तर, अन्तर्राष्ट्रिय दबाबका कारण हालै इजरायलले केही राहत सामग्री भित्र्याउने निर्णय गरेको छ। यसअन्तर्गत केही क्षेत्रमा दैनिक केही समय लडाइँ रोक्ने, राहत ट्रकका लागि सुरक्षित मार्ग तोक्ने र हवाई राहत सामाग्री खसाल्ने अनुमति दिएको छ।

तर, संयुक्त राष्ट्रसंघले हवाई राहत अपूरो भएको भन्दै स्थलमार्गबाट ठूलो परिमाणमा राहत सामग्री प्रवेश गराउन इजरायललाई आग्रह गरिरहेको छ।

कोग्याटका अनुसार पछिल्लो सातामा १,२०० ट्रकमार्फत २३,००० टन मानवीय राहत सामग्री गाजामा प्रवेश गरेको छ। तर, सयौं ट्रकहरू अझै वितरण केन्द्रसम्म पुग्न सकेका छैनन्।

यसैबीच, बेल्जियमको वायु सेनाले आइतवार जोर्डनसँगको सहकार्यमा गाजामा पहिलोपटक राहत सामग्री खसालेको छ। फ्रान्सले पनि शुक्रबार ४० टन राहत सामाग्री हवाई मार्गबाट गाजामा पठाएको जनाएको छ।

गाजामा खाद्य, औषधि र इन्धनको चरम अभाव भइरहेका बेला यी राहत प्रयासहरू अत्यावश्यक ठानिएको छ। तर, मानवीय संकट समाधानका लागि दीर्घकालीन समाधानको खाँचो देखिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com