एकाएक आएको आँधीले हलोङ बेमा डुङ्गा पल्टियो : ३५ जनाको शव फेला, ४ अझै बेपत्ता
प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार
भियतनामको प्रसिद्ध पर्यटकीय स्थल हलोङ बेमा अचानक आएको मेघगर्जनयुक्त आँधीका कारण पर्यटक बोकेको एउटा डुङ्गा समुद्रमा पल्टिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । यस्तै, ४ जना अझै बेपत्ता रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।
सरकारी विवरण अनुसार शनिबार दिउँसो २ बजे हलोङ बेको समुद्री क्षेत्रमा डुङ्गा दुर्घटना भएको थियो। उक्त डुङ्गामा ४९ जना यात्रु सवार थिए, जसमा सबै भियतनामी नागरिक थिए र तिनीहरूमध्ये केही बालबालिका समेत थिए। प्रारम्भिक अनुमानमा ५३ जना यात्रु सवार भएको भनिए पनि पछि संशोधित विवरण अनुसार संख्या घटाएर ४९ जनामा सीमित गरिएको हो।
समुद्र शान्त देखिए पनि उद्धार कार्य भने अत्यन्त चुनौतीपूर्ण रहेको छ। दृश्यता अत्यधिक कम भएका कारण प्रहरी, सीमा सुरक्षा, गोताखोर र नौसेना सहित सयौं उद्धारकर्मीहरू रातभर हराइरहेका व्यक्तिको खोजीमा व्यस्त थिए। उद्धार कार्य कठिन हुनुको मुख्य कारण भनेकै टाइफून विप्हा नामक आँधी उत्तर भियतनामतर्फ उन्मुख रहनु हो, जुन अहिले हङकङ नजिकै आइपुगेको छ।
सरकारले आइतबार बिहानसम्ममा डुङ्गा समुद्रबाट निकालिएको र ३५ शव फेला पारिएको जनाएको छ। अधिकारीहरूले भने अझै मृत्यु संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।
३९ वर्षीय ट्रान ट्रुङ टुले आफ्ना ३२ वर्षीय दाइ दुर्घटनामा हराएको बताएका छन्। उनले भने, “मेरो दाइ पौडन जान्थे, तर मलाई भनियो कि सबै कुरा एकाएक भयो। उनलाई बचाउने मौका नै थिएन।”
त्यस्तै, स्थानीय निवासी दो भान हाइले भने, “मलाई भनिएको थियो कि डुङ्गामा लाइफ ज्याकेट उपलब्ध थियो, तर आँधी यति अचानक आयो कि प्रयोग गर्नै पाइएन। आशा छ हराइरहेका व्यक्तिहरू चाँडै भेटिन्छन्।”
बीमा प्रतिनिधि दो थी थुइले भनिन्, “मैले हलोङ बेमा यति धेरै मानवीय क्षति भएको दुर्घटना पहिलो पटक देखेकी हुँ।”
आँधीको असर राजधानी हनोईसम्म देखिएको थियो। आँधीसंगै आएको हावाहुरीले राजधानीको विभिन्न भागमा रुख ढालिएका छन्। नोई बाइ अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले नौ वटा उडानहरू मोडिएको र तीनवटा प्रस्थान केही समयका लागि रोकिएको जानकारी दिएका छन्।
यो दुर्घटना पछिल्ला वर्षहरूमा हलोङ बेमा भएको सबैभन्दा भीषणमध्ये एक हो। यसअघि सन् २०११ मा पनि हलोङ बेमा पर्यटक डुङ्गा डुबेको थियो, जसमा १२ जनाको मृत्यु भएको थियो। तीमध्ये केही विदेशी पर्यटकहरू पनि थिए।
सरकारले दुर्घटनाको कारण ‘अचानक आएको आँधी’ रहेको बताएको छ। घटना हुँदा तीव्र हावा, भारी वर्षा र चट्याङ परेको पुष्टि गरिएको छ। मौसम विभागले यस क्षेत्रलाई उच्च सतर्कता क्षेत्र घोषणा गरिसकेको छ।
सरकारी निकायहरूले हालसम्म जारी उद्धार कार्यलाई प्राथमिकता दिइरहेका छन् र हराइरहेका व्यक्तिहरूको यथाशीघ्र खोजी भइरहेको बताएका छन्।






