भारतमा रोकिएको बेलायती अत्याधुनिक लडाकु विमान मर्मतपछि स्वदेश फिर्ता


प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार

पाँच हप्तासम्म भारतमै रोकिएको बेलायती लडाकु विमानलाई अन्ततः बेलायतमै लगिएको छ । भारतको केरलास्थित त्रिवेन्द्रम विमानस्थलमा पाँच हप्ताभन्दा बढी समयसम्म रोकिएको बेलायतको अत्याधुनिक लडाकु विमान एफ ३५ बी अन्ततः मर्मतपछि प्रस्थान गरेको हो ।

यो विमान १४ जुनमा भारतीय महासागरमा अभ्यासका क्रममा खराब मौसमका कारण केरलाको त्रिवेन्द्रम विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । त्यसपछि प्राविधिक समस्या देखिएपछि विमान उड्न सकेको थिएन ।

यो अत्याधुनिक र महँगो ११० मिलियन अमेरिकी डलर स्टेल्थ लडाकु विमान लामो समयसम्म विदेशी भूमिमा अल्झिनुले चासोको विषय बनेको थियो । यस्तो अत्याधुनिक प्रविधियुक्त विमान कसरी यति लामो समयसम्म अल्झियो भनेर धेरैले प्रश्न उठाएका थिए ।

“६ जुलाईदेखि तैनाथ बेलायती प्राविधिक टोलीले आवश्यक मर्मत तथा सुरक्षासम्बन्धी परीक्षण पूरा गरेपछि विमान पुनः सक्रिय सेवामा फर्किएको हो,” विज्ञप्तिमा उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमान एचएमएस प्रिन्स अफ वेल्स नामक बेलायती युद्धपोतको टोलीको हिस्सा थियो । युद्धपोतले केही दिनयता अष्ट्रेलियाको तट नजिक गरिएको संयुक्त सैन्य अभ्यासका तस्बिरहरू एक्समा पोस्ट गर्दै आएको छ।

विमान मर्मत सम्भव नभएपछि बेलायती रक्षा मन्त्रालयले दुई हप्ता अघि १४ जना इञ्जिनियर सहितको विज्ञ टोली त्रिवेन्द्रम विमानस्थल पठाएको थियो।

यदि विमान मर्मत गर्न नसकिने भए त्यसलाई भाग–भागमा बाँडेर ठूलो सी १७ ग्लोवमास्टर जस्तो मालवाहक विमानमा लैजानुपर्ने अनुमान गरिएको थियो।

यो विमान लकहिट मार्टिन द्वारा निर्मित स्टेल्थ लडाकु विमान हो । जुन छोटो दुरीमा उडान र ठाडो अवतरण गर्न सक्ने क्षमताका लागि परिचित रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com