शिक्षा कोषको रकम राज्यहरूलाई फिर्ता दिने ह्वाइट हाउसको घोषणा
प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार
अमेरिकी राज्यहरूलाई रोकिएको ५.५ बिलियन अमेरिकी डलर बराबरको शिक्षा कोष फिर्ता दिने ह्वाइट हाउसले घोषणा गरेको छ ।
यो घोषणा शुक्रबार गरिएको हो । डोनाल्ड ट्रम्पको प्रशासनले २०२५–२६ शैक्षिक सत्रको लागि निर्धारित १ जुलाईमा वितरण हुने भनिएको रकम अघिल्लो दिन नै एक्कासि रोकेको थियो ।
रोकिएको कोषमा शिक्षक तालिम, कला र सङ्गीत शिक्षा, र आप्रवासी परिवारका बालबालिकाहरूको लागि अंग्रेजी दोस्रो भाषा सहयोगसम्बन्धी कार्यक्रमहरूको खर्च समावेश छन्।
ह्वाइट हाउसकी डिपुटी असिस्टेन्ट सेक्रेटरी फर कम्युनिकेसन्स माडी बाइडरम्यानले संघीय बजेट कार्यालयले समीक्षा पूरा गरिसकेको छ र अब राज्यहरूलाई कोष पठाउन सुरु गर्न लागेको पुष्टि गरेकी छन ।
उनले सबै कोषहरूको समीक्षा पूरा भएको र सम्बद्ध विभागलाई ती सबै रकम जारी गर्न निर्देशन दिएको छ भनेर भनेकी छन । केही संघीय रकमहरू “कट्टरपन्थी वामपन्थी एजेन्डा” लाई समर्थन गर्न दुरुपयोग भएको दाबी यसअघि ओएमबी ले गरेको थियो ।
यस निर्णयले शिक्षकहरू र केही रिपब्लिकन सांसदहरूबाट व्यापक आलोचना र विरोध झेलेको थियो ।
शिक्षकहरुको संजालले यस निर्णयलाई “कांग्रेसको अधिकारमाथिको गैरकानुनी हस्तक्षेप” भन्दै आलोचना गरेको थियो । संजालले कोष रोक्दा सिधै बालबालिकाहरूलाई असर गर्ने बताएको थियो ।
जुलाई महिनामै पूर्व सिनेट बहुमत नेतासहित १० जना रिपब्लिकन सिनेटरहरूले ह्वाइट हाउसलाई पत्र लेख्दै रकम तत्काल फुकुवा गर्न माग गरेका थिए ।
यो रकम रोक्दा राज्य र समुदायहरूले आफ्ना स्थानीय आवश्यकता अनुसार छात्र तथा अभिभावकहरूलाई समर्थन गर्ने कार्यक्रमहरू सञ्चालन गर्न पाउँदैनन् भनेर पत्रमा उल्लेख गरिएको थियो ।
करदाताको रकम चरम वामपन्थी कार्यक्रमहरूमा खर्च नहोस् भन्नेमा चासो राख्छौं । तर, यो कोष त लामो समयदेखि दलीय सहमतिमा चल्दै आएका कार्यक्रमहरू स्कुलपछिका कक्षाहरू र गर्मीयामको शिक्षण कार्यक्रममा जाने गरेको पत्रमा उल्लेख गरिएको छ ।






