ट्रम्पको महसुल नीतिले युरोपका लक्जरी कार ब्रान्डलाई झट्का, ८८९ मिलियन डलरको घाटा
प्रकाशित मिति : श्रावण १४, २०८२ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धको प्रभाव युरोपका लक्जरी कार निर्माताहरूमा देखिन थालेको छ। जर्मन कम्पनी पोर्सा, मर्सिडीज-बेन्ज ग्रुप र बेलायती कम्पनी एस्टन मार्टिनले अमेरिकी आयात महसुलका कारण संयुक्त रूपमा ८८९ मिलियन डलर बराबरको घाटाको सामना गरिरहेका छन्।
पोर्साले वर्षको पहिलो ६ महिनामा मात्रै ४०० मिलियन युरोको महसुलीय घाटा व्यहोरेको जनाएको छ। मर्सिडीज-बेन्ज ग्रुपले पनि दोस्रो त्रैमासिकमा झन्डै ३७० मिलियन युरोको घाटाको चेतावनी दिएको छ।
एस्टन मार्टिनले भने अमेरिकी महसुलसँगै चीनको कमजोर मागले कम्पनीको नाफामा गिरावट ल्याएको बताएको छ। कम्पनीले जारी एक विज्ञप्तिमा भनिएको छ, “अमेरिकाको बदलिंदो र अवरोधपूर्ण महसुल नीति हाम्रो अपरेशनका लागि चुनौतीपूर्ण बनिरहेको छ।”
ट्रम्प प्रशासनले युरोपेली युनियनबाट आयात हुने सवारी साधनहरूमा महसुल दर बढाएर २७ दशमलव ५ प्रतिशत पुर्याएको थियो। हालैको एक सम्झौताअनुसार आगामी अगस्ट १ देखि युरोपेली वस्तुहरूमा १५ प्रतिशतको समग्र महसुल लगाइने भएको छ, जुन अघोषित ३० प्रतिशत महसुलको धम्कीको तुलनामा कम हो।
पोर्साका कार्यकारी प्रमुख ओलिभर ब्लुमेले भने, “हामी संसारभरि गम्भीर चुनौतीहरूको सामना गरिरहेका छौं। यो तात्कालिक आँधी होइन, यो दीर्घकालीन संकट हो।”
सेयर बजारमा यस खबरको असर पनि देखिएको छ। बुधबार बिहान पोर्साको सेयर मूल्य २ दशमलव ४ प्रतिशतले बढेको छ भने मर्सिडीज-बेन्जको सेयर १ दशमलव ५ प्रतिशतले घटेको छ। एस्टन मार्टिनको सेयर मूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ।
युरोपेली अटोमोबाइल क्षेत्रका विश्लेषकहरूले ट्रम्प प्रशासनको संरक्षणवादी नीति र विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको बाधालाई दीर्घकालीन चुनौतीका रूपमा लिएका छन्।








