२०२१ अगाडि आएका कागजातविहिनलाई ७ वर्षे कानुनी स्टाटस र वर्क परमिट दिने दुईदलीय बिल


प्रकाशित मिति : ३२ असार २०८२, बुधबार

अमेरिकी संसदको प्रतिनिधिसभामा दुईदलीय सांसदहरूले २०२१ अगाडि आएका कागजातविहिनलाई ७ वर्षे कानुनी स्टाटस र वर्क परमिट दिने व्यवस्था सहितको विधेयक प्रस्तुत गरेका छन् । फ्लोरिडाकी रिपब्लिकन सांसद मारिया एल्भिरा सालाजार र टेक्सासकी डेमोक्र्याट सांसद भेरोनिका एस्कोबारले केही कागजातविहिन आप्रवासीहरूलाई कानुनी स्टाटस प्रदान गर्ने विधेयक प्रस्तुत गर्न एकजुट भएका हुन् ।

सन् २०२५ को डिग्निटी एक्ट नामक यो विधेयकमा सन् २०२१ अगाडि अमेरिका आएका कागजातविहिन आप्रवासीहरूलाई सात वर्षसम्मको कानुनी स्टाटस र कामको अनुमति प्राप्त गर्न आवेदन दिने अवसर प्रदान गर्ने व्यवस्था रहेको छ । तर आवेदकहरुले क्षतिपूर्ति तिर्नुपर्ने र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग नियमित चेकइन भने गर्नुपर्ने हुन्छ । तर यो स्टाटसले कुनै पनि संघीय सुविधा वा नागरिकताको बाटो समावेश भने गर्दैन।

यो प्रावधान विशेषगरी ट्रम्प प्रशासनको आप्रवासन कडाइलाई सम्बोधन गर्न लक्षित छ, जसले कृषि र खाद्य सेवा प्रदायकहरूलाई ठूलो असर पारेको छ। यो विधेयकले सीमा सुरक्षालाई बलियो बनाउने र देशभरका रोजगारदाताहरूलाई कामदारहरूको कानुनी स्टाटस जाँच्ने सरकारी प्रणाली ई भेरिफाइ प्रयोग गर्न अनिवार्य गर्ने लक्ष्य समेत राखेको छ ।

सांसदहरूले दशकौंदेखि व्यापक आप्रवासन समाधानका लागि काम गरिरहेका छन्। सालाजारले यो प्रस्तावमा एम्नेष्टी वा अमेरिकी नागरिकताको बाटो नसमेटिएकोले दुईदलीय सम्झौताको ढोका खुल्नेमा आशावादी रहेको बताएकी छन्। ४० वर्षदेखि प्रत्येक राष्ट्रपति र संसदले लाखौं अवैध रूपमा बसेकाहरूलाई बेवास्ता गरेका तथा जसमध्ये धेरैले अमेरिकाको अर्थतन्त्र चलाउने प्रमुख उद्योगहरूमा काम गर्ने उनले बताएकी छिन् ।

यद्यपी ट्रम्प प्रशासनले आप्रवासी कामदारहरूलाई संरक्षणको तह प्रदान गर्ने प्रक्रिया सुरु गरिसकेको छ। डिपार्टमेन्ट अफ लेबरले आप्रवासी कामदारहरूलाई वर्क भिसा र अस्थायी स्टाटसका लागि आवेदन दिन सजिलो बनाउने लक्ष्यसहित आफ्नो आप्रवासन नीति विभागलाई पुनर्गठन गरेको छ। जुनको अन्त्यमा ट्रम्पले कृषि लगायतका क्षेत्रमा काम गर्ने केही आप्रवासी कामदारहरूलाई देशमा रहन दिने उपायमा काम गरिरहेको बताएका थिए ।

ट्रम्पको प्रतिबद्धताको बावजुद आइसले भने त्यस्त कार्यस्थलहरूलाई पनि निशाना बनाइरहेको छ। हालै दक्षिणी क्यालिफोर्नियाका दुई कृषि कार्यस्थलमा भएको छापामा २०० भन्दा बढी गिरफ्तारी र प्रदर्शनकारीहरूसँग हिंसात्मक झडप भएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com