नेपालीको टीपीएस समाप्त हुन १ साताभन्दा कम, प्रारम्भिक आदेश सुनुवाइ नोभेम्बर १८ मा


प्रकाशित मिति : श्रावण १४, २०८२ बुधबार

टीपीएस खारेजीविरुद्ध तर्क गर्दै वकिल ।

अमेरिकामा नेपालीको टीपीएस समाप्त हुन एक साताभन्दा कम समय बाँकी रहँदा हजारौं नेपाली परिवारहरू न्यायाधीशको निर्णयको पर्खाइमा छन्। मंगलबार नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको संघीय अदालतका न्यायाधीश त्रिना एल थम्पसनसमक्ष भएको सुनुवाइपछि नेपाली लगायतका टीपीएसवाहकहरू निर्णयको पर्खाइमा रहेका हुन्। अब उनीहरूसँग अमेरिका छाड्ने वा अमेरिकामा नै बस्ने भन्ने निर्णय गर्न एक साताभन्दा कम अवधि बाँकी रहेको छ।

“टीपीएसमा रहेकै बेला मेरो रोजगारमा आधारित ग्रिनकार्डको प्रक्रिया चलिरहेको छ। आई १३० स्वीकृत भइसकेपछि पनि मेरो ग्रिनकार्ड फाइल गर्नका लागि भिसा करेन्ट भएको छैन। यदि मैले टीपीएस समाप्त भइसकेपछि पनि अमेरिका नछाडेमा स्वीकृत भइसकेको आई १३० आवेदन त्याग्नुपर्नेछ या त तत्काल अमेरिका छाडेर नेपाल फर्केर नेपालमा नै आप्रवासी भिसाका लागि प्रक्रिया कुर्नुपर्नेछ। तत्काल नेपाल जानका लागि मसँग अमेरिकामा नै जन्मेका साना बच्चाहरू छन्। स्टाटस परिवर्तन गर्नका लागि पनि निकै कम समय छ। यो अन्योलका बीच के गर्ने निर्णय गर्न सकेको छैन,” विगत ११ वर्षदेखि अमेरिकामा बस्दै आएका एकजना नेपाली टीपीएसवाहकले भने।

उनीजस्ता हजारौं टीपीएसवाहकले टीपीएसबारे निर्णयका लागि जुलाई ३१ को मिति व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्। किनभने मंगलबारको सुनुवाइपछि न्यायाधीशले मुद्दालाई ४८ घण्टासम्मका लागि सक्रिय राख्दै क्यालिफोर्नियाको समयअनुसार जुलाई ३१ को बेलुका ५ बजेसम्म निर्णय दिने बताएकी छिन्। त्यतिबेलासम्म सरकारका सबै पहिलेका आदेशहरू प्रभावकारी हुने बताएकी छिन्।

अदालतले अगस्ट १४, २०२५ लाई प्रारम्भिक मुद्दा व्यवस्थापन सम्मेलनको लागि सुरक्षित राखेको छ भने अक्टोबर ९, २०२५ लाई थप मुद्दा व्यवस्थापन सम्मेलनको रूपमा राखेको छ। अदालतले नोभेम्बर १८, २०२५ को दिउँसो २ बजे प्रारम्भिक निषेधाज्ञा सुनुवाइको लागि सुरक्षित राखेको छ। तर नेपालीको टीपीएस अगस्ट ५ मा नै समाप्त हुन लागेकाले मंगलबारको सुनुवाइमा वादी पक्षका वकिलहरूले त्योभन्दा अगाडि नै कदम चाल्न न्यायाधीशलाई आग्रह गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबारको सुनुवाइमा न्यायाधीश थम्पसनले मुद्दाको महत्त्वलाई जोड दिँदै वकिलहरूलाई विस्तृत तयारी सुनिश्चित गर्न अग्रिम प्रश्नहरू उपलब्ध गराएको बताएकी थिइन्। उनले आफूले समीक्षा गरेको जानकारीको विशालतालाई स्वीकार गर्दै आफूलाई पचाउनको लागि धेरै जानकारी भएको र आफूले रातभरि समेत नसुतेर त्यसलाई अध्ययन गरेको बताएकी थिइन्। उनले पक्षहरूलाई देशअनुसार सामग्रीहरू व्यवस्थित गरेकोमा धन्यवाद दिएकी थिइन्।

उनले होन्डुरस, नेपाल र निकारागुआका टीपीएसवाहकहरू कानुन पालन गर्ने व्यक्तिहरू रहेको र कसैले पनि अपराध नगरेको उल्लेख गर्दै उनीहरू आफ्नो गृह देशमा विपत्ति वा उथलपुथलका कारण अमेरिका आएका बताइन्। उनले भनिन्, “कसैले पनि अपराध गरेका छैनन्। यी यस्ता व्यक्तिहरू हुन् जो विपत्तिको चपेटामा अमेरिकाको खुल्ला हातमा आएका थिए।”

सुनुवाईका क्रममा न्यायाधिस

टीपीएसवाहकलाई नागरिकताको स्पष्ट बाटो नभए पनि काम, कर र सामुदायिक सहभागितामार्फत उनीहरूले दिएको योगदानलाई न्यायाधीशले जोड दिएकी थिइन्। उनले कानुनी व्याख्याको महत्त्वलाई जोड दिँदै भनिन्, “मलाई थाहा छ कि यो कानुनी व्याख्याको एउटा पाटो हो। मेरो यस कार्यको भागलाई हल्का रूपमा नलिनुहोस्।”

उनले सम्भावित बहाना, जातीय द्वेष, र मनमानी निर्णयका बारेमा पनि चिन्ता व्यक्त गर्दै भनिन्, “अदालतले अन्य मुद्दाहरू र परिणामहरू र निर्णयहरू बहानापूर्ण थिए वा जातीय द्वेषका कारण थिए, वा यो मनमानी र कपटपूर्ण थियो कि थिएन भनेर पनि हेर्नुपर्छ।”

थम्पसनले कुनै पनि सम्भावित राहतको दायरामा स्पष्टीकरण खोज्दै, “यो केवल नाम उल्लेख गरिएका वादीहरूमा लागू हुने हो वा प्रभावित देशहरूका सबै टीपीएसवाहकहरूमा लागु हुने हो?” भन्नेबारे प्रश्न गरेकी थिइन्। न्यायाधीशले टीपीएस समाप्तिको गम्भीर परिणामहरूलाई जोड दिँदै सोधिन्, “मानिसहरू कहाँ जानेछन्? उनीहरूलाई कति समयसम्म हिरासतमा राखिनेछ? के उनीहरू कुनै तेस्रो-पक्ष देशमा जाँदैछन्?”

न्यायाधीश थोम्पसनलाई राष्ट्रपति जो बाइडेनले मनोनयन गरेका थिए । सुनुवाईमा वादीपक्षका र सरकारपक्षका वकिलहरुले विभिन्न तर्कहरु पेश गरेका थिए ।

नेशनल टीपीएस एलायन्स र सात व्यक्तिगत वादीहरूले जुलाई ७, २०२५ मा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेका थिए। यो मुद्दाले होन्डुरस, नेपाल र निकारागुआका नागरिकहरूको लागि टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिन्छ। मुद्दाले प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घन, जातीय द्वेषका कारण संवैधानिक उल्लङ्घन, र पर्याप्त संक्रमण अवधिको प्रावधानमा असफलताको आरोप लगाएको छ।

नेपाली वादीहरूमा सान फ्रान्सिस्कोमा बस्ने ३३ वर्षीय नेपाली एसके रहेका छन्। ती टीपीएस वाहक अमेरिकी नागरिकसँग विवाह बन्धनमा बाँधिएका छन् र थिएटरमा काम गर्छन्। त्यस्तै अर्का नेपाली वादी सन्ध्या लामा हुन्। भर्जिनियामा बस्ने ४३ वर्षीय यी नेपाली आफ्ना तीन अमेरिकी नागरिक बच्चाहरूको लागि एक मात्र अभिभावक हुन्, जसमध्ये एक बच्चालाई विशेष चिकित्सा उपचार आवश्यक छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com